१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

टिपरले जसको परिवार उजाड्यो

काठमाडौँ — असार ३० गते शनिबार । दाइ अनुजसँगै कुपन्डोल बस्दै आएकी १८ वर्षीया अनुजा घिमिरे सबेरैदेखि हतारमा थिइन् । चिकित्सक बन्ने लक्ष्यसहित राजधानी छिरेकी उनी पुतलीसडकस्थित एक कोचिङ सेन्टरमा इन्ट्रान्स तयारी गर्दै थिइन् ।

टिपरले जसको परिवार उजाड्यो

बेलैमा कोचिङ सेन्टर पुग्नु त छँदै थियो, इन्ट्रान्स कक्षा सकिएपछि सिधै कलंकीस्थित ठूलोबुबा दिवाकर घिमिरेको घरमा खाना खान पुग्नु थियो उनलाई । उनी पुतलीसडकतिर लागिन्, अनुज ठूलोबुबाको घरतिर ।

राजधानीको सडक अन्य दिनको तुलनामा खाली थियो । खाना खाइसकेपछि अनुज बहिनीलाई लिन पुतलीसडक गए । फर्किंदै थिए, ठूलोबुबाको घर पुग्न नभ्याउँदै सोल्टिमोडमा उनीहरू चढेको मोटरसाइकललाई टिपरले ठक्कर दियो । परिवारसँगै बसेर खाना खाने अनुजाको चाहना त्यहीं तुहियो ।

ना७ख ९४७५ नम्बरको टिपरले उनीहरू सवार बा९६प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवैजना भुइँमा पछारिए । हेलमेट नलगाएकाले अनुजा अलि बढी घाइते भइन्, अनुजको पनि घुँडा र हातमा चोट लाग्यो । उनी बहिनीलाई उठाउन र चोट लागेका ठाउँमा सुम्सुम्याउन चाहन्थे । तर आफैं सम्हालिन नपाउँदै टिपरले ब्याक गरेर बहिनीलाई किचिदियो ।

तत्कालै प्रहरी र स्थानीय जम्मा भए । अनुजालाई बल्खुस्थित बयोधा अस्पताल पुर्‍याए । ढुकढुकी मात्र बाँकी रहेकी अनुजाको बाँच्ने सम्भावना निकै कम थियो, भयो पनि त्यस्तै । अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरे । चालक राजकुमार तामाङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लियो ।

चितवनबाट राम्रो अंकमा प्लस टु साइन्स लिएर कटाएपछि सफल चिकित्सक बन्ने लक्ष्य बोकेर अनुजा राजधानी छिरेकी थिइन् । त्यसो त चितवन आफैं मेडिकल सिटीका रूपमा परिचित छ । दुई मेडिकल कलेज र दर्जनभन्दा बढी अस्पतालबाट बर्सेनि थुप्रै चिकित्सक र नर्स उत्पादन भइरहेका छन् । तर त्यहाँभन्दा गुणस्तरीय शिक्षा पाउने आसमा राजधानीमा पसेकी थिइन् अनुजा ।

उनका बुबा एक निजी कम्पनीमा काम गर्छन् । अनुज इन्जिनियरिङ पढदै थिए, छोरीले पनि डाक्टर बन्ने लक्ष्य लिएपछि उनको खुसीको सीमा थिएन । छोराछोरीलाई सकेसम्म पढाउन चाहन्थे उनी । तर असार ३० को दिन घिमिरे परिवारका लागि कालो दिन बनेर आयो । उनका सपना धुजाधुजा भए ।

अनुजले ७/८ कक्षा पढदादेखि नै मोटरसाइकल चलाउन थालेका हुन् । लामो र राम्रो अनुभव थियो मोटरसाइकल चलाएको । तर त्यो दिनको दुर्घटनामा उनी आफैंलाई दोषी मान्छन् । ठूलोबुबा दिवाकर घिमिरे भन्छन्, ‘हामीले सम्झाइरहेका छौं । उसलाई केही दिन अस्पताल बस्नुपर्ने थियो, मानेन ।’ आमाबुबाले छोरीको कमी महसुस गर्दै छन्, जो कहिल्यै पूरा हुनेछैन ।

चालकले जिम्मेवारीपूर्वक सवारी चलाए दुर्घटना नहुने बताउँछन् दिवाकर । ‘हाम्री छोरीको मृत्यु भयो, अरूका छोरी अब नमरून्,’ उनले भने, ‘चालकले सवारी अनुशासन पालना गर्नुपर्छ । ब्याक गरेर किच्नेमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

....

अनुजाको मृत्यु भएको ठीक एक महिनाअघि जेठ ३० गते जडीबुटीमा अर्को दुर्घटना भयो । स्कुटरलाई टिपरले ठक्कर दिँदा २४ वर्षीया अस्मिता भण्डारीको ज्यान गयो । रौतहट घर भई काभ्रे बस्दै आएकी उनको जीवन र सपना त्यो दुर्घटनासँगै सकियो । अस्मिताका बुबा एक कलेजमा काम गर्छन् । अस्मिताले त्यहीँबाट उच्च शिक्षा पढिन् । दाइ बैंकमा काम गर्थे, उनको पनि जागिर पक्काझैं भइसकेको थियो । तर उनी थप पढ्न विदेश जान चाहन्थिन् । विदेश जाने धोको पूरा गर्न तयारीमा जुटिन् । अस्ट्रेलिया जान भिसा प्रक्रिया पूरा भइसकेको थियो । ५/६ सातापछि नै विदेश उड्ने तयारी थियो ।

त्यो दिन काम विशेषले काठमाडौं आउँदै थिइन् । साथी आशिष जोशीले चलाएको बा७०प ९३९९ नम्बरको स्कुटरमा थिइन् उनी । बालुवा बोकेर आएको बा४ख ३५५८ नम्बरको टिपर सँगसँगै थियो । जडीबुटीदेखि कोटेश्वरसम्मको बाटो सधैं जाम भइरहन्छ । धेरै बेरपछि जाम खुल्यो । एकातिर टिपर थियो, अर्कोतिर मिनी ट्रक । दुवैको बीचबाट स्कुटर छिराएर आशिषले थोरै अगाडि पुर्‍याएका मात्र के थिए, टिपरले ठक्कर दियो । अस्मिता र आशिष दुवै भुइँमा पछारिए । अस्मिता बायाँ हातको सहाराले सडकबाट उठ्ने कोसिस गर्दै थिइन्, टिपरले ब्याक गरेर किच्यो । उनलाई हतार–हतार ललितपुरको बीएन्डबी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे ।घटनालगत्तै स्थानीय युवाले टिपरमा आगजनी गरे । दुईवटा दमकलले आगो निभाउनुपर्‍यो । टिपर चालक पृथ्वीनारायण नापितलाई प्रहरीले पक्राउ गर्‍यो ।

.....

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, जलवीरेका चेतबहादुर थापाले १० वर्षअघि सवारी दुर्घटनामा श्रीमती (लक्ष्मी) गुमाए । दसैं मनाउन घर जाने क्रममा बस दुर्घटनामा परी श्रीमतीको मृत्यु हुँदा उनी वैदेशिक रोजगारीका लागि अफगानिस्तानमा थिए । घटनालगत्तै स्वदेश फर्किएका उनलाई दुई छोरा (विशाल/विकास) हुर्काउन निकै कष्ट भयो ।
यता सशस्त्र द्वन्द्वका क्रममा (२०६० मंसिर) दोलखा सदरमुकाम चरिकोटमा तत्कालीन माओवादी आक्रमणमा दुर्गाका श्रीमान् प्रहरी हवल्दार भरत बुढाथोकीको मृत्यु भयो । श्रीमानको मृत्युमा विक्षिप्त दुर्गाले काखे छोरी स्याहार्दै आफूलाई सम्हालिन् । यी दुई घटनाअघिसम्म दुर्गा र चेतबहादुरको परिवार एउटै घरमा डेरा बस्थे ।

छुट्टाछुट्टै पारिवारिक दुर्घटनाले यी दुई (दुर्गा/चेतबहादुर) लाई आठ वर्षअघि एउटै बन्धनमा बाँध्यो । चेतबहादुरले छोरीसहित दुर्गालाई सम्हाले । दुई परिवार एक भयो । दुई छोरा (विशाल/विकास), छोरी कविता बुढाथोकीसहित पाँचजनाको परिवारमा खुसी नै खुसी भरियो । तर, त्यो लामो समय टिक्न पाएन । बल्लबल्ल जोडिएको पारिवारिक माहोलमा अर्को बज्रपात आइलाग्यो । चेतबहादुरलाई अचानक दैवले हर्‍यो । ‘गत जेठ ८ गते बिहान करिब ५ बजेतिर खाना लिएर आऊ है भन्दै निस्किनुभएको थियो, सधैंका लागि छोडेर जानुभयो,’ दुर्गाले भनिन्, ‘गोलभेंडा फार्ममा बिहानीको शीतमै औषधि राख्नु छ भनेर चाँडै जानुभएको थियो ।’

मध्यपुर थिमिस्थित बाहाखा बजारबाट बा६६प ८५५३ नम्बरको स्कुटर हाँकेर करिब डेढ किमि पर (सानोठिमी) पुगेका चेतबहादुरलाई पछिपछि आइरहेको बा२क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो । ‘मेरो भाग्यमा खुसी लेखिएको रहेनछ,’ दुर्गाले दुखेसो पोखिन्, ‘सशस्त्र द्वन्द्वले विक्षिप्त मुटुले सहारा पाएको थियो, फेरि बज्रपात पर्‍यो ।’ तीन सन्तानको भविष्य आफ्ना काँधमा आएको उनले बताइन् ।स्कुटरलाई ठक्कर दिने टिपर चालक ललितपुर महानगरपालिका–९ का ३० वर्षीय राजेन्द्र खडकीलाई भक्तपुर जिल्ला अदालतले ४५ हजार रुपैयाँ धरौटीमा छाडेको छ ।

.....

‘बिहानको खाना सँगै खायौं । स्कुल (प्रहरी आवासीय मावि, साँगा) बाट भाइ बिरामी भएकाले लिन आउने आग्रहसहित फोन आयो । आमा आत्तिनुभयो । आमा आत्तिएको देखेर छिमेकी बुबाले स्कुटरमा जान/आउन सहयोग गर्ने बताउनुभयो र स्कुटर हुइँक्याउनुभयो । म आफ्नो स्कुल गएँ । डेढ घण्टा नबित्दै ठूलोबुबा, आमा र भाइ चढेको स्कुटर दुर्घटना भएको र तीनै जना घाइते भएको खबर आयो । तीनै जनालाई भक्तपुर अस्पताल पुर्‍याइएछ । म पुग्दा अस्पतालको माहोल अर्कै थियो, आफन्त सबै भेला भइसकेका रहेछन् । भाइ (अरविन घिमिरे), आमा (सविता काफ्ले) र स्कुटर चालक (हरिबहादुर कटुवाल) तीनै जनाको निधन भइसकेको रहेछ । बिरामी भाइको उपचार त भएन नै, आमा र छिमेकी बुबाको पनि एकै ठाउँ प्राण गयो ।’

मेलुङ गाउँपालिका–६, दोलखा घर भई भक्तपुर लोकन्थली बस्ने १५ वर्षीया अनुजा घिमिरेले जेठ ९ गतेको कहालीलाग्दो घटना सम्झिइन् । लोकन्थलीस्थित ओम ज्ञान मन्दिर स्कुलमा कक्षा १० मा अध्ययनरत उनलाई खाना खुवाएर स्कुल पठाएकी आमा र नेपाल प्रहरी आवासीय मावि साँगामा होस्टेलमा पढदै गरेका १३ वर्षीय भाइको मृत्युले उनी अझै विक्षिप्त छिन् ।
साँगाबाट काठमाडांैतर्फ आउँदै गरेको बा३ख ६६७४ नम्बरको टिपरले सोही दिशातर्फ आइरहेको बा५६प १२२७ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । आमा र भाइलाई एकसाथ गुमाउँदा अनुजाले आँसु पुछिदिने हातसम्म पाइनन्, उनका बुबा अशोक घिमिरे वैदेशिक रोजगारी क्रममा मलेसियामा थिए । अनलाइनमा प्रकाशित समाचारबाट छोरा र श्रीमती गुमाएको थाहा पाएपछि उनी आफैं विक्षिप्त थिए । ‘त्यो दिन टिकट पाइनँ, कोठामा फर्कन पनि सकिनँ,’ उनले भने, ‘रातभर एयरपोर्टमै बसेँ । सवा चार घण्टाको प्लेन यात्रा साह्रै कष्टकर बित्यो ।’

विक्षिप्त मुटुका साथ स्वदेश फर्केका अशोक अझै साधारण अवस्थामा फर्किन सकेका छैनन् । छोरीको हौसलाले सम्हालिन बाध्य तुल्याएको उनी बताउँछन् । उनी सविताले सञ्चालन गर्दै आएको खाजा पसललाई निरन्तरता दिइरहेका छन् । छोरीलाई मामाघरमै राखेर स्कुल पठाइरहेका छन् । उनी अहिले अदातल धाइरहेका छन् लापरबाहीपूर्वक सवारी हाँकेर दुर्घटना गराउने चालकको लाइसेन्स खारेजको व्यवस्था हुनुपर्ने माग गर्दै । स्कुटरलाई ठक्कर दिने टिपर चालक धार्के गाउँपालिका–१०, धादिङ घर भई थानकोट बस्ने ३० वर्षीय सञ्जीव सूचीकारलाई जिल्ला अदालत भक्तपुरले असार ४ गते पुर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रकाशित : श्रावण ८, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?