२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कामु प्रधानन्यायाधीश जोशीको प्रमाणपत्र : परीक्षा दुईतिर, सिम्बोल नम्बर एउटै

कृष्ण ज्ञवाली

काठमाडौँ — प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गर्ने क्रममा रहेका कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीको दुई तहको परीक्षा र विद्यालय फरक–फरक भए पनि सिम्बोल नम्बर एउटै फेला परेको छ । जोशीले कानुनको प्रमाणपत्र तह (आईएल) पढ्न नेपाल ल क्याम्पसमा पेस गरेको विवरणमा यस्तो तथ्य फेला परेको हो ।  

कामु प्रधानन्यायाधीश जोशीको प्रमाणपत्र : परीक्षा दुईतिर, सिम्बोल नम्बर एउटै

संघीय संसद् सचिवालय स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको कागजातअनुसार ल क्याम्पसको ‘प्रोग्रेस रिपोर्ट’ मा जोशीको प्रवेशिका र त्यसभन्दा अघिल्लो परीक्षा दुवैको सिम्बोल नम्बर एउटै (३६६७) छ । उनले राजधानीको डिल्लीबजारस्थित विजय मेमोरियल स्कुलमा विद्यालय तह अध्ययन गरेको र वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका उत्तीर्ण गरेको बताएका छन् ।


नेपाल ल क्याम्पसको अभिलेखमा रहेको जोशीको ‘प्रोग्रेस रिपोर्ट’ मा उनी २०२९ सालमा १० कक्षा उत्तीर्ण भएको उल्लेख छ । त्यही प्रोग्रेस रिपोर्टको अर्को खण्डमा हाईस्कुल (माध्यमिक तह) पास गरेको विवरण भर्ने क्रममा उनले विजय मेमोरियल हाईस्कुलको नाम लेखेका छन् । पास भएको मिति २०२९ साल र सिम्बोल नम्बर ३६६७ उल्लेख छ । नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्जस्थित प्रधान कार्यालयबाट जारी भएको प्राप्तांक विवरणमा पनि जोशीको सिम्बोल नम्बर ३६६७ नै लेखिएको छ । उक्त मार्कसिटमा परीक्षा केन्द्र ‘नक्साल–ख’ उल्लेख छ । दुवै तहमा उनी एकै वर्ष (२०२९ साल) उत्तीर्ण भएका देखिन्छन् ।


कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नेपाल राष्ट्रिय विद्यापीठको प्रवेशिकाको चारित्रिक प्रमाणपत्रमा उल्लेखित सिम्बोल नम्बर ।



‘आवश्यक प्रमाणसहित कामु प्रधानन्यायाधीशज्यूको प्रमाणपत्रको उजुरी यहाँ पेस भएको रहेछ,’ संसद् सचिवालय स्रोतले भन्यो, ‘तर पछि खोलेर हेर्दा प्रमाणपत्रको उजुरीचाहिँ देखिएन । संसद्मा परेका सबै उजुरीमाथि खुला छलफल हुनुपर्ने हो ।’ संसदीय सुनुवाइ समितिमा पेस भएका उजुरीहरूसमेत ‘सेन्सर’ गरिएको भन्दै स्रोतले कान्तिपुरलाई विवरण उपलब्ध गराएको हो ।

कामु प्रधानन्यायाधीश दीपकराज जोशीले नेपाल ल क्याम्पसमा बुझाएको प्रोग्रेस रिपोर्टमा उल्लेखित विजय मेमोरियल स्कुलको नाम र सिम्बोल नम्बर ।



स्रोतका अनुसार नेकपा निकट केही कानुन व्यवसायीले प्रमाणपत्रमा देखिएको ‘समस्या’बारे प्रधानमन्त्री केपी ओलीलाई भेटेरै ब्रिफिङ गरेका थिए । तर ओलीले डा. गोविन्द केसीको आमरण अनशनका कारण परिस्थिति प्रतिकूल भएकाले यो विषयवस्तु नचर्काउन सुझाव दिएको स्रोतको दाबी छ । प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो विषय संसदीय समितिमा उठाउँदा कांग्रेस र केसी पक्ष झनै हौसिएर प्रस्तुत हुने देखिन्छ । अघि नबढदा नै ठीक होला ।’


सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा रहेको नेपाल राष्ट्रिय विद्यापीठको विवरणमा जोशीको सबै विवरण हुबहु मिलेको छ । तर विजय मेमोरियल स्कुलको अभिलेखमा जोशीको नाम भेटिँदैन । २०२८ र ०२९ सालमा १० कक्षाको अर्धवार्षिक, सेन्टप (टेस्ट) र एसएलसी दिने परीक्षार्थीको सूचीमा उनको नाम छैन । केहीमा दीपकराज शर्माको नाम भए पनि उक्त सिम्बोल नम्बर छैन ।


कामु प्रधानन्यायाधीश जोशीले कान्तिपुरसँगको संक्षिप्त प्रतिक्रियामा आफू डिल्लीबजारस्थित विजय मेमोरियल स्कुलमा १० कक्षासम्म पढेको र टेस्ट पास भएपछि नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका दिएको प्रतिक्रिया दिए । ‘मैले विजय मेमोरियलमा १० कक्षासम्म पढेको हुँ । एसएलसी त्यहाँबाट दिइनँ । टेस्ट पास भएपछि नेपाल राष्ट्रिय विद्यापीठमा पढेर प्रवेशिका दिएको हो,’ जोशीले कान्तिपुरसँग भने, ‘विजय मेमोरियलकै चारित्रिक प्रमाणपत्रका आधारमा उता भर्ना भएकाले सिम्बोल नम्बर एउटै भएको हुनुपर्छ ।’


प्रकाशित : श्रावण ८, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?