कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बोलपत्रबिनै प्रधानमन्त्रीको कार्यक्रम उत्पादन जिम्मा निजी कम्पनीलाई

प्रधानमन्त्री कार्यालयले सरकारी खर्चमा कार्यक्रम उत्पादनको जिम्मा कथा नेपाललाई दिएको हो
जनकराज सापकोटा

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको उत्पादन र सञ्चालन जिम्मा निजी कम्पनीलाई दिएको छ । कार्यालयले सरकारी खर्चमा कार्यक्रम उत्पादनको जिम्मा बोलपत्र आह्वानबिनै कथा नेपाललाई दिएको हो ।

बोलपत्रबिनै प्रधानमन्त्रीको कार्यक्रम उत्पादन जिम्मा निजी कम्पनीलाई

केपी ओलीको पहिलो प्रधानमन्त्रित्वकालमा सुरु भएको यो कार्यक्रम उत्पादन र प्रसारण यसअघि नेपाल टेलिभिजनले गर्दै आएको थियो ।


कार्यक्रम कथा नेपालका प्रबन्ध निर्देशक मनोज पाण्डेले चलाइरहेका छन् । प्रधानमन्त्रीको समृद्धिको मुद्दालाई न्याय गर्न सकिने ठानेर आफूहरूले राखेको प्रस्ताव प्रधानमन्त्री कार्यालयले स्वीकार गरेको पाण्डेले बताए । कार्यक्रम उत्पादन, प्रसारण सबै आफ्नै खर्चमा गर्ने भएकाले प्रधानमन्त्री कार्यालयले बोलपत्रबिनै आफूहरूलाई जिम्मेवारी दिएको उनले दाबी गरे । उनले सबै खर्च आफैं व्यहोर्ने बताए पनि कार्यक्रम प्रसारण र नेपाल टेलिभिजनको स्टुडियो प्रयोगबापतको खर्च प्रधानमन्त्री कार्यालयले बेहोर्ने व्यवस्था मिलाइएको छ ।


नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले करिब ४५ मिनेट लामो समय प्रधानमन्त्री कार्यालयले पैसा तिरेर लिएको बताए । ‘प्रसारण शुल्क र स्टुडियोको प्रयोगबापतको शुल्क प्रधानमन्त्री कार्यालयले नै तिर्छ,’ उनले भने ।


नेपाल टेलिभिजन व्यापार महाशाखाका अनुसार प्रधानमन्त्री कार्यालयले प्रसारण व्यवस्था मिलाउनू भन्दै पत्राचार गरेपछि महाशाखाले एक विज्ञापन एजेन्सीले पाइरहेको समय सारेर उक्त समय उपलब्ध गराएको हो । उक्त समयमा एक अंक कार्यक्रम प्रसारणबापत १ लाख ४० हजार रुपैयाँ र स्टुडियो प्रयोग गरेबापत ७५ हजार रुपैयाँ शुल्क लाग्ने व्यहोराको पत्र पनि महाशाखाले प्रधानमन्त्री कार्यालयलाई पठाएको थियो । तर, कार्यालयले तोकिएजति पैसा दिने/नदिने टुंगो लागिनसकेको एक कर्मचारीले बताए ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले कार्यक्रम सञ्चालक मनोज पाण्डे मन्त्रिपरिषदको विज्ञ टोलीको सदस्य भएको बताए । ‘मन्त्रिपरिषदको सहकार्यमै उहाँले कार्यक्रम उत्पादन गर्नुभएको हो,’ अर्यालले भने । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले भने अर्यालले भनेजस्तो कुनै विज्ञ टोली नबनेको बताए । ‘जनतासँग प्रधानमन्त्रीसँग’ कार्यक्रमबारे सोध्दा उनले यो कार्यक्रमको प्रसारण खर्च प्रधानमन्त्री कार्यालयले बेहोर्ने बताए । ‘मन्त्रिपरिषद्ले पाण्डेलाई प्रधानमन्त्रीको प्रसारण तथा उत्पादन विज्ञ तोकेको छ, त्यसैले उक्त कार्यक्रमको जिम्मा उहाँले पाउनुभएको होला,’ कुँवरले भने । यो कार्यक्रम उत्पादन तथा प्रसारणका लागि सरकारले सार्वजनिक आहवानलगायत प्रक्रिया पनि पूरा गरेको छैन ।


एक अंक मात्रै प्रसारण भएको उक्त कार्यक्रम नेपाल टेलिभिजनका अलावा निजी क्षेत्रका एपी वान, हिमालय, एबीसी र जनता टेलिभिजनबाट प्रसारण भइरहेको छ । कार्यक्रम छायांकन नेपाल टेलिभिजनभित्रै भए पनि स्टुडियो निर्माण भने कथा नेपालले नै गरेको हो । कार्यक्रमको बीचमा प्रसारण हुने विज्ञापनबाट प्राप्त हुने लाभ पनि कार्यक्रम उत्पादक कम्पनीले नै लिने गरेको छ ।


ओलीको पहिलो प्रधानमन्त्रित्वकालमा यो कार्यक्रम ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ शीर्षकमा रवि लामिछानेले र पुष्पकमल दाहालको प्रधानमन्त्रित्वकालमा तत्कालीन सभामुख ओनसरी घर्ती मगरका प्रेस विज्ञ बबिन शर्माले चलाएका थिए ।

प्रकाशित : श्रावण ११, २०७५ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?