१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कंगोमा नेपाली सेना अब्बल

विकास–निर्माणमा बंगलादेशी पहिलो, नेपाली सेना दोस्रो
चन्द्रशेखर अधिकारी

बुनिया (कंगो) — संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेनामातहत विकास कार्यक्रम अघि बढाएको छ । विकाससम्बन्धी काम अन्य निकायले गर्ने भए पनि द्वन्द्वग्रस्त मुलुकमा शान्ति मिसन टिकाइराख्न राष्ट्रसंघले सेनालाई विकास–निर्माणमा लगाएको हो ।

कंगोमा नेपाली सेना अब्बल

विकाससम्बन्धी काममा बंगलादेशी सेना पहिलो स्थानमा छ भने नेपाली सेना दोस्रो । कंगोमा शान्ति स्थापनार्थ १५ वर्षदेखि नेपाली सेनाले विकास योजना बनाएर काम गरिरहेको राष्ट्रसंघीय शान्ति मिसन सेक्टर कमान्डको एक युनिटले जनाएको छ ।

नेपाली सेनाले १९ पुल, १४ कल्भर्ट, तीन विद्यालय, एउटा फुटबल ग्राउन्ड, सात ठाउँमा ठूला टेन्ट, दुई दर्जन बढी सार्वजनिक शौचालय निर्माण गरिसकेको छ ।

सन् २००३ मा पहिलोपटक नेपाली सेना कंगो आएको हो । सेनामातहतको ‘नेपाली इन्जिनियर्स कम्पनी २१’ ले कंगोमा विकास परियोजना सञ्चालन गरिरहेको छ । उसले कंगोमा २५ सय किलोमिटर कच्ची बाटो तयार गरेको छ । दर्जन विद्यालय, शौचालय, पुल, फुटबल ग्राउन्ड, विमानस्थलको धावनमार्ग मर्मतलगायत काम अघि बढाइरहेको छ । नेपालमा असजिलो स्थानमा सडक बनाएर अनुभव बटुलेका सेनाका इन्जिनियरहरूले यहाँ काम गरिरहेका छन् । नेपाली सेनाले गर्ने काममा अन्य मुलुकका सेनाले समेत सुरक्षा दिइरहेका छन् ।


विकासका काममार्फत नेपाली सेनाले यहाँका स्थानीयको मनसमेत जितिरहेको छ । फिल्डमा डोजर चलाइरहेका एक सिपाहीले भने, ‘यहाँ त झन्डा लिएर दुईतर्फको युद्धको बीचमा बस्ने मात्रै होइन रहेछ, विकास–निर्माणका काम पनि गर्नुपर्दो रहेछ ।’ समाजमा घुलमिल भएर काम गर्न राष्ट्रसंघले विकासको ‘सफ्ट पावर’ उपयोग गरिरहेको एक सैनिक अधिकारीले बताए ।


ती अधिकारीका अनुसार अन्य माध्यमबाट विकासका काम अघि बढन नसक्ने भएपछि राष्ट्रसंघले नयाँ बाटो तय गरेको हो । ‘हाम्रो कामको चाप निकै छ, कामसँगै सुरक्षा चुनौती पनि उत्तिकै छ’, आफ्नो फोर्सको कार्यकाल सकेर फर्कन लागेका लेफिेटनेन्ट कर्णेल दिव्यराज प्रसाईंले भने, ‘डोजर, डम्फर, लोडर लिएर निकै टाढासम्म जानपर्ने हुन्छ । टाढा बस्नसक्ने अवस्था नभएकाले हरेक दिन फर्केर आउनुपर्छ ।’ उनका अनुसार बिहानदेखि खटिएर बेलुका मात्रै फर्कनुपर्ने भएकाले काम सजिलो छैन । ‘सुरक्षाको चुनौती अझै छ । विद्रोही फोर्सले सधैं बाटो ढुकेर बसेको आभास हुन्छ’, उनले भने ।


नेपाली सेनाले १९ पुल, १४ कल्भर्ट, तीन विद्यालय, एउटा फुटबल ग्राउन्ड, सात ठाउँमा ठूला टेन्ट, दुई दर्जन बढी सार्वजनिक शौचालय निर्माण गरिसकेको छ । विद्यालयमा कापी–कलम किट, खाद्यान्न बाँड्नेलगायत कामसमेत सेनाले गरिरहेको छ । विकासका कारण स्थानीयको मन जितेकाले काम गर्न सहज भएको अर्का कर्णेल विजितराज रेग्मीले बताए । ‘विकासको काम सेनाले गरेको भन्न मिल्दैन, सेनाले शान्ति स्थापना कार्य सहज बनाउन जनतालाई समेत उपयोग हुने गरी काम गरेको हो’, रेग्मीले भने । सेनाले कंगोका सर्वसाधारणलाई पानी उपलब्ध गराउनेदेखि नि:शुल्क स्वास्थ्य परीक्षणका काम पनि गर्दै आएको उनले जानकारी दिए ।


नेपाली सेनाको शान्ति मिसनले अफ्रिकी मुलुक कंगोमा विकास–निर्माणका काममा पाएको यही सफलताकै कारण अन्य देशका मिसन कार्यालय बन्द गरेर फर्कंदा पनि नेपालीको भने माग बढिरहेको छ । कंगोमा नेपाल, बंगालादेश, उरुग्वे, चीन, इन्डोनेसिया र दक्षिण अफ्रिकाका सेनाले विकासको काम गरेकोमा पछिल्लो मूल्यांकनपछि उरुग्वे र दक्षिण अफ्रिकाको पूरै मिसन फर्किएको छ । बंगलादेशी र नेपाली सेनापछि कंगोमा चीन र इन्डोनेसियाका सेनाले विकासका काममा सफलता पाएका छन् ।


नेपाली सेनाले आगामी केही वर्ष गर्ने कामको वार्षिक योजना राष्ट्रसंघलाई दिइसकेको छ । राष्ट्रसंघले दिएको निर्देशनअनुरुप नै सेनाले कार्ययोजना पेस गरेको र त्यसैअनुसार काम अघि बढाउने सैनिक अधिकारीले बताएका छन् । यसमा सफलता मिलेमा नेपाली सेनाले थप केही वर्ष विकास–निर्माणसम्बन्धी काममा सहभागिता जनाउनेछ ।

प्रकाशित : श्रावण १३, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?