शान्ति सेनाको काँधमा किन थपिँदै छ विकास कार्ययोजना ?

चन्द्रशेखर अधिकारी

बुनिया (कंगो) — संयुक्त राष्ट्रले शान्ति स्थापनाको लागि द्वन्द्वग्रस्त मुलुकमा राष्ट्रसंघीय शान्ति मिसन टिकाई राख्न विकासका कार्यक्रम अघि बढाएको छ ।

विकाससम्बन्धी काम राष्ट्रसंघको अन्य निकायबाट गरिँदै आइएको भएपनि युद्धग्रस्त मुलुकको केही क्षेत्रमा भने शान्ति मिसनबाट नै विकासका विभन्न कार्यक्रम अघि बढाइएको हो। सुरुमा यसलाई शान्ति सेनालाई सहजीकरणका लागि यस्ता कार्यक्रममा लगाइएको भनिएपनि अहिले विकास निर्माणको कतिपय काम शान्ति मिसनबाटै हुन थालेको छ।

Yamaha

पछिल्लो समय यस्तो कार्यमा नेपाली र बंगलादेशी सेना अब्बल देखिएका छन। विकाससम्बन्धी काममा नेपालले दोस्रो स्थान लिएको छ भने बंगाली पहिलो स्थानमा। प्रजातान्त्रिक गणतन्त्र कंगोमा १५ वर्षदेखि शान्तिको लागि राष्ट्रसंघ अन्तर्गत नेपाली सेनाले काम गर्दै आएको छ। शान्तिको लागि विकास कार्ययोजना समेत ल्याएर त्यस अन्तर्गत नेपाली सेनाले विशेष काम गरिरहेको राष्ट्रसंघीय शान्ति मिसनको सेक्टर कमाण्डको एक युनिटले जनाएको छ।

सन २००३ मा पहिलोपटक नेपाली सेना कंगो आएको हो। सेना अन्तर्गत आएका सेनाको कम्पनी ‘नेपाली इन्जिनियर्स कम्पनी २१’ ले अहिले कंगोमा विकासका धेरै प्रकारको काम गरिरहेको छ। नेपाली सेनाले शान्ति मिसनमा आएर कंगोमा २५ सय किलोमिटर कच्ची बाटो तयार पारेको छ भने दर्जन विद्यालय, शौचालयदेखि विमानस्थलको धावन मार्ग मर्मतसम्मको काम गरिरहेको छ।

नेपालमा अप्ठ्यारफ ठाउँमा सडकको ट्र्याक खोल्ने र त्यसलाई पीच गरेर पक्की सडक बनाउने अनुभव बटुलेको नेपाली सेनाको इन्जिनिरहरु यहाँ आएर आफैं फिल्डमा उत्रेर काम गरिरहेका छन्। नेपाली सेनाले गर्ने काममा अन्य मुलुकका शान्ति सेनाले समेत सुरक्षा दिइरहेका हुन्छन्। नेपालमा एशियन मापदण्डको तराई/मधेसी र काठमाडौं जोड्ने द्रुत मार्गको निर्माणमा जुटेको नेपाली सेनाले विदेशमा समेत सफलता पाएको छ। संयुक्त राष्ट्रसंघको छातामा रहेर स्थानीयको मन जित्दै नेपाली सेना कंगोमा निकै अब्बल र सहज सेनाको रुपमा काम गर्नमा स्थापित छ।

विश्वमा नै शान्तिको लागि राष्ट्रसंघले शान्ति सेना मार्फत काम गरेको भन्दै आएको र बुझिएको भए पनि शान्ति सेनामा आउने सेनाले विकास निर्माणको काम समेत गरेका हुन्छन्, फिल्डमा डोजर चलाई रहेका नेपाली सेनाका एक सिपाहीले भने, ‘शान्ति सेनाको काममा यो पनि पर्ने रहेछ। यहाँ त झण्डा लिएर दुईतर्फको युद्धमा बीचमा बस्ने होइन रहेछ। प्रकृति फरक रहेछ। म त युद्ध भएको स्थानमा बाटो खोल्न पर्ने होला भनेर सोचेको तर त्यस्तो होइन रहेछ। पुरा विकास निर्माण कार्य यहाँ हुनेरहेछ।’

आफ्नो फोर्सको एक कार्यकाल सकेर फर्कन लागेका लेफिेटनेन्ट कर्णेल दिब्यराज प्रसाइले भने,‘हाम्रो कामको चाप निकै छ। काम सँगै सुरक्षा चुनौती पनि उत्तिकै छ।’ डोजर डम्फर लोडर लिएर निकै टाढा सम्म जानपर्ने हुन्छ। त्यहाँ नै बस्न सक्ने अवस्था नहुनाले फर्केर आउने गर्नुपर्छ। ‘बिहान जाने दिनभर काम गरेर बेलुका फर्कने शैलीले काम खासै सहज छैन,’ शान्ति सेनामा सकेर फर्कनु अघि उनले भने, ‘सुरक्षाको चुनौती अझै छ। विद्रोही फोर्सले सधैं बाटो हेरेर बसेको आभास हुन्छ।’

एक वर्षमा मात्रै विभिन्न चार भागमा काम बाँडेर हेर्दा पनि उनले १९ पुल, १४ कल्भर्ट, तीन विद्यालय, एक फुटबल ग्राउण्ड, सात स्थानमा ठूलो टेन्ट राख्ने, दुई दर्जन बढी सार्वजनिक शौचालय, विद्यालयमा कपी/कलम किट, खाद्यान्न बाँड्ने लगायतको काम समेत नेपाली सेनाले गरेको छ। जसको कारण नेपाली सेनाले स्थानीयका मन जितेर नै काम गर्न सजिलो भएको अर्का लेफ्टिनेन्ट कर्णेल विजितराज रेग्मीले बताए।

नेपाली सेनाले आफैंले नभै राष्ट्रसंघको निकै थोरै बजेटबाट यस्तो काम हुने यहाँको कार्यको अवलोकनका लागि आएकालाई जानकारी दिने क्रममा भने, ‘विकासको काम सेनाले गरेको भन्न मिल्दैन। सेनाले आफ्नो शान्ति सेनाको कार्य सहजताको लागि कमा गर्दै जाँदा त्यसबाट जनतालाई पनि उपयोग हुने हुँदा शान्ति सेनाबाट यस्तो विकास निर्माणका काम भएको हो।’ नेपाली सेनाले कंगोको गरिबी र पीडा देखेर सर्वसाधारणलाई पानी उपलब्ध गराउनेदेखि स्वास्थ्य चेकअप समेत निःशुल्क गर्ने गरेको छ।

नेपाली सेनाको शान्ति मिसनले अफ्रिकी मुलुक कंगोमा विकास निर्माणको काममा पाएको सफलताले अन्य मिसन कार्यालय बन्द गरेर फर्कँदा पनि नेपालीहरुको माग बढेको छ। यहाँ विकास निर्माणको लागि नेपाली, बंगाली, उरुग्गे, चीन, इन्डोनेसिया र दक्षिण अफ्रिकाले काम गरेको भएपनि अहिले भएको मूल्यांकनपछि उरुग्गे र दक्षिण अफ्रिका पुरै फर्केको छ।

चीन र इन्डोनेसियाले पनि काम गरिरहेका छ। दुई मिसनमात्रै राख्दा पनि नेपाली सेना यहाँबाट फर्कन पर्दैन। नेपालले राष्ट्रसंघमा कूटनीतिक पहल बढाउन सकेमा शान्ति सेनामा नेपालले संख्या थप्ने मात्र होइन सेक्टर र फोर्स कमाण्डरमा समेत अबसर पाउनेमा शान्ति सेनामा काम गरिरहेका नेपाली सेनाका अधिकृतहरु विश्वस्त छन्।

नेपाली सेनाले आगामी केही वर्षको कामको वार्षिक योजना राष्ट्रसंघलाई दिइसकेको छ। राष्ट्रसंघले दिएको निर्देशन अनुरुप नै नेपाली सेनाले आफ्नो कार्ययोजना पेस गर्ने र त्यस अन्तर्गत काम अघि बढाउने अधिकारीले बताए। नेपाली सेनाको उक्त कार्यमा सफलता मिलेमा नेपाली सेनाले अरु केही वर्ष यहाँको विकास निर्माणसम्बन्धी काम गर्नेछ।

Esewa Pasal

प्रकाशित : श्रावण १२, २०७५ ०९:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बसाइँ सर्दै गाउँका बजार

प्रकाश बराल, घनश्याम खडका,

बाग्लुड./म्गाग्दी — दशकअघिसम्म बागलुङको घोडाबाँधेमा बजार थियो । बुर्तिबाङतर्फ पैदल जानेहरू त्यहीं खाना खान्थे, भारी बिसाउँथे । तर, अहिले घोडाबाँधेमा एउटा पनि घर छैन । सबै बसाइँ सरेर गए । यहाँ नेपाली सेनाले ब्यारेक राखेर नियमित खेल अभ्यास गर्न थालेको छ । यो बजार अब धेरैको सम्झनामा मात्रै छ ।

बागलुङको मध्यपहाडी लोकमार्ग निर्माणले हटिया बजारमा सवारीको चाप बढ्दै । तस्बिर : प्रकाश बराल । कान्तिपुर

पुरानो सदरमुकाम हरिचौरको रौनक हटिया बजारमा सरेको छ । मध्यपहाडी लोकमार्गले हटिया बजारलाई चिरेर पश्चिम बगेकाले यहाँ होटल, व्यवसाय, शैक्षिक संस्थाहरू खुल्ने क्रम बढदो छ । गलकोट नगरपालिकाले पनि हटिया नजिक मुकाम स्थापना गर्‍यो । ‘राजमार्ग छेउमा बस्दा आउजाउ, व्यापार र पहुँचमा सजहता हुने रहेछ,’ हटियाका गुमानसिंह खत्रीले भने, ‘फलाएका चीजबिज सजिलै बजार पठाउन पनि सकिएको छ ।’ पुरानो सदरमुकाम भएकाले केही बिरासत भने हरिचौरमा बाँकी नै छ । पुरानो राजाको दरबार र परम्परागत शैलीका घर छन् । केही सरकारी कार्यालय हरिचौर केन्द्रित छन् ।

गलकोट नगरपालिकाकै काँडेवास महत्त्वपूर्ण गन्तव्य थियो । यहाँ दशकअघि दर्जनभन्दा बढी होटल चल्थे । सदरमुकामबाट हिँडेका मानिसहरू बास बस्थे । कच्ची सडकमा जिप चल्ने बेलासम्म धेरैको विश्रामस्थल यहीं हुन्थ्यो । मध्यपहाडी लोकमार्गले यो बजारलाई छाडेर मल्म र रिघाको बाटो समात्यो । अहिले यहाँ आफ्नै गाउँले पनि आउन छाडेको स्थानीय खिमानन्द कँडेलले गुनासो गरे । ‘कामदार राखेर होटल चलाएको थिएँ, अहिले कोही छिर्दैन,’ उनले भने, ‘धेरै व्यापारी बसाइँ सरेर राजमार्ग छेउमा गए । हामी व्यापार शून्य भएर बसेका छौं ।’ कँडेल दम्पती घरकुरुवा मात्र भएका हुन् ।

कामका लागि खाद्यान्नमार्फत ०५४ देखि ट्रयाक खुलेको सडक मध्यपहाडी लोकमार्गको ट्रयाकसँगै जोडियो । अहिले केही भागमा कालोपत्रे भइसकेकाले होटल चलाउनेलाई थप सहज भएको छ । ‘सोच्दै नसोचेको ठाउँमा होटल खुलेर लाखौं कमाएका छन् । हिजो गौंडा कुरेर बसेका हामी जिल्लियौं,’ मल्मका टंकबहादुर केसीले भने, ‘पहिला दैनिक सयजना हिँड्ने बाटोमा अहिले झार उम्रेको छ ।’ राजमार्गले बजारकै बसाइँसराइ गराएको उनले बताए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा पुरानो सडक मध्यपहाडी लोकमार्गमा सूचीकृत भएको छ । निर्माणाधीन भएकाले वर्षातमा खस्ने पहिरोले यात्रीलाई सास्ती दिएको छ । हिउँदका दिनमा लोकमार्ग नजिक सरेका बस्ती र बजारले भने मनग्ये कमाइ गर्न थालेको रिघाकी मिलन श्रीषले बताइन् । लोकमार्गले ८ देखि १० मिटर चौडा सडकले बुर्तिबाङ छेडेको छ । बागलुङ खण्डमा आवश्यक पर्ने १४ मध्ये १० पुल बनिसकेका छन् भने चारवटा निर्माणाधीन छन् ।

एक सातासम्म लगाएर पिठ्युँमा सामान खेप्नेहरूले सवारी चढ्ने र सजिलै एकै दिनमा सामान घरघरमा पुर्‍याउन पाएका छन् । ‘दुई/तीन दिनसम्म लगाएर बोकेर ल्याएको चामल खान्थ्यौं । अहिले गाडीले घरैमा ल्याइदिन्छ,’ निसी भलकोटकी हरिमाया घर्तीले भनिन्, ‘यो राजमार्ग पूरै बनिसक्दा हाम्रा दु:खका दिन सकिन्छन् ।’ मध्यपहाडी लोकमार्गले पश्चिम बागलुङलाई रुकुम हुँदै सुर्खेतसम्म जोड्छ । सडक सहज भएकाले हाल बुर्तिबाङदेखि पर्यटक बोक्ने आरामदायी बस पनि चल्छन् । काठमाडांै, पोखरा र बुटवलका लागि दैनिक बस छुटदा हजारौंले एकैपटक सेवा पाएका छन् ।

बागलुङदेखि बुर्तिबाङ कच्ची सडक मात्र हुँदा चल्ने जिप कतिबेला छुट्ने, कतिबेला कता पुग्ने यकिन नहुँदा खाना खाने होटल पाउन मुस्किल पथ्र्यो । सडक कालोपत्रे भएपछि दैनिक दुई सयभन्दा बढी सवारी चल्न थालेका छन् । नियमित सवारी चलेकाले बिहुँ, मल्म, रिघा, खरबाङ, ग्वालीचौर र भीमगिठेलगायत स्थानमा दर्जनौं होटल खुलिसकेका छन् । कतिपय निर्माणमा लागेका छन् । ‘रेस्टुरेन्ट खोलेर राम्रो खाना खुवाउने र पाहुनालाई हिमश्रृंखला पनि देखाउन होटल खोल्ने तयारी छ,’ काठेखोला ६ बिहुँका महेन्द्र पुनले भने, ‘घोडाबाँधेको रगेनीबाट देखिने दर्जनौं हिमालले पर्यटक पनि लोभ्याउँछ ।’ २ हजार ३ सय मिटर उचाइको रगेनीबाट अन्नपूर्ण, धौलागिरी, नीलगिरी, माछापुच्छ्रेदेखि गणेश हिमालसम्म देखिन्छ ।

गाउँ–गाउँमा नयाँ बजार
गाउँपालिका केन्द्र तोकिएपछि यहाँको रौनक नै फेरिएको छ । घर र जग्गाको मूल्य तीन गुणासम्म बढेके छन् । ‘१०/१२ घर थिए । दुई वर्षमै ५० भन्दा बढी पुगे,’ म्याग्दीको अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेका खड्ग गिरीले भने, ‘जग्गाको भाउ हातको तीन लाख रुपैयाँभन्दा माथि पुगेको छ ।’

घरको संख्या र स्वरूप एक वर्षमै तीन गुणा बढेको उनले बताए । जग्गाको भाउ निकै बढेको छ । मंगला गाउँपालिकाको बाबियाचौर, रघुगंगा गाउँपालिकाको मौवाफाँट र अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेबगरको रौनक नै फेरिएको छ । सदरमुकामपछिको दोस्रो ठूलो र व्यापारिक केन्द्र दरबाङ मालिका गाउँपालिकाको मुकाम हो । केन्द्र विवाद नसुल्झिएकाले धौलागिरी गाउँपालिका केन्द्र मुनामा भने अन्तजस्तो चहलपहल छैन ।

‘होटल, स्टेसनरी, हार्डवेयर पसल बढे, घडेरीको व्यापार फस्टाएको छ । बैंक नै घरदैलोमा आए पनि स्थानीयलाई सुविस्ता छ,’ मौवाफाँटका बालकृष्ण सुवेदीले भने, ‘खेतीयोग्य फाँट र घनाबस्तीमा गाउँपालिका कार्यालय र अरू सरकारी कार्यालय राख्न ल्यान्ड पुलिङ विधि अपनाएका छौं ।’

राज्य पुन:संरचना भएसँगै गाउँपालिकाका मुकाममै चहलपहल बढेपछि पुराना र ऐतिहासिक सहरलाई विरासत जोगाउन धौ–धौ भएको छ । सदरमुकाममा सीमित सरकारी तथा गैरसरकारी अड्डाहरू धमाधम गाउँ फर्केपछि सदरमुकामको चहलपहल घट्न थालेको हो । सबै गाउँपालिकामा कम्तीमा एउटा वाणिज्य बैंक पुगेका छन् । बैंक पुगेपछि स्थानीयलाई सदरमुकाम झर्नुपर्ने बाध्यता पनि घटदै गएको छ ।

‘राज्यशक्तिको विकेन्द्रीकरण भएपछि स्वाभाविक रूपमा केही दिन असजिलोजस्तो हुन्छ । जे भए पनि सबै स्थानीय तहको औद्योगिक र पर्यटकीय हब त बेनी नै बन्ने हो नि,’ बेनी नगरपालिकाका भौतिक पूर्वाधार विकास समितिका संयोजक कृष्णकुमार विकले भने, ‘राज्यको पुन:संरचनापछि कार्यान्वयनको सुरु चरणमा भएकाले अलमल देखिए पनि नगरपालिकाको गुरुयोजना निर्माण चरणमा छ ।’ पर्यटकलाई कम्तीमा एक रात बेनीमा बस्ने वातावरण बनाउने नै मुख्य योजना रहने उनले बताए ।

समृद्ध चौबीसे राज्य पर्वतको राजधानी रहँदा भारत–भोट व्यापारको केन्द्रका रूपमा बेनी बजारका लागि स्वर्णकाल मानिन्छ । म्याग्दीको इतिहासका अध्ययनकर्ता चन्द्रप्रकाश बानियाँका अनुसार तिब्बतबाट मुस्ताङी नाका हुँदै सामान पाल्पा हुँदै भारतीय सामान ल्याई विनिमय गर्ने केन्द्र भएकाले राज मल्लले बेनीलाई पर्वतको राजधानी बनाएका थिए । गोर्खाली सेनाले विसं १८४३ असोज १४ मा बेनी कब्जा गरेपछि ‘राजधानी’ गुमेको थियो ।

दुई नदीको निरन्तर कटानले त्रिकोणाकार रूपमा कुँदिएको बेनी बजार काली र मंगला नदीको संगमस्थलमा छ । इतिहास जतिसुकै समृद्धशाली भए पनि समयचक्रले बेनी बजारलाई भोको–नांगो र दुब्लो–पातलो बनाउँदै लगेको छ । अहिले फेरि उत्तर–दक्षिण भोट–मधेस (तिब्बत–भारत) जोड्ने बहुचर्चित अन्तर्देशीय कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकले बेनीको भविष्य निर्धारण गर्ने भएको छ । विद्यमान पोखरा–बेनी–जामसोम सडकमा चल्ने सोझो यातायातले नै बेनीको झन्डै ९० प्रतिशत व्यापार र चहलपहललाई ओझेलमा पारेको छ ।

‘कालीगण्डकी करिडोरको सडक एलाइन्मेन्टले नै ऐतिहासिक सहर बेनीको भविष्य निर्धारण गर्नेछ । बेनी–जोमसोम–कोरला सडकबाट हुने व्यापार र त्यहाँ आउने पर्यटकलाई आकर्षित नगरी बेनीको साख जोगिँदैन,’ बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले भने, ‘कालीगण्डकी करिडोर बेनीमा प्रवेश हुनुपर्छ । पर्यटन विकास र बेनी–कोरला सडक नै हाम्रो भविष्य हो ।’

कालीगण्डकी नदीको किनारैकिनार भएर प्राचीनकालमा चलेको भोट–मधेस ‘साल्ट ट्रेड रुट’ व्यापार मार्गको केन्द्र रहेको बेनी बजारको भविष्य बेनी–जोमसोम–कोरला अन्तर्देशीय सडक सञ्जाल विस्तार कार्यक्रमले निर्धारण गर्ने भएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर निर्माणले गति लिन थालेको छ ।

बुटवल हुँदै कालीगण्डकी नदी किनारै किनार अघि बढेको कालीगण्डकी करिडोर सडक पर्वतको मालढुंगा आइपुगेको छ । बेनीदेखि ३ किमि माथि गलेश्वरबाट कोरलासम्म करिडोरको काम तीव्र गतिमा भइरहेको छ । निर्णय हुन नसकेको मालढुंगा–बेनी–गलेश्वरसम्मको १६ किमि सडक खण्डको एलाइन्मेन्टले व्यापारिक केन्द्र बेनीको भविष्य निर्धारण गर्ने भएको छ

‘बेनी र म्याग्दीको आर्थिक भविष्य पर्यटन, जलविद्युत् र बेनी(कोरला सडकको सही एलाइन्मेन्टले मात्र बन्न सक्छ, नत्र मोटरबाटोले इतिहासमा दर्जनौं सहरलाई पूरै ओझेलमा पारेको छ,’ उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश शाक्यले भने, ‘बेनी पनि जोखिममा छ ।’ विस्तारित ग्रामीण सडक सञ्जाल र स्थानीय तहको केन्द्र लक्षित बजार बढ्न थालेपछि सदरमुकाम बजारको भविष्य अप्ठ्यारोमा परेको उनले बताए ।


पुरानो सदरमुकाममा रहेको सुनसान, जीर्ण र झारले ढाकेको गलकोटे राजाको दरबार ।तस्बिर : प्रकाश

प्रकाशित : श्रावण १२, २०७५ ०९:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT