कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कांग्रेसमा विवाद: क्रियाशील सदस्यता कारक

क्रियाशील सदस्यता वितरणमा शीर्ष नेताहरूको चासो
विधि र निश्चित मापदण्डका आधारमा सदस्यता दिन माग
डेढ लाखभन्दा बढी सदस्य थपिँदै
कुलचन्द्र न्यौपाने

काठमाडौँ — नियमित समयमै भए कांग्रेसको १४ औं महाधिवेशन अबको २० महिनामा हुनेछ । तर, भावी नेतृत्व लिने महत्त्वाकांक्षाका साथ नेताहरू आन्तरिक रणनीतिमा अहिल्यैदेखि होमिएका छन् । सतहमा नेतृत्वबीचको टकराव दुई कित्तामा देखिन्छ ।

कांग्रेसमा विवाद: क्रियाशील सदस्यता कारक

संस्थापन पक्षको कित्तामा सभापति देउवा स्वयं छन् । भावी नेतृत्वको पूर्वाभ्यासका रूपमा उनले आफ्नो गुट क्रियाशील बनाउन थालेका छन् । उनलाई चुनौती दिन त्यहाँभित्र अर्को नेता छैनन् । अर्को कित्ताको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । तर, त्यहाँभित्र नेतृत्वको दाबी गर्ने उनी एक्ला छैनन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलादेखि महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला उनका लागि चुनौती छन् ।

१३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा चुनाव भयो । त्यतिबेला सिटौला देउवातिर लागे । सिटौलाकै कारण देउवा पार्टी नेतृत्वमा पुगे । तिनै सिटौला यतिबेला देउवालाई जसरी पनि नेतृत्वबाट अलग गर्नुपर्ने अभियानमा छन् । सिटौलाकै शब्दमा ‘ब्ल्याङ्क चेक’ मा हस्ताक्षर गरेर दुई वर्षसम्म पार्टी चलाउन सुम्पियो । आम निर्वाचनसम्म आइपुग्दा देउवाबाट त्यसको चरम दुरुपयोग देखे र उनी संस्थापन कित्ताबाट अलग भए ।

नेतृत्व कसले लिने भन्ने निक्र्योल नभए पनि देउवालाई १४ औं महाधिवेशनबाट पूर्णविराम लगाउन संस्थापनइतर पक्ष एक ठाउँमा उभिएको छ । दुई पक्षबीच नेतृत्वको यही टकरावका कारण क्रियाशील सदस्यता वितरणमा सबैको ‘अर्जुनदृष्टि’ परेको छ ।

कांग्रेसमा दुई सदस्यीय प्रणाली छ( साधारण र क्रियाशील । पछिल्लो समय साधारण सदस्यताको अस्तित्व छैन । अहिले मुलुकभर कांग्रेसका ५ लाख क्रियाशील सदस्य छन् । १३ औं महाधिवशेनमा टुंगो नलागेका डेढ लाख सदस्य पनि १४ औं महाधिवेशनमा मतदाता बन्दै छन् । नयाँ वितरण गर्दा क्रियाशील सदस्यता अझ बढ्नेछ ।

विधानले महाधिवेशनको ६ महिनाअघि सदस्यता लिएकालाई मताधिकार दिएको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको विवाद मिलाउनै एक वर्ष नै बित्छ । १३ औं महाधिवेशनमा ११ महिना लागेको थियो । त्यति अवधिमा पनि करिब डेढ लाख क्रियाशील सदस्यता टुंगिएको थिएन । उनीहरू मतदानबाट वञ्चित भए । १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणको बेला अब सुरु हुन लाग्यो । त्यसैले नेताहरूको ‘अर्जुनदृष्टि’ अहिले यसैमा छ । किनकि यही सदस्यता वितरणले जिल्लादेखि केन्द्रसम्मको नेतृत्व कसको पोल्टामा जाने भन्ने निर्धारण गर्छ ।

क्रियाशील सदस्यता किन महत्त्वपूर्ण ?
क्रियाशील सदस्य कांग्रेसका जरा हुन् । यही जरा हल्लिँदा कांग्रेस केन्द्रमा कम्पन जाने गर्छ । क्रियाशील सदस्यले प्रत्येक गाउँ र नगर कार्यसमितिका पदाधिकारीसहित क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । क्षेत्रीय प्रतिनिधि नै जिल्ला र क्षेत्र अधिवेशनका मतदाता हुन्छन् ।

महत्त्वपूर्ण त, उनीहरूले नै केन्द्रीय महाधिवेशनमा मताधिकार प्राप्त महाधिवेशन प्रतिनिधिकै चयन गर्छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट पार्टीको समावेशी सिद्धान्तअनुसार ११ जना महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । यिनैबाट पार्टीको केन्द्रीय नेतृत्व चयन हुन्छ । क्रियाशील सदस्य केन्द्रीय नेतृत्व चयनसँग जोडिने भएकाले नेताहरूबीच आआफ्नो गुट बलियो बनाउने रसाकस्सी यहीँबाट सुरु हुन्छ ।

यसरी हुन्छ विवाद
क्रियाशील सदस्यताको फाराम केन्द्रले जिल्लामा पठाउँछ । जिल्लाले क्षेत्र र क्षेत्रले गाउँ र नगरमा पठाउनुपर्छ । सदस्यता भरिसकेपछि तल्लो निकायदेखि केन्द्रमा पठाउनुपर्छ । अन्तिम निर्णय केन्द्रले गर्छ । तर, यो विधि र प्रक्रिया केन्द्रीय नेताहरूबाटै उल्लंघन हुन्छ ।

आफ्नो गुटलाई बलियो बनाउन नेताहरू क्रियाशील सदस्यताबाटै झेली गर्छन् । १३ औं महाधिवेशनमा क्रियाशील सदस्यता छानबिन गर्न बनेको समितिका सदस्य रामकृष्ण यादवका अनुसार केन्द्रदेखि पार्टीका तल्लो तहसम्म आआफ्नो स्वार्थमा क्रियाशील सदस्यता वितरण गर्ने होड हुन्छ । जस्तो केन्द्रीय सभापतिले जिल्लामा आफ्नो अनुकूलको नेतृत्व भएन भने सिधै आफू अनुकूलका क्षेत्र वा गाउँपालिकालाई क्रियाशील सदस्यताको फाराम दिने गर्छन् ।

जिल्लामा पुग्ने फाराममाथि जिल्ला सभापतिले पनि त्यस्तै झेली खेल खेल्छन् । जिल्ला सभापतिले आफू र आफ्नो गुटलाई बलियो बनाउन त्यही शैली अपनाउँछन् । यादव भन्छन्, ‘जिल्ला सभापतिले क्षेत्रीय सभापति आफ्नो अनुकूलको भए उसैमार्फत, नभए सिधै गाउँपालिकाका अध्यक्ष या विश्वासिलो पदाधिकारीलाई दिने गर्छन् । फाराम भर्दा मात्रै होइन, जिल्लाबाट पठाउँदा पनि आफ्नो प्रतिकूल सदस्यको फाराम छाँटकाँट गर्ने काम हुन्छ ।’

क्रियाशील सदस्यता वितरणमै शक्तिको होड चल्ने भएकाले संस्थापनइतर पक्ष बढी सशंकित छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहित युवा नेताको एउटा समूहले केन्द्रीय कार्यसमितिको बैठकमा लिखित प्रस्ताव राखेर विधिसम्मत प्रक्रियाबाट क्रियाशील सदस्यता वितरण र नवीकरण गर्नुपर्ने माग गरेका छन् । ‘कांग्रेसलाई कांग्रेसकै रूपमा राख्न जो सही क्रियाशील कार्यकर्ता हुन्, तिनको सूची तयार गरी उनीहरूलाई मात्र क्रियाशील सदस्यता फाराम भर्न र नवीकरण गर्न लगाउनुपर्छ,’ पौडेलको प्रस्ताव छ ।

युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेलसहितका युवाको समूहले भने क्रियाशील सदस्यता खुला गर्नुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन् । गत चैतको केन्द्रीय कार्यसमितिको बैठकमै अनलाइनबाटै फाराम भर्न सक्ने गरी खुला गरिनुपर्ने प्रस्ताव उनीहरूले राखेका हुन् । ‘भन्दा मास बेस पार्टी भन्ने तर सदस्यता वितरण क्याडर बेसमा गर्ने ? यसलाई सच्याउनुपर्छ,’ कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘पार्टीले सदस्यता लिने निश्चित सर्त बनाउनुपर्छ र त्यसलाई स्वीकार गर्नेजति सबैलाई दिने व्यवस्था गर्नुपर्छ ।’

यसको अर्थ सदस्य लिनासाथ सबैलाई मताधिकार हुन्छ भन्ने होइन । सुरुको चरणमा नयाँ सदस्य पार्टीको वैचारिक र सांगठनिक गतिविधिमा संलग्न हुन पाउँछन् । तर नेतृत्व चयन प्रक्रियामा उनीहरू एकैचोटि मतदाता बन्न पाउँदैनन् ।

प्रकाशित : श्रावण ११, २०७५ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?