तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रासस

काठमाडौँ — आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो ।

Yamaha

शनिबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने जनाइएको छ । साथै, पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आइतबार दिउँसो र रातको दुबै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । असार १४ गते पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनुको साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भेगमा बद्लीसहित वर्षा भइरहेको छ । काठमाडौँका कतिपय स्थानमा भारी वर्षा भएको छ । यद्यपी, दिनभरको वर्षाको विवरण मौसम पूर्वानुमान महाशाखाले साँझ राख्ने भएकाले अहिले देशका कुन क्षेत्रमा कति वर्षा भएको भनी रेकर्ड छैन ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा तीन दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङ र ओखलढुङगामा छ, सिमरामा १६, पोखरामा २५, दाङमा १४, नेपालगञ्जमा ३४, धनगढीमा ११ र डडेलधुरामा ३० मिलिमिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम तापक्रम २९ दशमलव पाँच र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

निरन्तरको वर्षाले देशका प्रमुख नदीमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्मको बाढी बुलेटिन सार्वजनिक गर्दै नदीमा बहाब खतरा भन्दामाथि रहनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

आज देशका प्रमुख नदी कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबईलगायतमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

कर्णाली, महाकाली र यसका शाखा नदीमा बहाब खतरा भन्दामाथि रहने सम्भावना नरहे पनि आइतबार बिहानसम्म कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई लगायतका नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

आइतबार बिहान प्रमुख नदीमा बहाब बढ्दो क्रममा हुने तथा कन्काई, कमला, बागमती, कोसी र यसका शाखा नदीमा बहाब उल्लेख्य बढ्ने तर खतरा भन्दा तलैहुने तथा पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा आकस्मिक बाढी आउनसक्ने सम्भावना भने कायमै रहेको शाखाको पूर्वानुमान छ ।

आज भोलि र पर्सी (साउन १४ गते ) खासगरी पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा बाढीको सम्भावना रहेको छ । पहिरो जान सक्ने स्थानमा पनि सतर्कता खपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : श्रावण १२, २०७५ १४:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

केन्द्रीय कारागारमा सिसी टिभी जडान

रासस/याेन्हाप

काठमाडौँ — मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ ।

१ सय ४ वर्ष पुरानो केन्द्रीय कारागारमा धेरै कैदीबन्दी र विभिन्न समयमा कारागारबाट बन्दी भाग्ने गरेको घटना बढेपछि सुरक्षाका लागि सिसी टिभी क्यामरा जडान गरिएको हो ।

केन्द्रीय कारागार कार्यालयका लेखा अधिकृत कुलप्रसाद रेग्मीले १५ लाख रुपैयाँको लागतमा ३० वटा क्यामरा जडान गरिएको जानकारी दिए । 'अहिले केन्द्रीय र भद्रगोल कारागारमा सिसी क्यामरा जडान गरेका छौँ, अर्को वर्ष महिला जेलमा पनि सिसी क्यामरा जडान गर्नेर्छौँ,' उनले भने ।

हाल केन्द्रीय कारागारमा एक हजार ६ सय ९५, भद्रगोल कारागारमा ७ सय ९० र महिला कारागारमा ३ सय १८ कैदीबन्दी गरी दुई हजार ८ सय ३ र नाबालक चारजना रहेको रेग्मीले बताए । केन्द्रीय कारागारमा राखिएको क्यामराको निगरानी प्रहरी प्रमुख र कारागार प्रमुखले गर्नेछन् ।

केन्द्रीय कारागार सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले सिसी क्यामरा जडानसँगै जेलको सुरक्षामा सहज हुने बताए ।

'धेरै कैदीबन्दी हुँदा सबैलाई भित्र गएर निरीक्षण गर्न सकिँदैन, सिसी क्यामरा भएपछि निगरानीमा सहज हुन्छ,' उनले भने ।

जेलभित्र कैदीबन्दीले के–कस्ता काम गर्छन् भन्ने बारेमा धेरै कैदीबन्दी आवतजावत गर्ने मुख्य चोकमा सिसी क्यामरा राखिएको हो ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजारभन्दा धेरै कैदीबन्दी छन् ।

प्रकाशित : श्रावण १२, २०७५ १४:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT