फिरौती लिएपछि बालकको हत्या

कान्तिपुर संवाददाता

बारा — जितपुर सिमरा उपमहानगरपालिका–७, बाट डेढ महिनाअघि अपहरित ९ वर्षीय बालक अंकित गुप्ताको हत्या भएको खुलेको छ । उनी गत जेठ २२ मा घरछेउ साथीको घरमा खेल्न गएका बेला अपहरणमा परेका थिए ।

फिरौती लिएपछि बालकको हत्या

हत्या घटनाले परिवार शोकमा डुबेको छ । ‘अपहरण मुक्त गराउन न भारतीय प्रहरीले साथ दियो, न नेपाल प्रहरीले,’ अंकितका बाबु ललनले भने, ‘साढे ६४ लाख भारु फिरौती तिर्दा पनि छोरा फिर्ता आएन ।’

बालकको अपहरण गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको छ । एक जनाको खोजी भइरहेको छ । पक्राउ परेका व्यक्तिको बयान र बालकको घाँटीमा लगाइएको हनुमान मालाको पहिचानका आधारमा हत्या नै भएको खुलेको हो । पक्राउ परेका व्यक्तिले पर्साको जगरनाथपुरस्थित नहरछेउमा बालकलाई हत्या गरी फालिएको बयान दिएका छन् । बयानअनुसार गत साउन ३ गते त्यहाँ खोजतलास गर्दा बालकको शव फेला परेको थियो । थप पुष्टि गर्न हाड र मुखको बंगारा झिकेर डीएनए परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

पर्साको पोखरिया नगरपालिका–७ घर भई वीरगन्ज महानगरपालिका–२४ रानीघाटमा बस्दै आएका २२ वर्षे रामप्रवेश साह गोढ, उनकी भाउजू पर्ने पार्वतीदेवी गिरी र भारत बेतियाका सुरज गिरीलाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले बताए ।

रामप्रवेशलाई ७ गते घरबाटै ३ लाख ३६ हजार भारतीय रुपैयाँ र अपहरणमा प्रयोग गरिएको मोटरसाइकलसहित पक्राउ गरिएको छ । बारा प्रहरीले पक्राउ परेका तीनै जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

प्रकाशित : श्रावण ११, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?