१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

दोस्रो विमानस्थल क्षेत्रमा हात्ती बिगबिगी

निर्माणाधीन दोस्रो विमानस्थल क्षेत्र र आसपासका जिल्लामा पछिल्ला वर्षमा हात्तीको आक्रमणबाट करिब ३० जनाको ज्यान गइसकेको छ
अब्दुल्लाह मियाँ

काठमाडौँ — पर्सा राष्ट्रिय निकुञ्जको मुख्यालय आधाभार नजिकै शुक्रबार दिउँसो ३५ वटा जंगली हात्ती निस्केपछि घण्टौंसम्म पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध भयो । निकुञ्जका प्राविधिक र कर्मचारीको अथक प्रयासपछि पटकपटक गरेर हात्तीको समूहलाई पूर्वतिरको जंगलतिर धपाइयो । त्यसपछि आवागमन खुल्यो ।

दोस्रो विमानस्थल क्षेत्रमा हात्ती बिगबिगी

केही निकुञ्जमा पर्ने पसाहा खोला तरेर रतनपुरी पुगे, केही दक्षिणतिर मोडिए र केही हात्ती रतनपुरी जंगलमै बसे । तिनै हात्तीले दुई दिनअघि रतनपुरी गाउँका घरमा आक्रमण गरे र धनको क्षति गरे ।


दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको बाराको कोहल्बी, भल्वाईखोर र टाँगियाबस्ती हुँदै रौतहटको जंगलसैया साझेदारी वन, गैंडाटार हुँदै ती हात्ती सर्लाहीको बाग्मती जान्छन् । वाग्मतीबाट सप्तरी, कोसीटप्पु वन्यजन्तु आरक्ष हुँदै झापासम्मै ओहोरदोहोर गर्छन् ।

नेपाली हात्तीबारे विद्यावारिधि गरिरहेका पर्सा निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार पर्सा–चितवन कम्प्लेक्समा रहेका जंगली हात्तीको समूह बर्सेनिजस्तो यही बाटो भएर ओहोरदोहोर गर्छन् ।


पछिल्लो अध्ययनले अन्तर्राष्ट्रिय विमानस्थल प्रस्ताव गरिएको बाराका विभिन्न स्थानसहित सँगै जोडिएका रौतहट, सर्लाही र महोत्तरीमा करिब ३० जना स्थानीयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । अनुसन्धानकर्ता अशोकका अनुसार पछिल्लो आँकडाअनुसार जंगली हात्तीको आक्रमणबाट बाराको निजगढ नगरपालिकामा १, कोहल्बी नगरपालिकाको टाँगिया बस्तीमा ५ र बाराकै जितपुर सिमरा उपममहानगरपालिका अमलेखगन्जमा ३, भल्वाइखोरमा २ र रौतहटको जंगलसैया क्षेत्रमा ३ जनाको ज्यान गइसकेको छ ।


रौतहटको गुजरा गाउँपालिकामा ६, सर्लाहीका विभिन्न स्थानमा ६ र महोत्तरीमा १ जनाको समेत हात्तीको आक्रमणमा परेर ज्यान गएको छ । ‘चितवनबाट पूर्वतिर लागेका हात्तीको समूह प्रस्तावित दोस्रो विमानस्थल बनाउने भनिएका गाउँ हुँदै पूर्वतिर जाने भएकाले जोखिम बढदो छ,’ अशोकले भने, ‘अहिले नै ध्यान नदिने हो भने विमानस्थल बनिसकेपछि समस्या विकराल बन्न सक्छ ।’

पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढतर्फको पसाहा खोलादेखि लालबकैया खोलासम्मको करिब १० किलोमिटर क्षेत्रमा दक्षिणतिरको सबै जंगल फाँडेर विमानस्थल बनाउने तयारीप्रति पर्सा निकुञ्जले सुरुदेखि नै आपत्ति जनाउँदै आएको छ । विमानस्थल बनाउन करिब ८ हजार हेक्टरमा २४ लाख रूख काटिने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख छ ।


पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य निर्माणका क्रममा वन्यजन्तुको ओहोरदोहोरका लागि ठाउँ नछोडिए वा वन्यजन्तुमैत्री बाटो नबनाइए विकराल समस्या निम्तिने तर्क गर्छन् । ‘वन्यजन्तुको परम्परागत ओहोरदोहोर बिग्रिने गरी निर्माण अघि बढेको छ,’ उनले भने, ‘त्यसैले वन्यजन्तुको करिडोर व्यवस्थापनमा ध्यान दिनुपर्छ भनेर हामीले आवाज उठाउँदै आएका छौं ।’ द्रुतमार्ग, अन्तर्राष्ट्रिय विमानस्थललगायतका ठूला संरचना निकुञ्ज बाहिरको विषय भएकाले आफूहरूले प्रत्यक्ष हस्तक्षेप गर्न नमिल्ने आचार्यको तर्क छ ।


वर्षौंदेखि हात्ती, गैंडा र बाघलगायतका ठूला वन्यजन्तुका करिडोर मासेर ठूला संरचना खडा गर्दा मानव–वन्यजन्तु द्वन्द्व निम्तिन सक्ने खतरा रहेको निकुञ्जको ठम्याइ छ । सहायक संरक्षण अधिकृत अशोकले कोसीटप्पु वन्यजन्तु आरक्ष, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट र बारा हुँदै चितवन निकुञ्जसम्म जोड्ने जैविक मार्ग अवरुद्ध भएपछि हात्तीले वितण्डा मच्चाउन सक्ने अध्ययनको निष्कर्ष सुनाए ।


राजमार्गको दक्षिणतर्फ भएका रूख काटेर विमानस्थलको संरचना विस्तार गर्दा झापा र कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पर्सा निकुञ्ज र चितवन निकुञ्जसम्मका वन्यजन्तुको ओहोरदोहोर तोडिने सहायक वार्डेन रामको बुझाइ छ । ‘विमानस्थल निर्माण गर्ने भनिएका गाउँहरूमा बर्सेनिजसो हात्तीले समस्या निम्त्याउने गरेको छ,’ अशोकले भने, ‘वर्षौंअघिदेखि हात्ती हिँडिरहेको बाटो विनाश गर्ने हो भने ती हात्ती बस्तीमा छिर्छन् र द्वन्द्व निम्तिन्छ ।’


उनका अनुसार सदियौंदेखि पूर्वी तराईका जिल्लाबाट आएका हात्तीको समूह विमानस्थल बन्ने भनिएको पसाहा खोला दक्षिणको जंगल हुँदै पर्सा निकुञ्ज र चितवन निकुञ्जसम्म पुग्ने भएकाले राजमार्गको दक्षिणमा जैविक मार्ग जोगाउनु वैज्ञानिक हुन्छ ।


हात्तीमा विद्यावारिधि गरेका नरेन्द्रमानबाबु प्रधानले विमानस्थल निर्माण गर्दा हात्तीको ‘कनेक्टिभिटी’ तोड्न नहुने सुझाए । ‘हात्तीको आउजाउ हुने नाकाको विस्तृत अध्ययन गरी ती ठाउँमा अन्डरपास बनाउनुपर्छ,’ प्रधानको सुझाव छ, ‘नत्र हात्तीले वितन्डा मच्चाउन सक्छ । त्यसैले विकास र जैविक विविधताबीच ब्यालेन्स आवश्यक छ ।’


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले वन्यजन्तुको परम्परागत जैविक मार्ग विनाश नगर्न पटक–पटक सम्वन्धित निकायको ध्यानाकर्षण गराइएको बताए । ‘भौतिक संरचना निर्माण गरिने स्थानमा वन्यजन्तुका लागि अन्डरपास र ओभरपास बनाउनुपर्छ भनेर लबिइङ गरिरहेका छौं,’ खडकाले भने ।


काठमाडौं–निजगढ फास्ट ट्रयाक बनाउँदा पनि राजमार्गबाट उत्तर–पूर्वतिर वन्यजन्तुको ओहोरदोहोर गर्ने करिडोर भएकाले वन्यजन्तुको सहज आउजाउका लागि अनिवार्य रूपमा ओभरपास निर्माण गर्न वन तथा वातावरण मन्त्रालय, वन विभाग र निकुञ्ज विभागले नेपाली सेनाको ध्यानाकर्षण गराएका थिए । सम्बन्धित निकायको पहलकदमीपछि करिब दुई किलोमिटर क्षेत्रमा वन्यजन्तुको ओहोरदोहोर सहज गराउन ‘ओभरपास’ बनाइँदै छ ।


ईआईए प्रतिवेदनमा के छ ?

विमानस्थलको धावनमार्ग पर्सा राष्ट्रिय निकुञ्ज नजिकै पर्छ । निकुञ्ज धेरै नै नजिक हुने भएकाले विमानको ठूलो आवाजले नकारात्मक असर पर्न जान्छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को निर्देशनअनुसार वन्यजन्तु आरक्ष नजिक विमानस्थलको धावनमार्ग हुनु हुँदैन भन्ने उल्लेख गरिएको छ ।


विमानस्थल बन्ने क्षेत्रमा सहजनाथ र तामागढी गरी दुईवटा साझेदारी वन छन् । निर्माणका क्रममा ठूलो वन क्षेत्र खाली गरिने हुँदा जंगली जनावरको बासस्थान पर्सा निकुञ्जमा स्थानान्तरण हुने आकलन गरिएको छ । हवाईजहाजहरूको उडान र अवतरणको समयमा आवाजले गर्दा पर्सा निकुञ्जका वन्यजन्तुहरू विमानस्थल क्षेत्रबाट निकुञ्जको भित्री भागतिर जानेछन् । विमानस्थल निकुञ्ज नजिक नभए पनि विमानस्थल वरिपरि ठूला चराहरू चील, गिद्धलाई आकर्षित गर्ने वस्तुहरू नभएकाले चरा आतंक हुने देखिँदैन ।


प्रकाशित : श्रावण ९, २०७५ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?