अर्काे जोडी गैंडाको नाम जुर्‍योः– भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

रासस

रत्ननगर, चितवन — सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैंडाको पनि नाम जुराएको छ । सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए । 


ढकालले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा एसएमएस प्राप्त भएको बताए। गैंडा लैजानै मिति भने यकिन भएको छैन। हाल चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा रहेको ‘पिट बोमा’ (सानो खोर) मा ती दुई वटा गैंडा छन्। 'सकेसम्म छिटो लैजान हामीले भनिरहेका छौँ, साउनमा नभए भदौमा जान्छ,' राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख रामकुमार अर्यालले भने।

Yamaha


‘मितिनी’ लाई चितवन निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको हो। ‘सोल्टी’ चाहिँ अघिल्लो वर्ष बाढीले बगाएर भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको हो।

गत चैत २८ गते चीनलाई उपहार दिइएको एक जोडी गैंडाको नाम ‘रुपसी र भद्र’ राखिएको थियो। रुपसी र भद्र हाल चीनको चिमे लङसफारीमा रमाइरहेका ती गैंडाको रेखदेखमा रहेका वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामाले जानकारी दिए।

सरकारले हालसम्म १० देशलाई २६ गैंडा उपहार दिइसकेको छ। विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो। सरकारले एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्त अनुसार मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ।

भारतलाई सन् १९८४ मा चार तथा १९८७ र १९९० मा दुईचोटी गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिएको थियो। सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, बेलायत, जापान, अष्ट्रियामा दुई/दुई वटाका दरले १० गैंडा उपहार दिइयो।

थाइल्याण्ड, बर्मा र पाकिस्तानलाई पनि दुई÷दुई वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्यांकमा उल्लेख छ। पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैंडा छन्। नेपालमा गैंडाको संख्या ६४५ छ।

प्रकाशित : श्रावण १०, २०७५ १५:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अमेरिकी दूतावास अघिल्तिर बिस्फोट

एएफपी

बेइजिङ — बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले बिहीबार अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ ।

एपी

चिनीया प्रहरीका अनुसार, सामान्य क्षमताको उक्त बिस्फोटबाट अरु कसैलाई पनि क्षति पुगेको छैन । अमेरिकी भिसाका लागि आवेदन दिने व्यक्तिहरु अन्तर्वार्ताका लागि लाम लाग्ने स्थानमा यो बिस्फोट गराइएको छ ।

बिस्फोटमा संलग्न व्यक्ति चीनको मंगोलिया क्षेत्रका निवासी हुन् । प्रहरीका अनुसार जियाङ नामका ती व्यक्तिलाई लागेको चोट त्यति गम्भीर किसिमको भने छैन ।

बिस्फोट लगत्तै सामाजिक सञ्जालमा राखिएको भिडियोमा राजदूतावासको पर्खाल बाहिर धुँवा देखिएको छ, र त्यहाँ चिनीया सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

बेइजिङ नजिकैको बाहिरी इलाकामा यो घटना भएको छ, र यस क्षेत्रमा संयुक्तराज्य अमेरिका, भारत र इजरायल समेत धेरै मुलुकका दूतावासहरु रहेका छन् ।

प्रकाशित : श्रावण १०, २०७५ १५:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT