कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

केसीकाे समर्थनमा सत्याग्रह, ‘माग हाम्रै, उनका लागि मर्न केको डर ?’

विमल खतिवडा

काठमाडौँ — डा. गोविन्द केसीको समर्थनमा आइतबार वसन्तपुर डबलीमा ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा सत्याग्रह सुरु भएको छ । त्यसमा सहभागिता जनाउन काठमाडौंका विभिन्न ठाउँ तथा जिल्लाबाट नागरिक स्वस्फूर्त रूपमा उपस्थित भएका छन् । त्यही भीडमा थिए, कैलाली धनचौडीका ८५ वर्षीय कृष्णदत्त जोशी र उनकी श्रीमती ७५ वर्षीया सुनमतिदेवी ।

केसीकाे समर्थनमा सत्याग्रह, ‘माग हाम्रै, उनका लागि मर्न केको डर ?’

कृष्णदत्त डा. केसीको मागमा ऐक्यबद्धता जनाउनकै लागि २२ घण्टा बसयात्रा गरेर आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । काठमाडौं आर्लिएपछि उनी सिधै वसन्तपुर डबली पुगे । ‘डा. केसीको पक्षमा सत्याग्रह छ भन्ने सुनें,’ काँधको झोला बिसाउँदै उनले भने, ‘श्रीमती यतै थिइन्, उनैले बोलाइन् । गरिबका लागि डाक्टर भोकै बसेका छन्, उनका माग राम्रा छन्, बूढा आऊ भनिन् । त्यही भएर यहाँ आया हुम् ।’ डा. केसीका माग गरिब जनताको भएको उनले बताए । ‘हामीले साथ नदिए कसले दिने ?’ उनले प्रश्न गरे ।

सुनमतिदेवी असारदेखि काठमाडौंमै छिन् । दाजुभाइको अंश मुद्दाले गर्दा सर्वोच्च अदालत आएकी । ‘मुद्दा थाती राखेर डा. केसीलाई बचाउनुपर्छ भन्दै हिँड्या छु,’ उनले भनिन् । शनिबार केसीको पक्षमा माइतीघर–बानेश्वरमा गरिएको प्रदर्शनमा पनि उनी उपस्थित थिइन् । ‘पुलिसले हानेको अश्रुग्यास आँखा र नाकमा पर्‍यो, आँखा अझै रातो छ,’ उनले भनिन्, ‘तैपनि हामीले हिम्मत हार्‍या छैनौं । केसी हाम्रा लागि मर्न तयार छन् भने उनले उठाएको जायज मागको समर्थन गर्दा हामीलाई मर्न केको डर ?’ केसीको समर्थनमा जहाँ कार्यक्रम हुन्छ, त्यहीं पुग्ने गरेको उनले बताइन् । सुनमति र कृष्णदत्त बिहान १० देखि साँझ ५ बजेसम्म सत्याग्रहमा बसे । वसन्तपुरमा आइतबार १ सय ८ जना केही नखाई अनशन बसे ।

सत्याग्रहमा २ सयभन्दा बढीले सहभागिता जनाए । ‘जनताको शिक्षा र स्वास्थ्यका लागि केसी अनशन बसेका छन्,’ धनुषाबाट केसीको पक्षमा समर्थन जनाउन आएका महेन्द्र यादवले भने, ‘सबैले गुणस्तरीय शिक्षा पाउनुपर्‍यो, सबैको स्वास्थ्य सेवा ग्यारेन्टी हुनुपर्‍यो ।’ उनी काठमाडौं आएको दुई साता भयो । ‘बस्ने ठेगान छैन, मठमन्दिर जहाँ खाली हुन्छ, त्यहीं रात बिताइरहेको छु,’ नेपाली झन्डा बोकेर सत्याग्रहमा सहभागी उनले भने, ‘केसीले उठाएका माग प्रधानमन्त्री केपी ओलीका लागि पनि काम लाग्ने हुन् तर किन अटेर गरेर बसेका छन्, थाहा छैन ।’ उनले केसीको माग पूरा नभएसम्म जिल्ला नफर्किने बताए ।

सत्याग्रहमा सबै केसीको पक्षमा लेखिएका प्लेकार्ड छातीमा टाँसेर बसेका थिए । सहभागीले प्रधानमन्त्री, मन्त्रीलाई फोन र एसएमएसमार्फत केसीका मागबारे ध्यानाकर्षण गराएका थिए । विवेकशील साझाका संयोजक उज्ज्वल थापाले उपचार खर्च धान्न नसक्दा जग्गा बिक्री गरी उपचार गराउनुपर्ने बाध्यता भएका नागरिकको पक्षमा आन्दोलन भएको बताए । उनले केसीका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । सत्याग्रहमा पूर्वस्वास्थ्यमन्त्री गगन थापा, मानव अधिकारवादी कृष्ण पहाडी, शिक्षाविद् केदारभक्त माथेमालगायतको पनि उपस्थिति थियो ।

‘सत्याग्रहमा सोलिडारिटी देखाउन आएको हुँ, धेरैको उपस्थिति देखेर खुसी लाग्यो,’ डा. मदन उपाध्यायले भने, ‘४/५ वर्षदेखि आन्दोलन डा. केसीको मात्र हो भन्ने थियो, अब यो जनताको आन्दोलन भयो ।’ शिक्षाविद् माथेमाले केसी एक्लो नभएको बताए । ‘केसीलाई एक्लो भन्नु भएन, उनका पछाडि धेरै मान्छे छन्,’ उनले भने, ‘उनको पक्षमा सहभागिता बढ्दै गएको छ । कसैले उहाँलाई यो पार्टीको भन्ला, कसैले उचालेको भन्ला तर उहाँले उठाएको मागबारे नागरिकले बुझ्न थाले, खुसी लागेको छ ।’ माग पूरा नभएसम्म सत्याग्रह जारी रहने केसीनिकट डा. अभिषेकराज सिंहले बताए । वार्ताका लागि सरकारबाट कुनै पहल नभएको उनले बताए ।

प्रकाशित : श्रावण ७, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?