डा. केसी जुनसुकै बेला अचेत हुन सक्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — डा. गोविन्द केसीको आमरण अनशन तत्काल नरोकिए उनलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी चिकित्सकले दिएका छन् । ‘हामी उनको स्वास्थ्यबारे जानकारी दिन नियुक्त आधिकारिक व्यक्ति होइनौं तर २–३ दिनमा अनशन रोकिएन भने उहाँ कोल्याप्स हुने स्थितिमा पुग्न सक्नुहुन्छ,’ त्रिवि शिक्षण अस्पतालका आईसीयू विभागसँग सम्बन्धित एक चिकित्सकले कान्तिपुरसँग भने, ‘उहाँको अत्यन्त जटिल अवस्थाबारे आधिकारिक व्यक्तिलाई हामीले जानकारी दिइसकेका छौं ।’

वार्ताको मध्यस्थता गरिरहेका प्रा. केदारभक्त माथेमा बुधबार आमरण अनशनको २६ औं दिन त्रिवि शिक्षण अस्पतालमा डा. गोविन्द केसीलाई भेट्दै । तस्बिर : कविन अधिकारी

उनका अनुसार डा. केसीले उपचार गराउन अस्वीकार गर्दै आएका छन् । ६१ वर्षीय डा. केसीले १५ औं आमरण अनशन सुरु गरेको बुधबार २६ दिन पुगेको छ । ‘जुनसुकै बेला अचेत बन्न सक्ने अवस्था छ,’ ती चिकित्सकले भने, ‘यस्तो भयो भने भविष्यमा दु:खद स्थिति निम्तिन सक्छ ।’ प्रा.डा. दिव्यासिंह शाहले समेत डा. केसीको अवस्था अत्यन्तै कमजोर भएको बताइन् ।

उनका अनुसार डा. केसीलाई बुधबार साँझसम्म तीनपटक बान्तासमेत भएको छ । मंगलबारदेखि नै मुटुको चालमा समेत गडबडी देखिएको छ । छाती दुखाइ एकदमै बढेको छ भने रगतमा सुगरको स्तरमा कमी छ । शरीरमा व्यापक मात्रामा इलेक्ट्रोलाइट, लवण आदिको असन्तुलनसँगै रक्तचापसमेत घटेको छ । यो अवस्थामा पुगेको बिरामीलाई तुरुन्तै आईसीयूमा राखेर उपचार गर्नुपर्ने डा. सिंहले बताइन् ।

प्रकाशित : श्रावण १०, २०७५ ०७:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मंगल ग्रहमा ताल

रोयटर्स

वासिङ्टन — अन्तरिक्षयानबाट राडार उपकरण प्रयोग गरी तस्बिर लिँदा मंगल ग्रहमा ताल फेला परेको छ । यससँगै वैज्ञानिकहरूले त्यहाँ जीवको अस्तित्व हुन सक्ने बलियो आधार मिलेको बताएका छन् ।

उक्त ताल १२ माइल (२० किलोमिटर) व्यासको छ । मंगल ग्रहको दक्षिणी ध्रुवीय इलाकामा पाइएको नुनको लेदोसहितको ताललाई बरफले ढाकेको छ ।

अनुसन्धान टोलीको नेतृत्व गरेका इटालियन नेसनल इन्स्टिच्युट फर एस्ट्रोफिजिक्सका वैज्ञानिक प्रोफेसर रोबेर्टो ओरोसेईका अनुसार तालको गहिराइ यति नै छ भन्ने यकिन हुन सकेको छैन । तैपनि अनुसन्धान टोलीले कम्तीमा एक मिटर गहिरो हुने आकलन गरेका छन् ।

प्रकाशित : श्रावण १०, २०७५ ०७:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्