अब सबै कर्मचारीको अवकाश उमेर ६० वर्ष

छिट्टै विधेयक मन्त्रिपरिषद्‌मा पेस गर्छौं : सामान्य प्रशासन सचिव 
कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती, स्वास्थ्य सेवा र संसद्सहित सबै सेवाका कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने तयारी गरेको छ ।  

Yamaha

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले ‘संघीय निजामती कर्मचारी ऐन विधेयक २०७५’ मा सबै सेवाका कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव गरिएको जानकारी दिए । उनले विधेयकको मस्यौदा कानुन मन्त्रालयबाट फिर्ता आएलगत्तै मन्त्रिपरिषद् पेस गरिने बताए ।

‘निजामतीसहित सबै सेवाका कर्मचारीको अवकाश उमेर समान गर्ने सुझाव सबैतिरबाट आएकाले विधेयकमा ६० वर्ष कायम गर्ने प्रस्ताव गरिएको हो,’ उनले कान्तिपुरसित भने ।

अर्थ मन्त्रालय, लोकसेवा आयोग र संघीय प्रशासनिक पुन:संरचना समितिले निजामती र अन्य सेवाका कर्मचारीमा समानता ल्याउन अवकाश उमेर ६० वर्ष कायम गर्न सुझाव दिएका थिए ।

अर्थ मन्त्रालयले ‘संघीय निजामती कर्मचारी ऐन विधेयक २०७५’ मा कर्मचारीको उमेर हद ६० वर्ष कायम गर्न असार १७ मा सामान्य प्रशासन मन्त्रालयलाई सुझाव दिएको थियो । अर्थले सरकारमाथि बर्सेनि थपिँदै गएको निवृत्तिभरण (पेन्सन) को बोझ, औसत आयुमा भएको वृद्धि, सबै सेवा र तहमा देखिएको अवकाश प्राप्त उमेरको विविधता र नयाँ संरचनामा अनुभवी कर्मचारी आवश्यकतालाई समेत दृष्टिगत गरी अवकाश उमेर ६० वर्ष कायम गर्न सामान्य प्रशासन मन्त्रालयलाई सुझाव दिएको थियो ।

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार काशीराज दाहाल अध्यक्ष रहेको संघीय प्रशासनिक पुन:संरचना समितिले नेपालीको औसत आयु बढेको, अनुभवी जनशक्ति गुम्ने, पेन्सनको व्ययभार बढ्ने र सबै सेवाका कर्मचारीको उमेर हदमा एकरूपता ल्याउनुपर्ने तर्क गर्दै अवकाश उमेर ६० वर्ष कायम गर्न सुझाएको थियो ।

लोकसेवा आयोगले पनि सबै समूहका कर्मचारीको अवकाश उमेरमा एकरूपता ल्याउन ६० वर्ष कायम गर्नु उपयुक्त हुने सुझाव दिएको थियो । अहिले स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीको अवकाश उमेर ६० वर्ष छ ।

सामान्य प्रशासन मन्त्रालयले अर्थको सुझावलाई समेत ध्यानमा राखेर दोस्रोपटक मस्यौदा राय–सुझावका लागि कानुन मन्त्रालयमा पेस गरेको थियो ।

यसअघि सामान्यले कानुन मन्त्रालयमा सहमतिका लागि पेस गरेको मस्यौदामा निजामती कर्मचारीको अवकाशको उमेर ५८ नै कायम गर्ने प्रस्ताव गरेको थियो । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भने ५८ वर्ष कायम गर्नुपर्ने पक्षमा थिए ।

सूचना प्रविधि, ज्ञान, भाषामा पोख्त नयाँ पुस्तालाई निजामती सेवाप्रति प्रोत्साहित गर्न उमेर हद बढाउन नहुने तर्क पण्डितको थियो ।

प्रकाशित : श्रावण १०, २०७५ २१:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

श्रीमतीलाई टेन्सन दिन अपहरणको नाटक !

जनकराज सापकोटा

काठमाडौँ — एकाबिहानै आएको एउटा सूचनाले प्रहरी परिसर काठमाडौंमा हल्लीखल्ली मच्चाइदियो । टोखा क्षेत्रबाट एक नागरिकले फोन गरेर आफन्त तनहुँ स्थायी घर भई नयाँ बसपार्कमा विद्युतीय सामानको पसल गर्ने शिवराज घिमिरे अपहरणमा परेको बताए ।

सूचना दिनेका अनुसार टोखास्थित डेराबाट कामका लागि निस्किएका शिवराज आफैंले आफू अपरहणमा परेको, अपहरणकारीले लगातार कुटिरहेको बताउँदै फोन गरेको भन्दै यथाशक्य उद्धारका लागि प्रहरी गुहारे। राजधानीको व्यस्त बसपार्क क्षेत्रबाट एकाबिहान भएको घटनाले प्रहरीलाई पनि झस्काइदियो।

सूचना पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंले सादा पोसाकका ५ प्रहरीलाई अपहरणकारी खोजीमा परिचालन गर्‍यो। परिसरकै आदेशमा बसपार्क प्रभागका प्रहरी टोली, प्रहरी वृत्त महाराजगन्जबाट डिएपीसहतिको टोली पनि खोजी कार्यमा परिचालित भए। अपहरितको ठेगाना पत्ता लगाउन प्रहरीले उनको मोबाइल लोकेसन पनि ट्रेस गर्‍यो। अपहरित शिवराजको मोबाइल लोकेसन काँडाँघारी हुँदै काभ्रेको पनौतीतिर सोझिएको देखियो। लगत्तै प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुखलाई फोन गरी खोजीमा टोली परिचालित गरायो। प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले कान्त्पिुरसँग भने, ‘दिनभर हामी खोजी कार्यमा जुटिरह्यौं।’

अपहरित व्यक्ति फेला नपरेर निराश बनेको प्रहरीले साँझ ढल्केपछि सूचना पायो। अपहरित व्यक्ति स्वयम्भूस्थित शिवालय मन्दिर नजिक छन् भन्ने। प्रहरी टोली त्यत्तै सोझियो। मन्दिरको छेउमा २५ वर्षीय शिवराज भेटिए। त्यसपछि रहस्य खुल्यो, न उनी अपहरणकारीबाट कुटिएका थिए, न साँच्चिकै अपहरणमा परेका थिए। प्रहरीले केरकार गरेपछि उनले श्रीमतीसँग बारम्बार झगडा हुने गरेकाले उनैलाई टेन्सन दिन अपहरणको नाटक गरेको बताए। शिवराजले आफू बस चढेर पनौती पुगी दिनभर उतै घुमेर फर्केको बताए।

परिसरका एसएसपी पोखरेलले भने, ‘नक्कली अपहरणको नाटकले हामीलाई दिनभर तनाव दियो।’

प्रकाशित : श्रावण १०, २०७५ २१:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT