लोकतन्त्र अझै सुरक्षित छैन : पूर्व सभामुख ढुंगाना

रमेशकुमार पौडेल

चितवन — पूर्व सभामुख दमननाथ ढुंगानाले लोकतन्त्र अझै पनि असुरक्षित रहेको बताएका छन् । नवलपुरको गैंडाकोटमा शनिबारदेखि सुरू भएको नेपाल डेमोक्रयाटिक लयर्स एसाेशिएसनकाे १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा बोल्दै ढुंगानाले संसारमा कुनै पनि कम्युनिष्टले लाेकतन्त्र नजाेगाएकाे बताए ।

'संविधान लोकतान्त्रिक छ । तर जनमत लोकतन्त्रवादीले सत्ता चलाउने आएन । सत्तामा कम्युनिष्टहरू छन् ।' उनले भने, 'संसारमा कुन कम्युनिष्टले लोकतन्त्रको रक्षा गरको छ । यसको रक्षा गर्ने दायित्व प्रजातन्त्रवादीको हो ।'

Yamaha

दुई तिहाइको शक्ति बनाएका कम्युनिष्टहरू अझै एकीकृत हुन खोजेको तर लोकतन्त्रवादी कांग्रेसभित्र एकता खोज्नु पर्ने अवस्था आएको उनले बताए । उनले कांग्रेस विस्तारित र फराकिलो हुनु पर्ने बताए । कार्यक्रममा सहभागी कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनले अनुरोध गरे, 'नेपाली काँग्रेस अब संकीर्ण हैन फराकिलो हुनु पर्छ । यसका लागि नेता ज्यूहरूले वृहत लोकतान्त्रिक मोर्चा बनाउनु पर्छ ।'

कांग्रेसले भविष्यका राम्रा योजना बनाउनु पर्ने भन्दै उनले सधै इतिहासका कुरा मात्रै गर्दै हिँड्नुकाे सट्टा भविष्य देखाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सत्ताधारी दलको व्यवहारले संविधान बाँदरको हातमा नरिवल बन्ने खतरा बढेको बताए । 'आपतकालको झल्को आउने गरेर सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । यो गलत हो,' लेखकले भने ।

प्रकाशित : श्रावण १२, २०७५ १२:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

वीरेन्द्र बियर खोज्दै...

परिचर्चा
‘खासमा म पुन: तपाईंलाई विश्वास दिलाउन चाहन्छु, वीरेन्द्र बियर उत्पादन गर्नुको अर्थ कसैको मानमर्दन गर्नु होइन । सिजनल उत्पादनमार्फत ग्राहकलाई खुसी दिने मेरो लक्ष्य हो ।’
जीवा लामिछाने

काठमाडौँ — राजा वीरेन्द्रका नाममा विज्ञापित एउटा बियर ब्रान्डले युरोपेली मुलुकदेखि नेपालका कुनाकानीसम्म समाचार फैलाउने काम गर्‍यो । चर्चा–परिचर्चाको उत्कर्षमा कति सोखिनहरू वीरेन्द्र बियर खोज्दै ठमेल र दरबारमार्गतिर पनि टहलिएका भेटिए । एक जना नियात्राकार भने वीेरेन्द्र बियर खोज्दै स्विजरल्यान्डको जुरिच पुगेका रहेछन्, यो बियर उत्पादक मालिक आद्रियान वेबरलाई भेट्ने गरी ।

यसअघि पनि मैले अनेक मदिरासँग संवाद गरेको थिएँ । यस पटक भने ‘वीरेन्द्र बियर’ सँग संवाद गर्दै छु । संसारमा मदिराका विषयमा धेरै गीत रचिएका छन्, धेरै काव्य लेखिएका छन् । हरिवंश राय बच्चनको प्रसिद्ध काव्य मधुशाला त पिएर कहिल्यै नरित्तिने अक्षरहरूको मधुशाला नै बनेको छ । सायद नारीपछि सबैभन्दा धेरै लेखिएको विषय नै मदिरा हो ।


मेरो हातमा बियरको विज्ञापन भएको एउटा पर्चा थियो । बियरको नाम हो— वीरेन्द्र बियर । जहाँ हातमा बियरको ग्लास लिएर राजा वीरेन्द्र थोरै मुस्कुराउँदै छन् । यो बियर एक जना स्विस उद्यमी आद्रियान वेबरले उत्पादन गरेको मौसमी बियर रहेछ । यो त्यही बियर हो, जसको केही महिनाअघि सामाजिक सञ्जालमा पक्ष–विपक्षमा खुब चर्चा भएको थियो ।
पर्चाको माथिल्लो भागमा जर्मन भाषामा लेखिएको छ, ‘तपाईंसमक्ष आएको छ सक्कली रेसिपी ।’ त्यसपछि नेपालीहरूले सम्मान गरेका राजाको अनुहारलाई कुनै कलाकारले मुस्कुराएको महसुस गराउन केही कारिगरी थपिदिएका रहेछन् । पर्चाको तल लेखिएको छ, ‘साथमा नेपाली टिमुरको स्वाद ।’ नेपालीको इज्जत बढ्ने गरी लेखिएझैँ लाग्यो । अर्को वाक्य पढें, ‘दिस बियर इज किंग ।’


वेबरसँग मेरे परिचय थिएन तर एक नेपाली भएका नाताले आफ्नो देशका स्वर्गवासी राजाको नाममा बियर उत्पादन गर्ने व्यक्तिलाई भेटौं र यो बियर उत्पादन गर्नुपर्ने कारण सोधौं–सोधौं लाग्यो । सामाजिक सञ्जालमा नेपालीमाझ अत्यधिक चर्चा भएको र यसको उत्पादन नै बन्द गर्नुपर्ने आवाज उठिरहेको सुनेपछि मेरो मनमा यस्तो विचार आएको थियो । सामान्यतया विकसित मुलुकमा कुनै व्यक्तिले पुँजी र बुद्धि लगाएर सुरु गरेको व्यवसायलाई कसैले पनि बन्द गर भन्ने हिम्मत गर्दैन । उत्पादन सुरु भइसकेपछि त्यसविरुद्ध त्यो बेलासम्म प्रश्न उठाउन मिल्दैन, जबसम्म त्यसले आफ्नो गुणस्तर कायम राख्छ । हामीबीच चलेको बहस उत्पादनकर्ताको कानसम्म पुगेको छ कि छैन, त्यो जान्न पनि मलाई यो बियर र यसका उत्पादनकर्तासँग भेट्ने हुटहुटी जागिरह्यो ।
***


केही दिनअघि मात्रै जुरिच सहर पुग्दा मैले सामाजिक सञ्जालमा टाँसिएको वीरेन्द्र बियरको खोजी सुरु गरेको थिएँ । साँझ परेपछि डाउनटाउन जुरिचमा रहेका बारहरू सधैँ भरिभराउ हुने गर्छन् । बारटेन्डरलाई कुरा गर्नेसम्म फुर्सद हुँदैन । ठीक यसैबेला म एउटा बारमा छिरें ।
‘बियर छ ?’
‘धेरैथरी छन्, कुन दिऊँ ?’
‘वीरेन्द्र, वीरेन्द्र बियर ।’
‘त्यस्तो कुनै बियर छ र ?’ बारटेन्डरले फनक्क फर्केर सर्भ गरिरहेकी अर्की युवतीलाई सोधे । युवतीबाट ‘नो’ भन्ने जवाफ सुनेपछि बारटेन्डर मतिर फर्किए र भने, ‘नो म्यान, जहाँसम्म मलाई लाग्छ, तपाईंलाई कन्फ्युजन भएजस्तो छ ।’
म कसरी द्विविधामा हुन सक्छु र ? सामाजिक सञ्चालमा तर्क–वितर्क गर्दा केही साथीहरूले वीरेन्द्र बियर पिइरहेको तस्बिरसमेत राखेका थिए । तर, त्यो व्यस्त समयमा उनीहरूसँग तर्क गर्नुको कुनै अर्थ थिएन ।
इन्टरनेटबाट वीरेन्द्र बियरको टयाग झुन्डिएको फोटो खोजेँ र म अर्को बारतिर लागेँ अनि त्यही प्रश्न अर्को बारटेन्डरलाई पनि सोधेँ ।
‘सरी, ढिला आउनुभयो, स्टक सिद्धियो ।’
यस पटक भने केही आशा पलायो र बारमेनलाई भनें, ‘धन्यवाद, यसको अर्थ अरू केही बारमा प्रयास गरे त्यो बियर सायद म भेट्न सक्छु ।’

‘भेट्न सक्नुहुन्छ तर ग्यारेन्टी गर्न सक्तिनँ । महाशय, त्योभन्दा राम्रा बियरहरू भित्तामा सजिएको देखिरहनुभएको छ । किन दु:ख गर्नुहुन्छ ?’
मैले मुस्कानबाटै केही भन्न खोजेँ । म मुस्कुराएको देखेर ऊ पनि मुस्कुरायो । सायद, म ‘वीरेन्द्र बियर’ फेला नपारी अरू बियर पिउँदिनँ भन्ने कुरा उसले मुस्कानबाटै महसुस गरेको हुनुपर्छ ।


त्यसपछि लगातार मैले डाउनटाउन जुरिचका अरू केही बारहरू चहारेँ । केहीलाई ‘वीरेन्द्र बियर’ बारे जानकारी थिएन, केहीले भने यो वर्षको सिजनल बियरमध्ये ‘वीरेन्द्र बियर’ निकै उत्कृष्ट भएको बताए ।


बियरका पारखीहरूमाझ यो बियर लोकप्रिय हुँदै थियो तर अहिले सप्लाई हुन छाडेको छ भन्ने कुरा एक बारम्यानले गरे । त्यसपछि त यस बियरका बारेमा जान्ने जिज्ञासा अझ बढी तीव्र भयो ।


त्यो साँझ त्यस्तै भयो । म होटल पुगेँ र स्विजरल्याज्डमा रहेका नेपाली मित्रसँग वीरेन्द्र बियरका सम्बन्धमा सोधपुछ गरेँ । खोजिपस्दा के–के त पाइन्छ, यही सहरमा उत्पादन भएको बियरबारे थाहा नपाउने कुरा के छ र ?


आखिरमा भोलिपल्ट वीरेन्द्र बियरको बोतल मात्र होइन, त्यो बियर फल्ने बोट नै पत्ता लाग्यो । त्यो बियर उत्पादन गर्ने ‘टर्बिनेन ब्य्रु कम्पनी’ का प्रबन्ध सञ्चालक ‘आद्रियान वेबर’ जुरिचमा बसोबास गर्ने मित्र फडिन्द्र पन्तको सम्पर्कमा रहेछन् । उनले नै फोनमा वेबरसँग कुरा गरेँ । वेबरले फोनमा सौहाद्रतापूर्ण कुरा गरेर हामीलाई आफूकहाँ आउन आमन्त्रण गरे ।
‘आज शनिबार भएकाले म चार बजेसम्म मात्रै फ्याक्ट्रीमा हुन्छु । त्यो बीचमा तपाईं मेरो फ्याक्ट्रीमा आउन सक्नुहुन्छ । र, तपाईंलाई बताइहालौं, बियरको उत्पादन अहिले बन्द भएको छ । बजारमा स्टक पनि सकिएको छ । केही कार्टुन बियर बाँकी छन् । सायद तपाईं आउनुहुन्छ भनेर होला, पर्खेर बसेका छन् ।’


हतारहतार काम सकेर हामी ‘बादेनरस्ट्रास्से–५७१’ स्थित उनको ब्रुअरी फ्याक्ट्रीमा पुग्यौं । फ्याक्ट्री पुग्दा पो थाहा भयो, चार मात्रै होइन, घडीले सबा चार बजाइसकेको रहेछ । उनी ४ बजेसम्म म आउँछु भनेर कुरेर बसेका रहेछन् । ४ बजे पनि नपुगेपछि अफिस बन्द गरेर उनी निस्कँदै रहेछन् ।


छोरा अनुकृतले भने, ‘हामी फ्य्रांकफर्टदेखि तपाईंलाई भेट्न आएका हौं । आजै साँझ हामी फ्य्रांकफर्ट फर्कंदै छौं । अहिले थोरै समय दिनुभयो भने हामी अनुगृहीत हुनेथियौं ।’
उनलाई मेरो छोराको कुराले छोएछ क्यारे, केही गम्भीर देखिए र विनम्रतापूर्वक भने, ‘मसँग कुरा गर्न अहिले साँच्चै नै समय छैन । बरु तपाईंका लागि बियर भने उपलब्ध छ । लैजान सक्नुहुन्छ, आवश्यक भए अनुकूल समयमा फोनमा नै कुरा गरौँला ।’


त्यसपछि उनले बन्द भइसकेको फ्याक्ट्रीको ढोका खोले र त्यहाँबाट एक कार्टुन बियर निकालेर हामीलाई दिंदै भने, ‘यो बियर तपाईंलाई उपहार दिन पाएकोमा खुसी छु । पिउनुहोला र कुरा गर्न मन लागेको खण्डमा बिनासंकोच फोन गर्नुहोला ।’


हामीले बियरको पैसा दिन खोज्यौं तर उनले लिन मानेनन् । उनको व्यवहारले मलाई हाम्रो गाउँघरको सम्झना गरायो । गाउँघरतिर अझै पनि बटुवालाई कुनै घरबाट मन तृप्त हुन्जेल मोही खान दिएर पनि त्यसको मूल्य खोजिँदैन । विदेशी भूमिमा कुनै चिनजान नभएको र भविष्यमा हामीबाट कुनै फाइदा हुने लक्षणसम्म नदेखेका व्यक्तिले यस्तो व्यवहार गर्नु मेरा लागि अर्को सुखद आश्चर्य थियो ।


हामी धन्यवाद भन्दै फर्कियौं । फ्य्रांकफर्ट फर्केपछि फुर्सद हुनेबित्तिकै मैले कार्टुन खोलेर एकएक बियरका बोतल हेरेँ । सानो बोतल, तीन सय तीस मिलिलिटर बियरको † सबै बोतलमा राजा वीरेन्द्र हातमा बियरको गिलास लिएर मलाई चियर्स गर्न उक्साइरहेझैँ लाग्यो ।


त्यसको तीन दिनपछि, मैले उनलाई फोन गरेर सोधेँ, ‘के तपाईंसँग केही बेर कुरा गर्न सक्छु ? खासमा तपाईंसँग कुरा नगरी मलाई बियरको बोतल खोल्न पनि अप्ठेरो लाग्यो ।’
‘अहो, यत्तिका दिन भइसक्यो, खोल्नुभएको छैन ?’
‘छैन ।’


मैले सोधें, ‘वीरेन्द्र बियर’ का विषयमा मेरो मात्र होइन, धेरै नेपालीको चासो छ । यसबारे केही कुरा गर्न चाहन्छु ।’ राजा वीरेन्द्रको नाममा बियर उत्पादन गर्नुको उद्देश्य के थियो होला ?
‘प्रत्येक वर्ष म केही नयाँ सिजनल बियर उत्पादन गर्छु । यो हाम्रो उद्योगको एउटा नीति हो । यसरी खास समयका लागि उत्पादन भएका बियरलाई छुट्टै नाम दिने चलन छ । ती नामहरूले जनमानसमा सधैँ सकारात्मक सन्देश दिने हुनुपर्छ भन्ने मेरो मान्यता हो । स्प्रिङ्ग र समरमा मूलत: जुरिच सहरमा खपत हुने गरी यस्ता सिजनल बियर उत्पादन गरिन्छ ।’
मैले सोधें, ‘यसअघि पनि नेपालको नाममा कुनै बियर उत्पादन गर्नुभएको थियो कि ?’


‘थिएन, खासमा मलाई नेपालबारे धेरै जानकारी नै थिएन । तर, हरेक वर्ष केही नयाँ उत्पादन गर्दा म हाम्रा ग्राहकले नयाँ अनुभव गरून् भन्ने चाहन्छु । त्यसका लागि नयाँ कुराको खोजी गर्छु । संयोगले यस पटक मेरो ध्यानमा नेपाल पर्‍यो ।’
सोधें, ‘वीरेन्द्र नाम नै किन रोज्नुभयो ?’


उनले प्रस्ट्याए, ‘म नेपाललाई केन्द्रमा राखेर बियर उत्पादन गर्न चाहन्थेँ । किनभने यो मेरा लागि नयाँ कुरा थियो । नेपालबारे जानकारी नभएका कारण मैले इन्टरनेटमा सर्च गर्न थालें । एभरेस्ट, हिमालय, गोर्खाजस्ता प्रचलित नामहरू पहिले नै अकुपाइड भइसकेका रहेछन । सर्च गर्दा पत्ता लाग्यो नेपालका पूर्वराजा वीरेन्द्र शाहलाई त्यहाँ श्रद्धापूर्वक सम्झने गरिन्छ । तर, विश्वास गर्नुहोस्, उनको नाम लोकप्रिय भएका कारण त्यसलाई मैले क्यास गर्न खोजेको भने होइन । हामी यस्ता सिजनल बियर थोरै उत्पादन गर्छौं । यसका लागि लोकप्रियता आवश्यक पर्दैन । केवल नयाँपन दिने प्रयास मात्रै गरे हुन्छ ।’


‘त्यसो भए किन वीरेन्द्र नाम नै रोज्नुभयो । इन्टरनेटमा नेपालबारे अरू धेरै कुरा पाइन्छ नि ?’ म जिज्ञासु बनें ।


उनले स्पस्ट पारे, ‘वीरेन्द्र उच्चारण गर्दा मैले बि’येरेन्द्र अर्थात् बियरको नजिक नजिक उच्चारण भएझैँ पनि महसुस गरें । खासमा वीरेन्द्रका तस्बिरहरू जति पनि इन्टरनेटमा थिए, ती अनुहार एकदमै गम्भीर देखिन्थे । यसले बियर पारखीलाई अपिल गर्दैनन् कि भन्ने लाग्यो । तर, नाम भने साँच्चै नै बियर पारखीले मन पराउने थियो । यही कारण बाध्यतापूर्वक मेरा ग्राफिक डिजाइनरको सहायताले उनलाई अलिकति हँसमुख देखाउने प्रयास गरियो ।’


‘बियरमा टिमुरको स्वादको कुरा लेखिएको रहेछ । नेपाल नै नबुझेको मानिसले टिमुरबारे कसरी थाहा पाउनुभयो ?’ म थप उत्सुक भएँ ।


‘नेपालबारे उति धेरै जानकारी थिएन । तर, हिमाली क्षेत्रको बारेमा मलाई केही जानकारी छ । खासमा नेपाल खोज्ने क्रममा वीरेन्द्र नाम जुराएको हो । म नेपाल र हिमालय क्षेत्रसँग सम्बन्धित केही इन्ग्रेडियन्ट मिसाएर यसको आफ्नो छुट्टै स्वाद निकाल्न चाहन्थेँ । विशेषगरी टिमुर मसलाको स्वाद मलाई पहिला नै थाहा थियो । तिब्बत र तपाईंहरूतिर पाइने टिमुर मिसाउँदा यसले युनिक टेस्ट दिन्छ भन्ने मलाई लागिरहेको थियो । यो सिजनका लागि यो टेस्ट र नाम बेजोड हुने अनुमान गरेर यस वर्षको सिजनमा ‘वीरेन्द्र बियर’ लन्च गरेका हौं,’ उनले बताए ।


‘एक सिजनमा कति लिटर उत्पादन गर्नुहुन्छ ? यसको कुनै नियम छ ?’ भन्ने मेरो प्रश्नमा उनले भने, ‘हामी सिजनल बियर थोरै तर विशेष स्वादमा निकाल्छौं । यो पटक पच्चीस–तीस हजार लिटरसम्म उत्पादन गर्ने लक्ष्य थियो । तर...’
‘तर... केही भन्न लाग्नुभएको हो ?’
उनी थप्दै गए, ‘कुरा के भने बियर बजारमा आइसकेपछि यसको राम्रै रिस्पोन्स आउँदै थियो । टार्गेट गरेको जति उत्पादन गर्ने योजना बन्दै थियो । तर, नेपाली समुदायबीच सामाजिक सञ्जालमा यसले तरंग उत्पन्न गरिसकेको रहेछ । यसको विरोधमा अनलाइन पेटिसन पनि सुरु भएको भन्ने सुनेँ । यस्तैमा काठमाडौँको स्विस दूतावासबाट सन्देश आयो, वेब साइटबाट ‘वीरेन्द्र बियर’ सम्बन्धी सूचना हटाइदिने अनुरोधसहित । हामीले सो अनुरोध मानेर सबै सूचना हटाई पनि दियौं ।’
‘के उत्पादन बन्द गर्नुपर्ने दबाब आएको थियो ? मैले त त्यस्तै सुनेको थिएँ नि ।’


‘उत्पादन बन्द गर्नुपर्‍यो भनेर त्यस्तो कुनै दबाब आएको भन्ने कुरा साँचो होइन । उत्पादन भइसकेका केही बोतलहरू खपत भइसकेपछि यो च्याप्टर पनि बन्द भइहाल्छ । यही कारण केही विरोध भए पनि यसमा गम्भीर हुनुपर्ने आवश्यकता महसुस गरिनँ । बरु अर्डर आउँदाआउँदै पनि म आफैंले थप उत्पादनमा रुचि देखाइनँ ।ँ
“‘वीरेन्द्र बियर’ उत्पादन गरेकोमा कुनै खेद छ ?”


‘छैन, मैले गलत उद्देश्यले यो काम गरेको होइन । कसैको आत्मसम्मानमा चोट पुर्‍याउने मेरो नियत छँदै थिएन । दूतावासले हाम्रो वेबसाइटमा भएका बियरसम्बन्धी सूचनाबाट वीरेन्द्र बियरको सूचना हटाउन अनुरोध गरेपछि भने केही विरोध भएको रहेछ भन्ने अनुमान गरेको थिएँ । तर, ठूलै विरोध पो भएको रहेछ । मेरो विचारमा यति सारो विरोध हुनुपर्ने म कुनै कारण देख्दिनँ ।’


उनले यसो भनिरहँदा मैले पनि रुसमा धेरै नेता र चर्चित केही व्यक्तिका थरमा भोड्काहरू उत्पादन भएको र तीमध्ये केही त निकै लोकप्रियसमेत भएको कुरा सम्झिएँ । ती भोड्काहरूमा आफ्ना नेता वा चर्चित व्यक्तिहरूको नाम किन राखियो भनेर आवाज उठाएको मैले सुनेको थिइनँ । यसकारण मैले उनको कुरामा केही सहमति जनाउँदै भनें, ‘मलाई पनि तपाईंको काम विरोध जनाउनुपर्ने खालको हो भन्ने लागेको छैन । तपाईंको विचारसँग म पनि सहमति जनाउँछु ।’ यसो भनेर म उनीसँग अझै कुरा गर्ने मुडमा थिएँ ।
‘जब मैले पहिलोपल्ट तपाईंको बियरका विषयमा सुनेँ, मलाई हाम्रा पूर्वराजाको लोकप्रियतालाई भजाउन खोज्नुभएको जस्तो लागेको थियो । तर, अहिले कुरा गर्दा त्यसो होजस्तो लागेको छैन ।ँ


उनी भन्दै गए, ‘मैले त्यस्तो गर्न खोजेकै होइन । खासमा उनी लोकप्रिय छन् भन्ने कुरा सुरुमा त थाहै थिएन । बियर र वीरेन्द्रको जुन रिदम मिल्यो, यही कारण त्यो नाम राख्न प्रेरित भएँ भन्ने कुरा तपाईंलाई मैले बताइसकेँ । तर, यो कुराचाहिँ सत्य हो, यो सिजनमा म नेपाल र हिमालका केही कुरा लाउन्च गर्न चाहन्थेँ, जसले आम मानिसमा सकारात्मक सन्देश जाओस् ।’


उनीबाट यी सबै कुरा सुनेपछि मलाई लाग्यो, ब्रान्ड डिजाइन गर्दा राजा वीरेन्द्रले हातमा बियर लिएको नदेखाइदिएको भए यसको यतिबिघ्न विरोध हुँदैनथ्यो कि ? यहाँनेर भने उनी चुके कि भन्ने लाग्यो । तर, मैले उनीसँग यो कुरा गरिनँ । कारण ‘वीरेन्द्र बियर’ को उत्पादन उनको फ्याक्ट्रीले बन्द गरिसकेको थियो ।


बरु सोचेँ, यो बियर उत्पादन गरेर उनले नेपाली टिमुरको प्रचार भने गरेका थिए । बियर पिउने मध्ये केहीले बियरमा भएको टिमुरको स्वादबाट स्टिकरमा लेखेजस्तो नेपाली रेसिपीको अनुभव गर्न उत्प्रेरित भए कि । आखिर यसो भएको खण्डमा यसले कुनै न कुनै रूपमा नेपाललाई फाइदा नै गर्ने निश्चित थियो ।


उसो त विश्वभरि नै यो चलन नभएको कहाँ हो र ? रुसमै गोर्बाचोब, पुतिन्का, झिरिनोव्स्की, रास्पुतिन नाम गरेका अल्कोहोलिक पेयपदार्थ प्याटेन्ट दर्ता गराएरै उत्पादन हुने गर्छन् । यस्ता कुनै थरलाई प्याटेन्ट गर्दा मेरो थरसँग मिल्यो भनेर विरोध गर्न पनि सायद नमिल्ने होला । त्यसरी चलाइएका कुनै कुनै ब्रान्डहरू त व्यावसायिक रूपमा निकै सफल भएका छन् । अरू देशहरूमा पनि यसैगरी उत्पादन तथा बिक्री वितरण हुने गरेको देखेको छु । राष्ट्रिय नेताहरूको नाम, थर, बदनामी गरियो भनेर विरोध हुने गरेको अन्त कतै सुनिएको पनि छैन ।
मैले कुराकानीकै क्रममा वीरेन्द्र बियरको बोतल खोलेँ र गिलासमा खन्याउँदै भनें, ‘तपाईंसँग कुरा गरेपछि अब मलाई यो बियर पिउन सजिलो भयो । आखिर तपाईंले दिएको उपहार तपाईंसँग अनुमति नलिई खोल्न मन लागेन ।’


मेरो कुरा सुनेर उनी हाँसे र भने, ‘तपाईंसँग कुरा गरेर रमाइलो लाग्यो । खासमा म पुन: तपाईंलाई विश्वास दिलाउन चाहन्छु, वीरेन्द्र बियर उत्पादन गर्नुको अर्थ कसैको मानमर्दन गर्नु होइन । सिजनल उत्पादनमार्फत ग्राहकलाई खुसी दिने मेरो लक्ष्य हो । यस्तोमा म गलत कुरा कसरी सोच्न सक्छु र ?’


कुराकानीको बिट मार्दै वेबरलाई मैले सोधेँ, ‘अर्को वर्ष नेपालसँग सम्बन्धित कहीं कतै विवाद नहुने कुनै नाम हामीले सुझायौं भने त्यो नामबाट तपाईंको ब्रुअरीले बियर उत्पादन गर्ला ?’
‘अहिले त्यस विषयमा केही सोचेको छैन– बट वी विल सी ।’


वेबरसँग कुराकानी सकिएपछि बोतलबाट बियर ग्लासमा खन्याएँ । चिसो बियर स्पर्श गर्दा लाग्यो, वीरेन्द्र पनि कुल राजा थिए, नेपालीको मनमनमा बास बसेका थिए । त्यसपछि चिल्ड गरिएको ‘वीरेन्द्र बियर’ को चुस्की लिन थालें । नजानिँदो गरी टिमुरको स्वाद आयो । यसरी पनि नयाँ स्वाद दिन सकिँदो रहेछ । बियरको अर्को घुट्को लिंदै यो बियरलाई बजारमा ल्याउने उद्यमी ‘आद्रियान वेबर’ लाई धन्यवाद दिएँ ।


चुस्कीसँगसँगै वीरेन्द्रको वंशनाश भएको बीभत्स घटनाको याद अझ तीव्र हुँदै आयो र धेरै पर पुगिसकेको त्यो त्रासदीपूर्ण घटना आँखैअगाडि आइरह्यो ।
jibalamichhane@gmail.com

प्रकाशित : श्रावण १२, २०७५ १०:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT