३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बालयौन दुराचारको आरोपमा दुई फ्रेन्च पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई फ्रान्सेली नागरिकलाई बालयौन दुराचारको आरोपमा पक्राउ गरेको छ ।

बालयौन दुराचारको आरोपमा दुई फ्रेन्च पक्राउ

फ्रान्स उड्न गत शुक्रबार विमानस्थल पुगेका उनीहरूलाई प्रहरीको सूचनापछि अध्यागमन कक्षबाटै पक्राउ गरिएको थियो । पक्राउ परेकामा ४२ वर्षीय क्रिस्टोफी ग्युलोक्स र ३८ वर्षीय डेनिस म्याथु मिचेर चाउप छन् ।


ब्युरोका अनुसार उनीहरू दुवै यसअघि नेपाल आएर केही समय बसेर फर्केका थिए । क्रिस्टोफी २०१७ सेप्टेम्बर ९ मा र डेनिस २०१७ अक्टोबर २५ मा पहिलोपल्ट नेपाल आएका थिए ।


उनीहरू त्यतिबेला कागेश्वरी मनोहरा नगरपालिकामा डेरा गरी बसेका थिए । ब्युरोका अनुसार २०१७ नोभेम्बर ३० मा क्रिस्टोफी र २०१८ अप्रिल १२ मा डेनिस दोस्रोपल्ट नेपाल आएर पहिले बसेकै स्थानमा बसेका थिए ।


ब्युरोका अनुसार उनीहरूले आफ्नो कोठामा १० देखि १४ वर्ष उमेर समूहका बालकहरूलाई बोलाउने र उनीहरूसँग यौन गतिविधि गर्ने गरेका थिए ।


फुटबल, चकलेट र पैसा दिएर उनीहरूले बालबालिकालाई फकाउँदै अवैध सम्बन्ध राखेको सूचना पाएपछि सादा पोसाकमा खटिएका प्रहरीले दुई सातासम्म उनीहरूको निगरानी गरेको थियो ।


प्रहरीले पिछा गरेको थाहा पाएपछि गत शुक्रबार उनीहरू फ्रान्स फर्किन विमानस्थल पुगेका थिए । ब्युरोको एक अनुसन्धान अधिकारीका अनुसार उनीहरूलाई रंगेहात समात्ने प्रयास असफल भए पनि बरामद भएको ल्यापटप, मोबाइललगायत उपकरणमा बालकहरूसँग आपत्तिजनक गतिविधि गरेका तस्बिर छन् ।

ब्युरोमा पीडित बालकका ५ अभिभावकले जाहेरी दिएका छन् । प्रहरीले दुवैमाथि थप अनुसन्धानका निम्ति काठमाडौं जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्न ५ दिनको म्याद लिएको छ । ब्युरोका अनुसार पक्राउ परेका डेनिस सन् २००४ मा पनि फ्रान्समा यौन दुराचारको आरोपमा पक्राउ परी सजाय भोगिसकेका व्यक्ति हुन् ।


ब्युरोका अनुसार पछिल्लो आर्थिक वर्षमा मात्रै पेडोफिलका ७ घटनामा प्रहरीले ६ विदेशी र एक नेपाली सहयोगी पक्राउ गरेको छ । यी घटनामा २३ बालक पीडित छन् ।


अधिकांश पीडक ४५ वर्षमाथिका छन् । आर्थिक वर्ष २०७४/७५ को जेठ महिनासम्म मात्रै प्रहरी परिसर काठमाडौंले बालयौन दुराचारको आरोपमा ३ जनालाई पक्राउ गरेको थियो ।


असार ४ गते महानगरीय अपराध महाशाखाले स्विस नागरिक पिटर क्रिस्चियनलाई बालयौन दुराचारकै आरोपमा पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले १६ वर्षीय बालकलाई काठमाडौं र भक्तपुरका विभिन्न होटलमा लगी यौन दुराचार गरेका थिए ।

प्रकाशित : श्रावण ८, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?