चुम्लिङटार दुर्घटनाका मृतक सबैको सनाखत 

एकै घरका आमा, छोरा र छोरीको मृत्यु
रमेशकुमार पौडेल

चितवन — शुक्रबार दिउँसो पृथ्वीराजमार्गको इच्छाकमना गाउँपालिका–३ कुरिनटारनजिक चुम्लिङटारमा बस दुर्घटना हुँदा मृत्यु भएका सबै ८ जनाको सनाखत भएको छ । शुक्रबार अवेलासम्म ६ जनाको मात्रै सनाखत भएको थियो ।

शनिबार बिहान तनहुँ भानु–५ की १८ वर्षीया कविना श्रेष्ठ र १३ महिनाका शिशु रविन्द्रबहादुर रानामगर रहेको चितवन प्रहरीले जनाएको छ । उनी धादिङ निलकण्ठ नगरपालिका–६ सुनौलो बजारका हुन् । रविन्द्रकी आमा २१ वर्षीया रमिता रानामगर घाइते छन् । उनको भरतपुरको मनकामना अस्पतालमा उपचार भइरहेको छ । अस्पताल प्रशासनले उनको अवस्था पनि गम्भीर भएको जनाएको छ ।

Yamaha

कविना श्रेष्ठकी आमा र दाजुको पनि दुर्घटनामा ज्यान गएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनाका मृतकमध्ये ४७ वर्षीया कमला श्रेष्ठ कविनाको आमा र २७ वर्षका सुमित श्रेष्ठ उनको दाजु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट पोखरा हुँदै स्याङ्जा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस ना ५ ख ७४०९ नम्बरको ट्रकसँग शुक्रबार मध्यान्ह ११ बजेर ५० मिनेट जाँदा ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा पाल्पा बेगनास कालिकाका अर्जुन न्यौपाने, काठमाडौंका रबिन गुरुङ, तनहुँ केशवटारका बाबुराम तिवारी, भारत मोतिहारी बेतियाका फिरोज मियाँको पनि मृत्यु भएको छ ।

घाइतेमध्ये १० जनाको भरतपुरमा, ५ जनाको पोखरामा एकजनाको काठमाडौं र एक जनाको धादिङ मलेखुमा उपचार भएको चितवन प्रहरीले जनाएको छ ।

बसका चालक स्याङ्जाका ५१ वर्षीय उदयराज लामिछाने पनि घाइते छन् । बाटोमा अचानक ट्रक देखिएको र ब्रेक लगाएको बसका घाइते चालक लामिछानेले बताए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालका अनुसार ट्रकसँग ठोक्किएपछि बस सडकबाट १५ फिट तल खसेर खोँचमा अड्केको थियो । त्यहाँ नअड्केको भए बस त्रिशुली नदीमा खस्थ्यो ।

उपचाररत घाइतेहरु

१. जिल्ला धादिङ गजुरी बस्ने बर्ष २२ को सन्तोष सुवेदी (मध्यम ९ गजुरी धादिङ लगेको)

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरु
१. बस चालक जिल्ला स्याङजा पुतली बजार नपा १ बस्ने बर्ष ५१ को उदयराज लामिछाने दाहिने हातमा चोट (मध्यम) ।
२. जिल्ला चितवन कालिका नपा शक्तिखोर बस्ने बर्ष ९ को क्रिस गुरुङ टाउकोमा चोट (मध्यम)
३. जिल्ला कास्की पोखरा बस्ने बर्ष ४५ को भक्त ब. बस्नेत ( गम्भिर)
४. जिल्ला नुवाकोट बिदुर नपा ५ बस्ने बर्ष १८ को सौजन गजुरेल, (मध्यम )
५. जिल्ला कास्की पोखरा बस्ने बर्ष २५ को मेघ बहादुर पुन ( मध्यम)
६. जिल्ला तनहु डुम्रे भन्सार बस्ने बर्ष ५१ को बिष्णु कु. श्रेष्ठ ( मध्यम)

मनकामना अस्पताल भरतपुरतमा उपचाररत घाइतेहरु
१. जिल्ला धादिङ निलकण्ठ नपा ६ बस्ने बर्ष २१ की रमिता राना, (गम्भिर)
२. जिल्ला स्याङजा वालिङ नपा ९ बस्ने बर्ष ४० को प्रमोद पंगेनी (गम्भिर)
३. जिल्ला पर्वत कुश्मा नपा १४ बस्ने षबर्ष ४० को बासुदेव पौडेल, (गम्भिर)
४. जिल्ला तनहुं छिन्केश्वरी गापा ५ बस्ने बर्ष ५५ की प्रतिमांया गुरुङ (गम्भिर)

पोखराको मणिपाल अस्पतालमा लगिएका घाइतेहरु
१. जिल्ला स्याङजा वालिङ नपा ९ बस्ने बर्ष ४० को एनएल गर्चन
२. जिल्ला स्याङजा वालिङ नपा १३ बस्ने बर्ष ३५ को रमेश थापा
३. जिल्ला स्याङजा वालिङ नपा १२ बस्ने बर्ष ३२ को निमेश न्यौपाने
४. जिल्ला स्याङजा वालिङ नपा ८ बस्ने बर्ष ३५ को दिल बहादुर थापा
५. जिल्ला स्याङजा पुतली बजार बस्ने बर्ष २५ को मिन प्रसाद तिवारी

छाउनी अस्पताल काठमाडाैं लगिएका घाइतेहरु
१। जिल्ला तनहुँ भानु नपा ६ बस्ने बर्ष ४५ को राम बहादुर खडका, आर्मीको लप्टन

Esewa Pasal

प्रकाशित : श्रावण १२, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘लटरपटर’ फुटबल

रेलिगेसनबिनाको लिगले यसको ‘पिरामिड’ शैली बिगार्छ । यसले आउने दिनमा विकृति ल्याउँछ । लिगमा रोमाञ्चकता नै हुनेछैन । टिमलाई खेल जित्नमा कुनै रूचि नै हुँदैन । यस्तोमा किन राम्रो टिम बनाउने ?
हिमेश

काठमाडौँ — यस्तै परिस्थितिमा हो नेपाली फुटबलमा ललितकृष्ण श्रेष्ठको अनुपस्थिति खडकने । उनी अब फेरि फर्कने त छैनन् तर उनी आफूलाई बेस्वाद र बेथितिको केही काम भयो कि एक शब्द दोहोर्‍याइहाल्थे ‘लटरपटर’ । यति सम्झना नेपाली फुटबलसँग नजिक रहेका सबैलाई छ ।

अहिले जुन स्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिगको ‘ए’ डिभिजन गर्न लागेको छ । त्यसको सार एक शब्दमै खिच्ने हो भने त्यसका लागि सबैभन्दा उपयुक्त हुन्छ, त्यही ‘लटरपटर’ ।

यस्तो किन भन्दा यसपालि त्यो लिग हुन लागेको छ, बिना रेलिगेसनको । लिग फुटबलको दुई प्रमुख अत्यावश्यक विशेषता हो, प्रमोसन र रेलिगेसन । हाम्रो पारामा भन्दा, बढुवा र घटुवा । लिग ‘पिरामिड’ शैलीको हुन्छ र यसमा केही टिम माथि चढिरहेका हुन्छन्, केही टिम तल झरिरहेका हुन्छन् । यस्तो हुन्न त लिग किन हुन्थ्यो ? एन्फा भने अहिले पनि जिद्दी गरिरहेको छ, हामी लिग गर्छौं र यो रेलिगेसनबिनाकै हुन्छ । विशेषत: एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको दाबी छ, नेपाली फुटबल अहिले रेलिगेसनसहितको लिगलाई तयार नै छैन ।

यसका लागि त एक वर्षदेखिको तयारी चाहिन्छ, जुन समय अहिले उनीहरूलाई उपलब्ध छैन । भलै, उनले एन्फा अध्यक्षमा पहिलोपल्ट आफ्नो उम्मेदवारी घोषणा गर्दा भन्थे, ‘हामी तीन महिनाभित्र लिग गर्छौं, किनभने हामीसँग यस्तो गर्ने क्षमता छ ।’ त्यो घोषणाको ‘रेकर्ड’ धेरैसँग छ । उनले त्यसमा जे जति दाबी गरेका छन्, त्यसमध्ये के–के पूरा गर्ने छैनन्, त्यो भविष्यमा लेखाजोखा गर्न खुबै काम आउने छ । अहिले तत्काल उनी लिगको त्यो वास्तविक स्वरूपबाट टाढिएका छन् ।

रेलिगेसनसहितको लिगका लागि एन्फाले साँच्चै किन यस्तो जिद्दी गरिरहेको छ त ? खासमा यो नै घिनलाग्दो फुटबल राजनीति हो । हाका–हाकी भन्न सक्छौं, चुनावका बेला धेरै ‘ए’ डिभिजन क्लबसँग यस्तै लिग गर्ने सहमति भएको थियो । यही सहमतिका लागि अहिले लिगलाई कुरुप शैलीमा प्रस्ततु गरिँदैछ । यस्तो लिग गर्नुको पछाडि एन्फाले एउटा तर्क दिनसक्छ, तर यस्तो लिग किन गर्नुहुँदैन भनेर त्योभन्दा धेरै गुणा बढी तर्क दिन सकिन्छ ।

रेलिगेसनबिनाको लिगले यसको ‘पिरामिड’ शैली बिगार्छ । यसले आउने दिनमा विकृति ल्याउँछ । लिगमा रोमाञ्चकता नै हुनेछैन । टिमलाई खेल जित्नमा कुनै रूचि नै हुँदैन । यस्तोमा किन राम्रो टिम बनाउने ? अनि किन धेरै राम्रा खेलाडी टिममा राख्ने ? यस्तो लिग गर्नु भनेको नेपाली फुटबलमा एक पाइला पछाडि सर्नु हो ।

परिवर्तनको नारा दिएर नेतृत्व पाएकाले त एक पाइला अगाडि सरेर पो काम गर्नुपर्ने । केही राम्रो गृहकार्य गरेर अर्ध–व्यावसायिक लिग पो गर्ने कि ? खेलाडीको लिलामी शैली पो ल्याउने कि ? त्यस्तोमा केही रूचि भएन । आउने दिन त क्लब फुटबलका लागि अझ कठिन दिन आउँदै छ । एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्सिङ कार्यक्रम लागू हुनेछ । क्लबले धेरै सर्त पूरा गर्नुपर्ने हुन्छ । खासमा एन्फाको काम हाम्रा क्लबलाई त्यसैअनुसार स्थापित गराउन मदत गर्ने हो तर अहिले त्यसको ठीकविपरीत काम भइरहेको छ । असोज १३ बाट साँच्चै रेलिगेसनबिनाको लिग सुरु हुन्छ भने आउने दिन यसलाई खराब उदाहरण दिनमात्र प्रस्तुत हुनेछ ।

इतिहासले यसलाई कलंकको लिग मान्नेछ । अझै पनि सच्चिने दिन छ । किनभने असोज १३ अझै टाढा छ । विश्व फुटबलमा लिगअगाडिको ‘वार्मअप’ लिग भन्ने हुन्न । त्यसो त विश्वमा केही यस्ता लिग पनि छन्, जसमा रेलिगेसन हुन्न । तर यी नितान्त फरक लिग हुन् । यस्ता लिग फ्रेन्चाइज शैलीका हुन्छन् । प्रत्येक टिमले एक निश्चित मोटो रकम खर्चिन तयार हुनुपर्छ । यसको ढंग नै फरक हो । सहिद स्मारक लिग त्यस्तो पटक्कै होइन ।

अध्यक्ष शेर्पाले चुनावका बेला धेरै आश्वासन दिएका छन् । धेरैलाई यस्तो गर्छु र उस्तो गर्छु भनेर वचन दिएका छन् । उनी अहिले त्यसकै मारमा फसिरहेका छन् । उनले नेतृत्व सम्हालेको धेरै दिन भएको छैन, त्यसैले उनले कस्तो काम गर्‍यो भनेर मूल्यांकन गर्ने समय पनि भएको छैन । उनको अहिले नै धेरै आलोचना पनि ठीक हुन्न । तर उनले यस्ता केही काम गर्न थालेका छन्, जसले नतिजा खराब नै हुन्छ । रेलिगेसनबिनाको लिग यस्तै हो ।

शेर्पा मजबुत र शक्तिशाली अध्यक्ष हुन् । नेताले सबैलाई खुसी पार्ने निर्णय गर्नु हुन्न । सायद उनी गलत सल्लाह दिने, कूतर्क प्रस्तुत गर्ने समूहको घेरामा छन् । उनीसामु दुई बाटो छ, पहिलो त्यही समूहको घेरामा बस्ने र भ्रममा रहने । दोस्रो, त्यो समूह र त्यस्तो सोच परित्याग गरेर अगाडि बढ्ने । शेर्पाले दोस्रो बाटो रोज्नैपर्छ । आउने दिनमा नेपाली फुटबल असफल भएमा दोष त्यो समूहलाई जानेछैन, बरु यिनै शेर्पा आलोचित हुनेछन् । नेपाली फुटबललाई ‘लटरपटर’ कामको कुनै आवश्यकता छैन ।

प्रकाशित : श्रावण १२, २०७५ ०७:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT