कांग्रेस घट्दै घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो : प्रधानमन्त्री 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले  कांग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन् । 

कांग्रेस घट्दै घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो : प्रधानमन्त्री 

तत्कालीन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

कांग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्न नसुहाउने अवस्थामा पुग्ने भएकोले अहिलेदेखि नै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्दी गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘माइतीघरमा दुई सय जना जति मान्छे अट्लान्’ प्रधानमन्त्री ओलीले भने, ‘त्यति भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।’

माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘मण्डलामा आन्दोलन भएपछि त्यसको हो–हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न’ प्रधानमन्त्री ओलीले भने,‘यहीबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ ।’

लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘आजको अवस्थामा आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ ।’

सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डिकेट अन्त्यका लागि प्रतिबद्ध भएको प्रधानमन्त्रीको भनाइ छ । आगामी दुईवर्षभित्र काठमाडौंका सडकलाई स्तरीय बनाइने प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालीहरुले गौरवपूर्ण विवेकलाई कायम राख्नसक्नुपर्ने बताएका छन् । ‘तोपसँग खुकुरीले लडेर पूर्खाहरुले बचाइदिएको देशलाई हामीले स्वाभिमानपूर्वक बचाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने,‘सार्वभौमसत्तालाई कायम राख्दै छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर देशलाई अघि बढाउन सरकार लागि परेको छ ।’

प्रकाशित : श्रावण १२, २०७५ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?