ओली–दाहाल झन् आक्रामक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले डा. गोविन्द केसी राजनीतिक स्वार्थको सिकार बनिरहेको आरोप लगाएका छन् । डा. केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने प्रक्रियामा समेत अवरोध पुर्‍याइरहेको उनीहरूले बताए ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औं स्मृति दिवसमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल । तबिर : अंगद ढकाल

‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ तर यहाँ यस्तो हुन सकिरहेको छैन । तैपनि हामी भनिराखेका छौं, आउनुस् वार्ता गरौं,’ कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘ठूल्ठूला युद्धको निकास त वार्ता र संवादबाटै भएको छ ।’ उनले चिकित्सा क्षेत्र सुधारका लागि सरकार बहस गर्न तयार रहेको तर हठ मान्य नहुने ओलीको भनाइ थियो । केसीको मागअनुसारै चिकित्सा शिक्षा आयोग बनाउन तयार रहेको बताउँदै उनले त्यसको नेतृत्व गर्नसमेत केसीलाई आग्रह गरे । ‘मागअनुसार आयोगको अध्यक्ष बन्नु न त भन्दा पनि मान्नुहुन्न,’ उनले भने । स्वास्थ्य परीक्षण गर्न नदिएर आफैंविरुद्ध मानव अधिकार हनन गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ ।

‘उहाँको मुद्दा के हो, माग के हो सडकमा हेर्नुभयो भने स्पष्ट हुन्छ, किसिम–किसिमका मान्छेहरू, कोही गेरु बस्त्र, कोही संन्यासी रूप, कोही ठाडो चन्दन, कोही तेर्सो चन्दन लगाएका । मुसा खाने जस्तो कोही लाग्दैन, अनौठा–अनौठा दृश्य छन् ।’

‘यो कस्तो सत्याग्रह हो ? सत्याग्रहीमा यस्तै पाखुरा ठडयाउने, मुड्की बजार्ने, आफ्नो समूह बनाई जाँच्न दिन्नँ भन्न मिल्छ ?’ प्रधानमन्त्री ओलीले भने, ‘अनशन बस्ने डा. केसी, अनशन कायम राख्ने अरू, बिरामी हुने डा. केसी, उपचार हुन नदिने अरू । अरूको जीवनमाथि खेलबाड गर्न पाइन्छ ? राजनीतिक स्वार्थका लागि उपचार गर्न दिन्नँ भन्न पाइन्छ ?’
केसीको जीवनसँग कांग्रेसले राजनीतिक स्वार्थको रोटी सेकिरहेको ओलीको टिप्पणी थियो । उनले अनशनका पक्षमा सडक प्रदर्शनमा निस्किने पूर्वप्रधानन्यायाधीशदेखि अन्य नागरिक अभियन्तामाथि समेत आक्रोश पोखे । ‘उहाँको मुद्दा के हो, माग के हो सडकमा हेर्नुभयो भने स्पष्ट हुन्छ, किसिम–किसिमका मान्छेहरू, कोही गेरु बस्त्र, कोही संन्यासी रूप, कोही ठाडो चन्दन, कोही तेर्सो चन्दन लगाएका । मुसा खाने जस्तो कोही लाग्दैन, अनौठा–अनौठा दृश्य छन् ।’

उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सडक आन्दोलनका क्रममा दिएका अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । ‘ठूल्ठूला न्यायिक निकायमा बसेकाहरू निषेधाज्ञा तोड्न किन पाइँदैन भन्दै हिँडेका छन्,’ उनले भने, ‘दुई–चार कक्षा पढेको छैन, त्यसले के जान्दछ कानुन भन्छन्, मसँग सर्टिफिकेट हेर्न त आउनुभएको छैन ।’ उनले सडक आन्दोलन र अनशनलाई पनि फुर्सदका बेला गरेको क्रियाकलाप भने । ‘फुर्सदका बेला निकालेका जुलुस र अनशन नै मुलुकको सम्पूर्णता होइन,’ उनले भने, ‘हामी आवेश र उत्तेजनामा छैनौं, प्रतिपक्षसँग पनि कुरा गर्छौं, जनताको हितमा छ भने छलफल गरेर विधेयक सच्याउन पनि सकिन्छ तर संसद्मा नगई कसको हुकुम, आदेश र फर्मा हामीले मान्नुपर्‍यो ?’ जीवनरक्षाका लागि केसीलाई जुम्लाबाट ल्याउन खोज्दासमेत रोक्ने प्रयास गरेको भन्दै उनले कांग्रेसको आलोचना गरे । चिकित्सकले अस्पतालमा आन्दोलन र हडताल गरेकोप्रति पनि उनले आपत्ति जनाए । ‘उपचार गर्न भनेर जागिर खाने अनि उपचार नै बन्द गर्ने ? हडताल गर्न पाइँदैन,’ उनले भने । प्रधानमन्त्री बोल्नुअघि नेकपा अध्यक्ष दाहालले पनि विपक्षी कांग्रेसले लासमाथि राजनीति गर्न खोजेको आरोप लगाए । ‘उहाँको जीवनरक्षा गर्ने दायित्व सरकारको हो तर अर्को पक्ष जीवनरक्षाको पक्षमा छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागतले सायद उहाँको हत्या गर्न र लासको राजनीति गर्न चाहेको हो कि ?’ दाहालले भने, ‘यो के विडम्बना हो ? वार्ता टोली बनाएको छ, सरकारले जीवनरक्षा गर्न लागेको छ अनि सरकारैमाथि, नेताहरूमाथि आरोप नै आरोप, यो के चिज हो ?’

लोकतान्त्रिक भन्ने कांग्रेसको सरकारकै बेला केसी सबैभन्दा बढी अनशन बसेको उल्लेख गर्दै उनले त्यतिबेला के हेरेको भन्दै प्रश्न गरे । ‘अहिले त गोविन्द केसी समाजले पचाइसकेको छ उहाँ बसिराख्नु हुन्छ । उहाँसँग वार्ता हुन्छ, सहमति हुन्छ । त्यो पनि सामान्य प्रक्रिया हो, यसमा अनौठौ मान्नु हुँदैन,’ दाहालले भने, ‘केसीसँग वार्ता गर्न तयार छौं । कति लचिलो हुनुपर्ने हुन्छौं, जीवनरक्षाप्रति संवेदनशील छौं । तर, यहाँ कांग्रेसले खोजेको चाहिँ के हो ? डा. केसीमार्फत आफ्नो राजनीति गर्न खोजेको हो ? के कांग्रेसको अब अरू कुनै एजेन्डा छैन ? हो भने कांग्रेस अब सकियो ।’

कांग्रेसको आपत्ति
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले सोमबार दिएको सार्वजनिक अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको छ । डा. गोविन्द केसी र उनको मुद्दालाई समर्थन गर्नुलाई त्यान्त्रो समाएर राजनीतिक गरेको भन्नु आपत्तिजनक भएको उल्लेख गर्दै कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र भनेको लाख मान्छेले जुलुश गर्न पाउने अधिकार मात्रै होइन, केवल एक व्यक्ति मात्रैले पनि न्यायका लागि आवाज उठाउ‘छ भने राज्यले त्यसलाई सुनुवाई गर्नु बास्तविक लोकतन्त्र हो ।’
कांग्रेसले डा. केसी एक व्यक्ति मात्र नभई आम नेपालीले समर्थन गरिरहेका अभियन्ता रहेको बताएको छ ।

Yamaha

प्रकाशित : श्रावण ८, २०७५ ०७:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अनशन २५औं दिनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — डा. गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बनेको छ । उनलाई जुनसुकै समय जे पनि हुन सक्ने चिकित्सकहरूले औंल्याएका छन् । रक्तचाप कम भएपछि सोमबार स्लाइन पानी छिटो–छिटो दिएर ‘रिस्युसिटेसन (सुधार प्रक्रिया)’ समेत गरिएको थियो । शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्तकणिकाको संख्या सामान्य स्तरभन्दा निकै तल गइसकेको छ ।

२४ दिनदेखि जारी आमरण अनशनका कारण उनी अत्यन्त कमजोर भएका छन् । ६१ वर्षीय डा.केसीको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति धेरै जोखिमपूर्ण हुने चिकित्सकहरूको ठम्याइ छ । उनको रगतमा ‘पोटासियम, डब्लूबीसी (सेतो रक्तकोष) तथा सुगरको स्तर एकदमै कम रहेको सोमबार साँझ जारी गरिएको रगत परीक्षण प्रतिवेदनमा उल्लेख छ । म्याग्नेसियम र क्याल्सियमको मात्रा पनि कम छ । रक्तचाप ८५/५२ अर्थात् धेरै कम देखिएको छ ।

डा. गोविन्द केसीको १५औं अनशन सोमबार अहिलेसम्मकै लामो (२४ दिन) पुगेसँगै उनको स्वास्थ्यस्थिति अत्यन्तै नाजुक भएको छ । रक्तचाप, पोटासियम, सेतो रक्तकोष र सुगरका साथै रगतमा अक्सिजनको मात्रा समेत एकदमै घटेको छ । ८० वर्षीया आमाको विशेष आग्रहमा स्वास्थ्य परीक्षण गराएका केसीलाई ‘जतिखेर जे पनि हुन सक्ने’ चिकित्सकहरुले जनाएका छन्।

८० वर्षीया आमा मित्रकुमारी केसीको विशेष आग्रह र सहकर्मी प्रा.डा. दिव्या सिंह शाहको सम्झाइबुझाइपछि डा.केसीले सोमबार दिउँसो परीक्षणका लागि रगत दिन स्वीकृति दिएका हुन् । ‘डब्लूबीसीको कमीले गर्दा उनलाई विभिन्न प्रकारका संक्रमणको जोखिम बढेको छ,’ डा.शाहले भनिन्, ‘स्थिति विस्तारै बिग्रँदै गएको छ ।’

शरीरमा पोटासियमको स्तरमा आएको कमीले उनले मांसपेसी बाउँडिने, गल्ने, थकाइ महसुस हुनेजस्ता समस्या भोग्दै आएका छन् । यसले गर्दा मुटुको चालमा असामान्य अवस्था आउने सम्भावनासमेत रहेको डा.शाह बताउँछिन् । सुगर धेरै कम हुँदा मस्तिष्कमा समस्या उत्पन्न हुन सक्ने जोखिमतर्फ उनले सचेत गराइन् ।

डा.केसीको रगतमा अक्सिजनको मात्रा पनि निरन्तर घटिरहेको छ । एकैछिन पनि अक्सिजन नलगाउँदा उनलाई निकै अप्ठ्यारो हुन्छ । ‘उहाँलाई रातभर छाती दुख्ने, पिसाबका लागि हिँड्दा मुटुको धड्कन धेरै बढ्ने, मांसपेशी बाउँडिनेलगायत अत्यधिक कमजोरी देखिएको छ,’ त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर स्पेसलिस्ट डा. प्रमेशसुन्दर श्रेष्ठले भने, ‘रक्तचाप कम भएर सोमबार उहाँलाई स्लाइन पानी छिटो–छिटो दिई रिस्युसिटेसनसमेत गर्नुपर्‍यो ।’

डा.केसीमा हाल देखिएको छाती दुखाइको समस्यालाई हलुका रूपमा लिन नहुने औंल्याउँदै डा.श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्यस्थिति जटिल छ, जतिखेर जे पनि हुन सक्छ ।’
डा.केसीसँग सोमबार राप्रपा (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशमशेर जबरा, कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताले भेटी उनको मागमा समर्थन जनाएका थिए । डा.केसीको १५ औं अनशन सोमबार २४ दिनमा पुगेपछि हालसम्मकै लामो भएको छ ।

यसअघि उनको ११ औं अनशन २३ औं दिनमा स्थगित भएको थियो । मुलुकको प्राकृतिक विपत्तिका कारण त्यतिखेर उनले अनशन स्थगन गरेका थिए । यसैबीच नेपाल चिकित्सक संघले वैकल्पिक उपायद्वारा ओपीडी सेवा सञ्चालन गर्न देशभरका चिकित्सकहरूलाई आहवान गरेको छ । आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी ओपीडी सञ्चालन गर्न संघले आहवान गरेको हो । अनशन २४ औं दिनमा पुग्दासमेत सरकारले जीवनरक्षाको गम्भीरता प्रकट गर्न नसकेको जनाउँदै संघले विभिन्न दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ ।

संघले रेजिडेन्ट चिकित्सकहरूले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कारप्रति ऐक्यबद्धतासमेत प्रकट गरेको छ । यस्तै नागरिक समाजसँग समन्वय गरी आ–आफ्ना जिल्लामा रिले अनशन, र्‍याली, धर्नालगायत विरोधका कार्यक्रमसहित सशक्त विरोध गर्न पनि संघले मुलुकभरका चिकित्सकलाई आग्रह गरेको छ । काठमाडौं उपत्यकाको हकमा भने संघका पदाधिकारीसहित सबै चिकित्सकलाई वसन्तपुर डबलीमा उपस्थित भएर १० देखि ५ बजेसम्म अनशन बस्न अपिल गरेको छ ।

यसैबीच त्रिवि शिक्षण, वीर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट डाक्टरहरूले आकस्मिकबाहेक सेवामा सरिक नहुने जनाएका छन् । नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन त्रिवि शिक्षण, रेजिडेन्ट्स एसोसिएसन अफ न्याम्स वीर अस्पताल र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले विज्ञप्ति जारी गर्दै आकस्मिक र आईसीयूबाहेकका सबै सेवा बहिष्कार गर्ने जनाएका हुन् ।

प्रकाशित : श्रावण ८, २०७५ ०७:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT