२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पर्यटनका 'हस्ती' टेकचन्द्र पोखरेलको निधन

काठमाडौँ — पर्यटन व्यवसायी टेकचन्द्र पोखरेलको ८४ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पोखरेलको सोमबार बिहान काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पर्यटनका 'हस्ती' टेकचन्द्र पोखरेलको निधन

सोमबार नै पोखरेलको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले बताए । ५० वर्ष भन्दा लामो समय नेपाली पर्यटन क्षेत्रमा काम गरेका पोखरेल विगत पाँच महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।


पोखरेल नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स (नाट्टा)मा सन १९७७/७८ मा अध्यक्ष भएका थिए । त्यसको एक कार्यकाल पछि उनी फेरी लगातार ६ पटक नाट्टाको अध्यक्ष भए । १९ वर्षसम्म नाट्टाको नेतृत्व उनैले गरेको नाट्टाका पूर्व प्रमुख कार्यकारी अधिकृत हरि शर्माले बताए ।

‘नाट्टा र नेपालको पर्यटन क्षेत्रलाई उनले गरेको योगदान नेपालका लागि न भूत न भविष्य हो,’ शर्माले भने, ‘नेपालमा पर्यटन क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउन सकिन्छ भनि प्रमाणित गरेर देखाउने व्यक्ति उहाँ पहिलो हो ।’ उनका अनुसार विराटनगरमा प्राध्यापन गर्ने पोखरेल पेशा परिवर्तन गरि पर्यटन क्षेत्रमा होमिएका हुन् ।


उनले ‘हिमालयन रेस्क्यु एसोसिएसन’ र ‘ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल’ (टान) का पनि अध्यक्ष भएर काम गरे । पोखरेल नेपाल पर्वतारोहण संघ (एनएमए) मा पनि आवद्ध थिए । पोखरेलको सांग्रिला होलिडेज कम्पनी साथै गैरीधारामा रमडुडल्स रेस्टुरेन्ट सञ्चालनमा छ ।


बोर्डका प्रमुख कार्यकारी जोशीका अनुसार पोखरेलले नेपालको पर्यटन क्षेत्रको गुरुयोजनामा समेत योगदान गरेका छन् । टुरिस्ट गाइड एसोसिएन अफ नेपाल (टुर्गान) का पूर्व अध्यक्ष हरेराम बरालले पोखरेलको निधनले पर्यटनको हस्ती गुमाएको प्रतिक्रिया दिए ।


उनका अनुसार २००७ सालताका राजनीतिमा लागेपनि पछि पर्यटनलाई व्यवसायिक र व्यवस्थित बनाउन पोखरेल राजनीति छाडेर पर्यटन व्यवसायमा होमिएका थिए ।

पुर्खैयौंली घर खोटाङ भएका पोखरेलको श्रीमती, एक छोरा र एक छोरी छन् । असक्त हुँदै गएपछि उनका छोरा अशोकले व्यापार/व्यवसाय सम्हाल्दै आएका छन् ।

प्रकाशित : श्रावण ७, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?