२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

झाँक्री हत्या प्रकरण : मलामीसहित ३१ पक्राउ

हरिहरसिंह राठौर

धादिङ — दुईजना झाँक्रीलाई सामूहिक कुटपिटपछि हत्या गरेको आरोपमा प्रहरीले ४ महिलासहित ३१ जनालाई पक्राउ गरेको छ । प्रहरीले सबुत प्रमाणसहित कुटपिट गर्ने र मलामी जाने सबैलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

झाँक्री हत्या प्रकरण : मलामीसहित ३१ पक्राउ

पक्राउ पर्नेमा १६ देखि ५५ वर्ष उमेर समूहका छन् । गत ४ र ५ गते गंगा–जमुना गाउँपालिका–२ मा दुईजना लामा झाँक्रीको हत्या भएको थियो । सामूहिक कुटपिटपछि झाँक्रीको मृत्यु भएको उजुरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सबुत प्रमाणसहित कुटपिटमा संलग्न र मलामी जाने सबैलाई पक्राउ गरेको हो । शव जलाएर खरानीसमेत गाडिएको अवस्थामा फेला परेको छ ।


गंगा–जमुना २ मा बौद्ध धर्मावलम्बीको बाक्लो बसोबास छ । बिरामी हुँदा यहाँका स्थानीय स्वास्थ्य चौकी जानुको साटो लामा झाँक्रीको शरणमा पुग्छन् । विभिन्न रोगले ४ महिनामा बस्तीका ६ जनाको मृत्यु भएपछि स्थानीयले त्यसको सबै दोष ६५ वर्षे झाँक्री यरोङ तामाङ र ७० वर्षे प्लेक तामाङमाथि लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।


‘मदिरा सेवन गरिरहने यरोङले आफूले टुनामुना गरेर मान्छे मारेको हुँ भन्ने अभिव्यक्ति दिएपछि स्थानीय आक्रोशित भए,’ एक स्थानीयले भने, ‘कुटपिट भएपछि उनले प्लेकको नाम पोले । त्यसैले दुवैजना आक्रोशित भीडको सिकार भए ।’

कुटपिटविरुद्ध आफन्तले गाउँपालिकाको न्यायिक समिति र वडा २ का वडाध्यक्ष फैसिंह तामाङलाई लिखित उजुरी दिएका थिए । तर, कुटपिटमा संलग्न स्थानीय छलफलमा आएनन् । उनीहरूले उल्टै दुवै लामालाई ५ गते छलफल गर्न फेरि बोलाए । त्यसपछि ढुंगा र चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीले जनायो ।


मृत्यु भएपछि प्रमाण नष्ट गर्न नजिकैको खोलामा लास जलाएको र खरानीलाई गाडेर लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको छ । चिसो दाउराले शव नजलेपछि ४० केजी चिनी प्रयोग गरिएको पाइएको छ ।


आक्रमणमा संलग्न स्थानीयले मृतकका छोरा, श्रीमती र बुहारीलाईसमेत मलामी लगेका थिए । विरोध गर्ने ५ जनालाईसमेत कुटपिट गरिएको छ । आक्रमणकारीले मृतकका परिवारलाई बस्ती छाड्न रोक लगाएका थिए । बस्ती बाहिरका भाञ्जा नाता पर्ने युवाले जिल्ला प्रहरीमा घटना विवरण सुनाएपछि प्रहरी नायब उपरीक्षक रामबहादुर केसीको कमान्डमा ६० जना प्रहरी परिचालन गरिएको थियो ।


धादिङबेंसीबाट घटनास्थल पुग्न दुई दिन पैदल लाग्छ । घटनापछि स्थानीय एकजुट भएर बसेकाले थोरै जनशक्ति लिएर प्रहरी जान सकेको थिएन । वडाध्यक्ष फैसिंह तामाङले भने, ‘पहिले पनि धामीझाँक्री बसेका बेला गाउँलेलाई नै तथानाम आरोप लगाउने गरेका थिए । गाउँकै मान्छेलाई बोक्सीको आरोप लगाउने गरेको भनेर पहिले पनि कुटपिट भएको रहेछ ।’ कुटपिटबाट मृत्यु भएपछि सबै मिलेर शव जलाइदिएको उनले बताए ।


जिल्ला प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकले अनुसन्धानका लागि कुटपिटमा संलग्न र मलामी गएका ४ महिलासहित ३१ जनालाई नियन्त्रणमा लिएको बताए । ‘हामीले सन्दिग्धलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।


प्रकाशित : श्रावण ९, २०७५ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?