कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कहिले खुल्छ मलेसिया ?

दूतावासबाटै भिसा लगाइदिन नेपालको आग्रह
होम कार्की

काठमाडौँ — दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । यतिखेर यी एयरलाइन्सको व्यापार बिदामा आएका कामदारले मात्रै धानिदिएका छन् । 

कहिले खुल्छ मलेसिया ?

जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । बिदामा फर्केका पुराना कामदारले पुन: श्रमस्वीकृति पाइरहेका छन् । नेपाली श्रमिकको सबभन्दा ठूलो रोजगारी गन्तव्य मलेसिया कहिले खुल्छ त ? यसको ठ्याक्कै जवाफ न नेपाल सरकारले दिएको छ न त मलेसिया सरकारले ।


किन रोकियो ?

श्रम मन्त्रालयले मलेसियामा नयाँ कामदार पठाउन रोक्नुका मुख्य दुई कारण छन् । पहिलो, कामदार पठाउन मलेसियाले नेपालसँग अनुमति नलिई एकतर्फी संयन्त्र स्थापना गर्नु । दोस्रो, ती संयन्त्रले श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क लिनु ।


मन्त्रालयले मलेसियामा नयाँ कामदार पठाउन रोक्नुका मुख्य दुई कारण छन् । पहिलो, कामदार पठाउन मलेसियाले नेपालसँग अनुमति नलिई एकतर्फी संयन्त्र स्थापना गर्नु । दोस्रो, ती संयन्त्रले श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क लिनु ।

जेठ १ सम्म मलेसियाका तर्फबाट स्थापित भीएलएन, वानस्टेप सेन्टर, माइग्राम्स, इमिग्रेसन क्लियरेन्स सिस्टम र बायोमेडिकलमार्फत स्वास्थ्य परीक्षण हुन्थ्यो । मलेसिया सरकारले दिएको ‘कलिङ भिसा’ राहदानीमा लगाउन यी ५ तह पार गर्नुपथ्र्यो । यी सबै पार गर्दा सात सय रुपैयाँको भिसा शुल्क १९ हजार ३ सय २३ रुपैयाँ पुग्थ्यो । श्रम मन्त्रालयले यसलाई कामदारमाथि हुने लुट ठहर गरी नियन्त्रणको कदम चाल्यो । यी संयन्त्रको स्थापना तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले गरिदिएका हुन् । उनले बायोमेडिकलमार्फत स्वास्थ्य परीक्षण गर्न अनुमति दिएपछि मलेसियाका अरू संयन्त्र खुल्न थाले ।


‘केही संस्थाले मलेसिया जाने श्रमिकबाट गैरकानुनी तवरले शुल्क उठाए,’ श्रममन्त्री गोकर्ण विष्ट भन्छन्, ‘यस्तो कार्य सरकारलाई मान्य हुँदैन ।’


स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न २ सय ३७ स्वास्थ्य संस्थालाई तोकेकोमा ३९ वटाले मात्रै काम थाले, प्रतिकामदार ४५ सय रुपैयाँ शुल्क लिएर । स्वास्थ्य परीक्षणकै लागि सफ्टवेयरमा नाम दर्ता गर्न माइग्राम्सका नाममा १२५ मलेसियन रिंगिट (करिब ३४ सय रुपैयाँ) पनि कामदारसँग लिन थालियो । पासपोर्ट संकलन गरी नेपालस्थित मलेसियन दूतावाससम्म पुर्‍याउने कामका लागि वान स्टप सेन्टर (ओएससी) ले २८ सय उठाउन थाल्यो । कामदारको इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) का नाममा ३२ सय र भिसा प्रक्रियाबापत अरू ३२ सय । सबै गर्दा भ्याटसहित १९ हजार ३ सय २३ रुपैयाँ तिर्नुपर्ने भयो ।


श्रम मन्त्रालयका अनुसार गैरकानुनी कार्य गर्ने यस्ता ३४ संस्थाका ४४ व्यक्तिमाथि ३ अर्ब १० करोड ५५ लाख बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको छ ।


कहिले खुल्ला ?

नेपालले कामदार पठाउन रोकेपछि मलेसियाका रोजगारदाता कम्पनी खुलाउन लागिपरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष रोहन गुरुङ भन्छन्, ‘रोजगारदाताले झन्डै १५ हजार नेपाली कामदारको भिसा पठाइसकेका छन् । कामदार लैजाने वातावरण बनाउन मलेसिया सरकारलाई दबाब दिइरहेका छन् ।’


मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरन जुलाई १९ तारिखमा कार्यवाहक राजदूत कुमार खरेललाई भेट्न नेपाली दूतावास पुगेका थिए । छलफलमा मन्त्री कुलासेगरनले नेपाली कामदारले भोग्दै आएका समस्या व्यवस्थापन गर्न मलेसिया सरकार तयार रहेको बताए । ‘मन्त्रीले किन नेपालले कामदार पठाउन बन्द गर्‍यो ? ती संयन्त्रमाथि किन कारबाही भयो भन्नेबारे केही सोध्नुभएन ?,’ खरेलले भने, ‘हामीले ती संयन्त्रले कामदारसँग चर्को मूल्य लिएको र अदालतमा मुद्दा चलिरहेको जानकारी दियौं ।’


खरेलका अनुसार दूतावासले मलेसियाका उच्च श्रम अधिकारीसँग पनि छलफल गरेको छ । छलफलमा अहिलेका संयन्त्र हटाएर बेग्लै व्यवस्था गर्ने विषय उठेको थियो । ‘भिसा शुल्क र विभिन्न निजी कम्पनीसम्बन्धी हालको व्यवस्थापनमा पुनर्विचार हुन सक्नेछ,’ त्यहाँको मानव संसाधन मन्त्रालयका उच्च अधिकारीले भनेका थिए । सहायक उपसचिव बास्सा विन बाछिकले यसबारे मानव संसाधन र गृह मन्त्रालयका अधिकृतबीच छलफल भएको बताए । मलेसियाको भिसासम्बन्धी निर्णय गृह मन्त्रालयले गर्छ । त्यहाँका गृहमन्त्री बिरामी बिदामा भएकाले यो विषय टुंगिन केही समय लाग्ने देखिएको छ ।


मलेसियाका सांसदले समेत विदेशी कामदारमाथि लुट भइरहेको प्रति छानबिन गर्न सरकारलाई दबाब दिइरहेका छन् । डेमोक्रेटिक एक्सन पार्टी (डीएपी) की सांसद कस्तुरी पट्टोले पूर्ववर्ती सरकारले बनाएको संयन्त्रबाट नेपाली कामदारमाथि आर्थिक लुट भएको भन्दै तत्काल छानबिन अघि बढाउन गृह मन्त्रालयसमक्ष माग गरेकी थिइन् । ‘नेपाल सरकारले आफ्ना कामदारमाथि ठगी भएपछि मलेसिया बन्द गरेको हुन सक्छ,’ उनले भनेकी छन् । दूतावासका अनुसार बिहीबार पनि मलेसियाको मानव संसाधन र गृह मन्त्रालयबीच यसबारे बैठक भएको थियो । श्रम मन्त्रालयले भने नेपाली कामदारलाई ठग्ने संयन्त्र हटाउन मलेसियाले कदम नचालेसम्म नपठाउने बताएको छ ।


नेपालले अघि सारेको विकल्प

नेपालले कामदारलाई आर्थिक भार नपर्ने गरी काठमाडौंमा रहेको मलेसियाली दूतावासले राहदानी बुझेर भिसा लगाइदिने व्यवस्था गर्न सक्ने विकल्प अघि सारेको छ । यस्तो प्रस्ताव मलेसिया सरकारसमक्ष राखिसकिएको कार्यवाहक राजदूत खरेलले बताए । ‘हाललाई सिधै दूतावासबाट भिसा दिँदा कामदार र उनीहरूका रोजगारदाता दुवैको कल्याण हुने हामीले बताएका छौं,’ उनले भने । मलेसिया यो विकल्पमा छलफल गर्न तयार देखिएको छ ।


गृह र मानव संसाधन मन्त्रालयबीच समन्वयात्मक बैठकमा यसबारे छलफल हुने बास्साले बताएका छन् । अहिले मलेसियामा वैध बाटो पुगेका ३ लाख ८४ हजारजति नेपाली कार्यरत छन् । कागजात नभएकाको संख्या पनि जोडदा ५ लाखभन्दा बढी हुने अनुमान छ । २००१ अघिदेखि नै नेपाली कामदार मलेसिया जान थालेका हुन् ।

प्रकाशित : श्रावण ११, २०७५ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?