बसधनीले चलाएको बस दुर्घटनाग्रस्त

बस धनी सख्त घाइते
काशीराम डाँगी

रोल्पा — कृष्णनगरबाट रोल्पा सदरमुकाममा यात्री पुर्‍याएर घरमा बस लैजाँदै गर्दा रोल्पा नगरपालिका-४ खाद्य टोलमा सोमबार दिउँसो दुर्घटनामा परेको छ । दुर्घटनामा परी आफैंले गाडी चलाएका बस धनी सख्त घाइते भएका छन् । 

बसधनीले चलाएको बस दुर्घटनाग्रस्त

स्थानीय प्रत्यक्षदर्शीका अनुसार टुडिखेलमा यात्रु ओरालेपछि मेबाङस्थित आफ्नै घरमा बस लैजान खोजेका बस धनी इन्द्रकुमार गिरीले चलाएको बस खाद्य टोलस्थित सडकदेखि एक सयमिटर मुनि खसेको हो । बस खस्दा सह चालक भागेर बाँचेका थिए भने बसभित्रै च्यापिएका बसधनी गिरीलाई सेना र प्रहरीको उद्धार टोलीले घाइते अवस्थामा उद्धार गरेको छ ।


‘सजिलो सडकमा चलाइएको बस मेरै आँखा अघिल्तिरबाट सडक मुनि खस्यो,’ घटनाका प्रत्यक्षदर्शी स्थानीय ऋषिराम रोकाले भने, ‘सडकमा बस चलाउन थालेका गिरीले घटनाअघि देखि बस अनियन्त्रित तरिकाले चलाएका थिए । आखिरमा ती चालक पनि रहेनछन् ।’ बस अनियन्त्रित गतिमा गुडाइएको देखेपछि सडकमा हिँडिरहेको एउटा बालकलाई आफैंले समाएर जोगाएको रोकाले सुनाए ।


सडकबाट मकैबारी हुँदै सय मिटर तल खसेको ग १ ख ५५३० नम्बरको आशीर्वाद यातायात प्रालिको उक्त बस क्षतिग्रस्त छ । बसभित्रै च्यापिएका बस धनी गिरीलाई उद्धार गरी बसबाहिर निकाल्न सेनाको टोलीलाई एक घण्टा बढी समय लागेको थियो । घटनाबारे जानकारी पाउने बित्तिकै उद्धारमा आएकाले बसधनीको ज्यान जोगाउन सकिएको रोल्पास्थित नेपाली सेनाको खड्ग दल गणका सेनानी धर्म बोगटीले बताए ।


टाउको, पेट र पिठ्यूमा गम्भीर चोट लागेका बस धनी गिरीको उपचार रोल्पा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । रोल्पाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बसभित्र यात्रु नभएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताए । केही अघिसम्म बसका चालकले नै चलाएको उक्त बस गिरीले मेबाङस्थित जुमठानामा रहेको आफ्नो घरमा लैजान आफैंले चलाएका थिए ।

प्रहरीका अनुसार बस धनी गिरीसँग सवारी चालक अनुमति पत्र भएपनि उनले विदेशमै गाडी चलाउने गर्थे । उक्त बस उनले केही समय अघि मात्रै किनेका थिए ।

प्रकाशित : श्रावण ७, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?