सुरु भो ‘पेपरलेस’ मन्त्रिपरिषद्

–प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद् बैठकलाई ‘स्मार्ट’ बनाउन ‘अटो मेसिन सिस्टम’ जोडेको छ
– मन्त्रीले बोक्न थाले ‘म्याकबुक’ 
अब्दुल्लाह मियाँ

काठमाडौँ — प्रधानमन्त्री कार्यालयले बिहीबारदेखि मन्त्रिपरिषद् बैठकलाई ‘स्वचालित प्रणाली’ बाट सञ्चालन गर्न सुरु गरेको छ । मुलुकलाई विद्युतीय शासन प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यअनुसार त्यसको सुरुवात मन्त्रिपरिषद् बैठकबाट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

सुरु भो ‘पेपरलेस’ मन्त्रिपरिषद्

त्यससँगै बिहीबारदेखि मन्त्रिपरिषद् बैठक ‘पेपरलेस’ बनेको छ ।


अघिल्ला बैठकमा प्रस्तावहरूको कागजी ठेली बोकेर बैठकमा छिर्ने मन्त्रीहरू बिहीबार भने नयाँ ‘म्याकबुक’ का साथ उपस्थित भएका थिए । त्यसअघि प्रधानमन्त्री केपी ओलीका सूचना प्रविधिविज्ञ अस्गर अलीलगायतले मन्त्रीहरूलाई म्याकबुकबारे प्रशिक्षणसमेत दिएका थिए । ‘नयाँ म्याकबुक पाउँदा मन्त्रीज्यूहरू खुसी देखिनुुहुन्थ्यो,’ विज्ञ अलीले भने, ‘अभ्यस्त नभएकालाई हामी सिकाउँछौं ।’ उनका अनुसार धेरैले ‘म्याकबुक एयर’ र केहीले ‘म्याकबुक प्रो’ लिएका छन् ।


मन्त्रिपरिषद् कार्यालयले समान मूल्यको म्याकबुक खरिद गर्न सबै मन्त्रालयलाई एक महिनाअघि नै परिपत्र गरेको थियो । सबै मन्त्रीको म्याकबुकको खर्च प्रधानमन्त्री कार्यालयले बेहोरेको छ ।


प्रवक्ता कुँवरका अनुसार मन्त्रिपरिषदमा पेस हुने विषयवस्तु र छलफललाई चुस्त, सटिक र प्रभावकारी बनाउन बैठककक्षमा ‘अटोमेसिन सिस्टम’ जडान गरिएको हो । ओलीको सुझावअनुसार प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखाले मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने प्रणाली विकसित गरेको हो ।


प्रधानमन्त्री कार्यालय र मुख्यसचिवले सबै मन्त्रीलाई एकैपटक एजेन्डा र बैठकबारे जानकारी पठाउन सकिने गरी ‘सफ्टवेयर’ बनाइएको छ । सबै एजेन्डाका कपी, प्रतिवेदन र प्रस्तावसमेत म्याकबुक (ल्यापटप) मै हुने भएकाले छलफल गर्न सजिलो हुने विश्वास गरिएको छ ।


बैठककक्षमा वाइफाई जोडिएको छ जसले गर्दा मन्त्रीहरूले चाहेको विषयवस्तुबारे तत्कालै सर्च गरेर अध्ययन गर्न थप सहज भएको छ । कुँवरका अनुसार अबदेखि सबै मन्त्रीलाई अघिल्लो दिन नै बैठकका विषय इमेल गरिनेछ । ‘मन्त्रीका म्याकबुकमै बैठकका एजेन्डा हुनेछन्,’ उनले भने, ‘त्यही हेरेर मन्त्रीले छलफलमा भाग लिनेछन् ।’


यसअघि बैठक हुनु एक दिनअघि मन्त्रीलाई बैठकको विषयवस्तुका कागजका फाइल, प्रस्ताव र पत्र मन्त्रालयमै गएर दिने गरिन्थ्यो । त्यो पद्धति भद्दा र मानव जनशक्तिसमेत बढी खर्च भएको पाइएपछि बैठकलाई स्मार्ट बनाइएको हो । पेपरलेस बैठकको सुरुवातसँगै जनशक्ति र समयसमेत कटौती भएको छ । ‘अटोमेसिन सिस्टम’ जडानपछि मन्त्रीहरूका लागि पत्र र बैठकका एजेन्डा बोकेर मन्त्रिपरिषद् कार्यालयका कर्मचारी सबै मन्त्रालय धाउनुपर्नेछैन ।


मन्त्रिपरिषद्मा महत्त्वपूर्ण र विशिष्ट विषयमा मन्त्रीहरूलाई बैठककक्षमा प्रोजेक्टरमार्फत प्रस्तुतिसमेत दिइनेछ । त्यसो हुँदा विषयवस्तुबारे बुझ्न र छलफलमा भाग लिन सजिलो हुने अधिकारीहरूको विश्वास छ । ‘अहिलेजस्तो कागजका ठेली पल्टाएर हेर्नु नपरोस् र बैठक पनि चुस्त होस् भन्ने हो,’ कुँवरले भने । एउटा बैठकका विषयवस्तु प्रिन्ट गरेर दिँदा एक जना मन्त्रीलाई कम्तीमा पनि एक सय पेजसम्म दिनुपर्थ्यो । त्यो हिसाबले हरेक बैठकमा २ हजार पेजसम्म कागज प्रिन्ट हुने गरेको थियो ।

प्रकाशित : श्रावण १०, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?