नगरपालिकाबाटै विद्यालय निगरानी

कान्तिपुर संवाददाता

इलाम — सूर्योदय नगरपालिकाले विद्यालयको शैक्षिक स्तर सुधार्न प्रयोगमा ल्याएको विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रभावकारी देखिएको छ । एसईई नतिजासँगै विद्यार्थी भर्नादरसमेत घटेपछि नगरपालिकाले कार्यालयबाटै विद्यालयका गतिविधि निगरानी गर्न थालेको हो ।

नगरपालिकाबाटै विद्यालय निगरानी

नगरपालिकाले पहिले प्रयासस्वरूप शिक्षकको उपस्थिति नियमित बनाउने नीति लियो । करफोक विद्या मन्दिर, कन्यामस्थित कृष्णाश्रम, पशुपतिनगरस्थित बौद्धधाम र फिक्कल माविमा बायो माट्रिक एटेन्डेन्स मेसिन जडान गरियो । त्यसपछि नगरप्रमुखले हरेक दिन आफ्नै कार्यकक्षबाट शिक्षकको हाजिरी हेर्न सक्ने भए । ‘हरेक दिन कार्यालयमै बसेर शिक्षकको उपस्थिति नियाल्ने गरेका छौं,’ नगरप्रमुख रनबहादुर राईले भने, ‘शैक्षिक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान खेलेका विद्यालयबाट सुधार अभियान चलाउन यसो गरिएको हो ।’

ई–एटेन्डेन्सको व्यवस्थापछि शिक्षक नियमित स्कुल आउन थाले । अरू पनि थुप्रै सुधार देखिए । ‘अहिले स्टाफले निश्चित समयभित्र विद्यालय छाडेर जाने अवस्था छैन,’ करफोक विद्यामन्दिरका प्रधानाध्यापक दिनराज निरौलाले भने, ‘सीधै नगरपालिकाका प्रमुखलगायतले अनुगमन गर्ने भएपछि शिक्षकको उपस्थिति नियमित छ ।’

अन्य विद्यालयमा पनि यो प्रणाली जडानपछि शैक्षिक स्थिति सुधारिँदै गएको नगरपालिकाको दाबी छ । क्रमश: सवै विद्यायमा ई–एटेन्डेन्सको व्यवस्था गर्ने नगरपालिकाले जनायो । चियाबारीभित्रको कन्यामस्थित कृष्णश्रम मावि पर्यटकका कारण पनि प्रभावित हुँदै आएको थियो । तर पछिल्लो समय शिक्षकको नियमित उपस्थितिसँगै अत्यावश्यक सुधार गरिएपछि माहोल फेरिएको छ । ‘पहिले पनि शिक्षक नियमित नआएका होइनन् तर विद्युतीय हाजिरीपछि सबैले जिम्मेवारी बढेको महसुस गरेका छौं,’ प्रधानाध्यापक देवकुमार दाहालले भने ।

प्रकाशित : श्रावण १३, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?