कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकामा परिचयपत्र झन्झटिलो

काठमाडौँ — भारतसँगका प्रमुख नाका हुँदै आवतजावत गर्न परिचयपत्र व्यवस्था गर्ने निर्णयको औचित्यमा सरोकारवालाले प्रश्न उठाएका छन् । बेलाबेला हुने गतिविधिको निगरानीबाहेक अन्य अवस्थामा सर्वसाधारणले सहज वारपार गर्न पाउँदै आएका छन् । परिचयपत्रको झन्झटिलो प्रावधानले यसमा जटिलता थप्ने उनीहरूको चिन्ता छ । यही सन्दर्भमा कान्तिपुरले विभिन्न नाकाको आवागमनको अवस्था एवं तौरतरिका अध्ययन गरेको छ ।

नाकामा परिचयपत्र झन्झटिलो

पशुपतिनगर : मात्र सोधीखोजी
भारतको दार्जिलिङसँग सीमा जोडिएको इलामको पूर्वी भूभाग आउजाउ गर्न दर्जनौं नाका छन् । पशुुपतिनगर फाटक नाकाबाट दैनिक हजारौं सर्वसाधारण ओहोरदोहोर गर्छन् । सवारीसाधनमा र पैदलै सीमा पार गर्दा दुवै पक्षको निगरानी गर्ने गरेका छन् । नेपालबाट जाँदा भारतीय प्रहरीले सीमा गेटमा सम्पूर्ण विवरण लिन्छ । कुन ठाउँको नागरिक हो, कहाँ जाने, किन जाने, कसलाई भेट्ने आदि खुलाएपछि मात्र उसले जान दिन्छ । फर्कंदा पनि उसलाई जानकारी गराउनुपर्छ ।

पशुपतिनगरबाहेक मानेभन्ज्याङ, सिमाना बजार, पुलखोला, फाटक, पेनल, हिले, गुफापातल, छब्बिसे, शान्ति बजार, जिर्मले, सलकपुरलगायत स्थानबाट सीमा वारपार गर्न सकिन्छ । ती सबै नाकामा दुवै देशका प्रशासनिक निकाय नभएकाले आउजाउमा कठिनाइ छैन । घाँसदाउरादेखि अर्मपर्म र चिया टिप्नसम्म यहाँका बासिन्दा दैनिक सीमा वारपार गर्छन् ।

भारतीय सीमा क्षेत्रमा बाक्लो गरी एसएसबी क्याम्प राखिएको छ । सामग्री ढुवानी र बिक्रीका लागि भारतीय बाटो प्रयोग गर्दा एसएसबीले दु:ख दिने गरेको गुनासो पनि पछिल्लो समय कमै सुनिन्छ । ‘भारतीय प्रहरीले आउनेजानेको विवरण लिने र निगरानी गर्ने क्रम यथावत् छ,’ पशुपतिनगरका मिलन क्षत्रीले भने, ‘तर यात्रुलाई दु:ख दिएका घटना पछिल्लो समयमा खासै सुनिएको छैन ।’

नेपाल छिर्ने भारतीयलाई भने उति कठिन छैन । नेपाली प्रशासनले सामान्य निगरानी गर्ने र शंका लागे मात्रै सोधखोज गर्ने गरेको छ । भारतबाट सवारीसाधन लिएर आउने र राजस्व बुझाएर नेपालका विभिन्न भूभाग पुग्ने क्रम निरन्तर छ । त्यहाँको राजस्वको मुख्य स्रोत पनि भारतीय नम्बर प्लेटका गाडी नै हुन् । नेपालतर्फ पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयसहित जौबारी, श्रीअन्तु, शान्तिबजारमा प्रहरीचौकी छ भने मानेभन्ज्याङमा सीमा प्रहरी चौकी छ । सन्दकपुरदेखि जिर्मलेसम्मको ४४ किलोमिटर सीमा क्षेत्रमा यिनै प्रहरी चौकीले आउजाउको अवस्था र सामग्री ओसारपसारको निगरानी गर्ने गरेको इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले बताए ।

काँकडभिट्टा : तेस्रो मुलुकका लाई सहज
काँकडभिट्टास्थित मेची नाका अन्यको तुलनामा सहज छ । यही सहजताको फाइदा उठाउँदै तेस्रो मुलुकका नागरिकसमेत अवैध रूपमा नेपाल प्रवेश गर्ने गरेका छन् । खासगरी बंगलादेशी, भुटानी, तिब्बती र श्रीलंकाली नागरिकले यो नाका अवैध आउजाउका लागि प्रयोग गर्ने गरेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गत वर्ष स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका पाँच जना श्रीलंकालीलाई पानीट्यांकी नाकाबाट नियन्त्रणमा लिएको थियो ।

भारतीयसँग भाषा र रूपरंग मिल्ने भएकाले सबैभन्दा बढी बंगलादेशी अवैध रूपमा नेपाल छिर्ने गरेका छन् । उनीहरू भारत पनि अवैध बाटोबाटै आउँछन् । यो नाकामा वैधानिक बाटोबाट नेपाल आउने र फर्किहाल्ने बंगलादेशीको संख्या पनि उल्लेख्य छ । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार यो वर्षको पहिलो चौमासिकमा ६ सय ६६ बंगलादेशी, तीन श्रीलंकाली, ५ पाकिस्तानी आएका छन् ।

जोगबनी : शंकास्पदमाथि निगरानी
विराटनगरको जोगबनी नाकाबाट आउजाउ गर्न सर्वसाधारणलाई समस्या छैन । भारतीय प्रहरीले नेपालबाट उपभोग्य वस्तु खरिद गर्न जोगबनी बजार पुगेका जोकोहीलाई सामान्य अवस्थाझैं आउजाउ गर्न दिएको छ । जोगबनी रेल्वे प्रहरीले शंकास्पद रूपमा नाकाबाट प्रवेश गर्ने महिलासहित चिनियाँ, पाकिस्तानी र बंगलादेशी नागरिकलाई विशेष निगरानी राख्दै आएको नेपालस्थित सीमा प्रहरी चौकीकी नायब निरीक्षक मुना डाँगीले बताइन् ।

यो नाकाबाट दैनिक सरदर ८ हजार सर्वसाधारण ओहोरदोहोर गर्ने गरेको उनको भनाइ छ । ‘बेचबिखन गर्ने उद्देश्यले सीमा छिराएको पाइए महिलालाई उनीहरूले रेल्वे स्टेसन, फारबिसगन्ज र पटनासम्मबाट पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउने गरेका छन्,’ उनले भनिन् । नेपाल प्रहरीले पनि भारतबाट आउने शंकास्पद व्यक्तिलाई निगरानी गर्दै आएको छ । सामान्यतया यो नाकाबाट जोगबनी बजारमा उपभोग्य वस्तु किन्न जाने सर्वसाधारणको भीड हुन्छ । उताबाट सामान खरिद गरेर आउनेलाई भारतीय सुरक्षाकर्मीले जाँच गर्दैन ।

सुनौली : अव्यवस्थाले सास्ती
सुनौली नाका व्यवस्थित हुन नसक्दा यात्रु र सामान ढुवानीमा सधैं सास्ती हुने गरेको छ । भारतीय सुरक्षाकर्मी, भन्सार, अध्यागमनलगायत निकायले सडकमै यात्रु र सामग्री ढुवानी जाँच गर्दा दैनिक घण्टौं जाम हुन्छ । नेपालको फितलो जाँचका कारण सुरक्षा चुनौती पनि उत्तिकै बढेको नेपाल–भारतमैत्री समाजका अध्यक्ष डा. शान्तकुमार शर्माले बताए । ‘केही वर्ष अगाडि जस्तै सर्वसाधारणसँग भारततर्फ हुने गरेको दुव्र्यवहार र खुलेआम अवैध असुलीका घटनाले सधैं सास्ती छ,’ उनले भने, ‘यात्रुलाई गरिने दुव्र्यवहार रोक्न पटक–पटक ध्यानाकर्षण गराए पनि रोकिएको छैन ।’

सुनौली नाकाबाट भारततर्फ प्रवेश गर्दा प्रत्येक यात्रु र गाडीलाई भारतीय एसएसबीका सुरक्षाकर्मीले बिनाजाँच जान दिँदैनन् । प्रत्येक यात्रुले त्यहाँ राखिएको सुरक्षायन्त्र ‘वाक थ्रु’ प्रयोग गर्नैपर्ने हुन्छ । सामानसहितको झोला खोलेर खानतलासी गरिन्छ । नेपालमा सामान छाडेर फर्केका भारतीय मालवाहक गाडीसमेतको मेसिनले स्क्यानिङ गरेर मात्रै भारततर्फ प्रवेश अनुमति दिइन्छ । नेपालतर्फ भने यसखालको सुरक्षा उपकरण र प्रक्रिया छैन । ‘सुनौली नाका विश्वकै मान्छे आवतजावत गर्ने प्रमुख नाका भएकाले व्यवस्थित गर्न अति जरुरी छ,’ रूपन्देहीका एसपी श्यामलाल ज्ञवालीले भने, ‘सीमा नाकामा यात्रुलाई सुविधा र सुरक्षा प्रभावकारी बनाउने पूर्वाधार भने छैनन् ।’

रुपैडिहा : घटेन दुव्र्यवहार
नेपाल–भारत सुरक्षा अधिकारीको हालै भएको सुरक्षा बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सीमामा नेपालीमाथि हुने गरेको दुव्र्यवहार रोक्न आग्रह गरे । उनले दुईदेशीय सुरक्षा बैठकमा उक्त मुद्दा उठाएको पहिलो होइन । वर्षमा तीन/चारपल्टको बैठकमा बाँकेका सुरक्षा अधिकारीले यसैगरी दुव्र्यवहार र नेपालीमाथि हुने लुटपाटका घटना उठाउँदै आएका छन् । तर, नेपालीमाथि हुने दुव्र्यवहार रोकिएको छैन । खासगरी मजदुरीका लागि भारत जाने नेपालीले बढी सास्ती खेपिरहेका छन् ।

‘यसपल्टको बैठकमा पनि नेपालीमाथि हुने दुव्र्यवहारलाई प्राथमिकतासाथ उठाएका छौं । काम गरेर फर्किने नेपालीमाथि सीमामा हुने सास्तीका कुरा भनेका छौं,’ केसीले भने । रुपैडिहामा भारतीय कस्टम, थाना, वन र एसएसबीको सुरक्षा जाँच छ । एसएसबीले सुरक्षा जाँचका लागि एक्सरे मेसिन राखेको छ । उसले नेपालीको अभिलेखसमेत राख्न सुरु गरेको छ । ती चेकपोस्टमा कडा सुरक्षा जाँच हुँदा नेपालीले सास्ती भोग्नुपरेको हो ।

वनबासा र गौरीफन्टा : सहज
प्रदेश ७ का मुख्य नाका वनबासा र गौरीफन्टामा आवतजावत सहज छ । कहिलकाहीँ नेपालीले सास्ती भोग्नेबाहेक अरू बेला यी नाकामा खासै समस्या छैन । ‘सीमामा आउजाउ गर्न खासै समस्या छैन,’ धनगढीका किराना पसले राजु गुप्ता भन्छन्, ‘गौरीफन्टा बजार विस्थापित भइसकेको भए पनि भारतका जुनसुकै सहर पस्न त्यहाँ पुग्नैपर्ने भएकाले रौनक घटेको छैन ।’

प्रकाशित : श्रावण ७, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?