४६ वर्षपछि घर फिर्ता

घर फर्कने क्रममा ७ जनाको समूहले कुटपिट गरी साथमा रहेको करिब २३ हजार भारतीय रुपैयाँ पनि लुटे
आश गुरुङ

लमजुङ — लमजुङको बेसीसहर–२ भकुन्डे खत्रीगाउँका प्रेमबहादुर खडका बेपत्ता भएको ४६ वर्षपछि घर फर्केका छन् । मजदुरी गर्न बाल्यकालमै भारत गएका उनी २४ वर्षको उमेरमा घर आएका थिए । त्यसपछि पुन: भारत गएपछि बेपत्ता भएका थिए ।

२०२८ सालदेखि घर छोडी ४६ वर्षपछि फर्केका लमजुङको बेंसीसहर नगरपालिका–२, भकुन्डे खत्रीगाउँका ७० वर्षीय प्रेमबहादुर खडका । तस्बिर : कान्तिपुर 

भारत मेघालयस्थित गाई फार्ममा काम गरेका उनी ७० वर्षको बुढ्यौली उमेरमा शुक्रबार गाउँ फर्किएका हुन् ।

Yamaha


भकुन्डे क्षेत्रमा बसबाट ओर्लिएर उनी सोधखोज गर्दै गाउँसम्म आइपुगे । ‘खडका गाउँ आउँदा बूढापाकाले ढिला गरी चिने,’ उनका छिमेकी पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष कृष्ण केसीले भने, ‘उनले पनि केही बूढापाकालाई सम्झिएका रहेछन् ।’ केसीका अनुसार प्रेमबहादुर अहिले असहज अवस्थामा छन् ।

‘बाँचेर गाउँ फर्किन्छु जस्तो सोचेको थिइनँ । जन्मभूमिमा फर्कन मलाई भगवानले बचायो,’ खडकाले मसिनो गरी हिन्दी लवजमा नेपाली बोल्दै भने, ‘सबैसँग भेट भयो । खुसी लाग्यो ।’ प्रेमबहादुरसँग नेपाली नागरिकता छैन । उनको नजिकका आफन्त पनि छैनन् । बुवाआमाको नागरिकता थियो/थिएन भन्नेबारे पनि उनलाई थाहा छैन । प्रेमबहादुरका अर्को आमापट्टिका सन्तानको भने नागरिकता छ । ७० वर्ष पुगेपछि भत्ता पाइन्छ भन्दा उनले नागरिकता लिन मन गरेको केसीले बताए ।

२००४ वैशाख १४ गते आफ्नो जन्ममिति भएको बताउने प्रेमबहादुर बाल्यकालमै मजदुरी गर्न भारत गएका थिए । २०२८ मा बुवा चन्द्रबहादुरको निधन हुँदा उनी काजकिरियाका लागि आएर १४ दिन घर बसेका थिए । त्यसपछि पुन: भारत गएका उनी बल्ल गाउँ आएका हुन् । बुवा बितेपछि आमा पनि अन्यत्र विवाह गरेर गएको बताउने प्रेमबहादुर अहिले कान्छी आमापट्टिका छोरा अर्थात् भाइ तिलकबहादुर खडकाको परिवारसँग बसेका छन् । प्रेमबहादुर अझै अविवाहित छन् । प्रेमबहादुर घर फर्केपछि तिलकबहादुर पनि खुसी छन् । ‘कुखुराको एउटा चल्लाको त कति माया लाग्छ भने मानिसको माया किन नलाग्नु । झन् आफ्नै दाइको माया नलाग्ने कुरा भएन,’ उनले भने, ‘पहिले त हैन जस्तो लागेको थियो । पछि सम्झिँदै ल्याउँदा आफ्नै दाइ रहेछन् । सँगै खाना खुवाएर दु:खसुखको भलाकुसारी गर्दैछु ।’

फर्कंदा लुटिए
गाउँ फर्कंदै गर्दा लुटिएको र आफूमाथि मरणासन्न गरी कुटपिट भएको प्रेमबहादुरले बताए । घर फर्कने क्रममा ७ जनाको समूहले कुटपिट गरी साथमा रहेको करिब २३ हजार भारतीय रुपैयाँ पनि लुटेको उनले बताए । उनका अनुसार लुटपाट र कुटपिट गरी जंगलमा फालिदिएका उनलाई स्थानीय गाउँलेले बचाएका थिए । ‘उनीहरू को हुन्, कसरी कहाँबाट आएका हुन् भन्ने थाहा भएन,’ उनले भने, ‘लमजुङकै धमिलिकुवाका गुरुङ भाइले खर्च दिएपछि घर आउन सफल भएँ ।’ कुटपिटबाट खडकाको खुट्टा र शरीरका विभिन्न भाग सुन्निएका छन् । उनका भाइ तिलकबहादुरले केही दिनको आरामपछि अस्पताल लगिने बताए ।

प्रकाशित : श्रावण १३, २०७५ २१:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रज्ञा प्रतिष्ठानहरू अन्योलमा

गणेश राई

काठमाडौँ — सरकारले गाभ्ने निर्णय गरेपछि नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठान अन्योलमा परेका छन् । तीनै प्रतिष्ठानका पदाधिकारी र प्राज्ञसभा सदस्यको कार्यकाल आगामी भदौ २३ गते सकिँदै छ ।

नयाँ कार्यसमिति चयनका लागि प्रक्रिया अघि बढ्न सकेको छैन । सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठान मात्र चलायमान रहेको र पछिल्लोपटक गठित दुई प्रतिष्ठान ‘प्रभावकारी नभएको’ भन्दै गाभ्ने निर्णय गरेको थियो । विज्ञहरूले अन्य देशमा पनि इतिहास, भाषा, साहित्य, संस्कृति, ललितकला, संगीत, नाट्यका फरक–फरक विधागत प्रतिष्ठान रहेकाले गाभ्न नहुने बताउँदै आएका छन् । संसदमा प्रतिपक्षी दल कांग्रेस पनि २०६२/६३ को जनआन्दोलनको बलमा गठन भएका ती संस्था गाभ्ने निर्णयको विपक्षमा छ ।
संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले सरकारको निर्णयप्रति कुनै विमति नरहने बताए । ‘सरकारले हामीलाई केही भनेको छैन, हामीले पनि केही बोलेका छैनौं,’ चार वर्षे कार्यकालमा सीमित बजेटमा केही देखिने काम भएको उल्लेख गर्दै उनले भने, ‘हामीले सात प्रदेशको नृत्य, संगीत र नाट्य विषयलाई समेटर सात सय पानाका सातवटा पुस्तक प्रकाशित गर्न सफल भएका छौं ।’ त्यसैगरी नाटकको इतिहास र प्रसिद्ध गायक तथा संगीतकार अम्बर गुरुङ स्मृतिग्रन्थ प्रकाशन गरेको उनले सुनाए ।

उनका अनुसार उक्त प्रतिष्ठानले वार्षिक ६ करोड रुपैयाँ बजेट पाउँदै आएको थियो । त्यसमध्ये ४ करोड रुपैयाँ ४३ जना कर्मचारीको तलब, भत्तामा खर्च हुने गरेको थियो । ‘अन्य मुलुकको अभ्यासलाई हेर्ने हो भने संगीत र नाटकको समेत छुट्टाछुट्टै प्रतिष्ठान हुनुपर्ने रहेछ,’ उनले भने, ‘केन्द्रीय एकेडेमी साना भए पनि त्यसले प्रान्तलाई संयोजन गर्ने भूमिका हुनुपर्छ । संगीत र कलाले देश जोड्ने काम गर्छ ।’

ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले विभिन्न अल्झनका वावजुद अन्तर्राष्ट्रिय रूपमा काम गर्न सफल भएको दाबी गरिन् । ‘हाम्रै कार्यकालमा भूकम्पजस्तो प्राकृतिक विपत्ति पनि झेल्नुपर्‍यो,’ उनले भनिन्, ‘जीर्ण बनेको भवन भवनलाई रेट्रोफिटिङ गरेर बचाउन सफल भएका छौं ।’ प्रतिष्ठानको जग्गाको विषयलाई लिएर मुद्दासमेत खेपिरहेको उनले सुनाइन् । उनका अनुसार ललितकलाले चार वर्षभित्र इटहरीका स्थानीय निकायसँग समन्वय गरेर तालतलैयामा कला विस्तार गरेको छ । ‘चित्रकला, काष्ठकला, मूर्तिकला, काष्ठकला, प्रस्तरकलालाई लिएर सार्कस्तरीय कला प्रदर्शनी गर्‍यौं,’ उनले भनिन्, ‘विश्वभरि नै कलामा भाषाको अवरोध हुँदैन । यही काम हामी गर्दै आएका छौं । सरकारले ललितकलाको महत्त्व बुझ्न जरुरी छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आफ्नो कार्यकालमा भएका समग्र प्रगतिलाई लिएर बिहीबार प्रधानमन्त्री केपी ओलीलाई वार्षिक प्रगति प्रतिवेदन बुझाएका छन् । ऐनअनुसार प्रधानमन्त्री प्रतिष्ठानको संरक्षक रहन्छन् । ‘प्रधानमन्त्रीज्यूलाई प्रगति प्रतिवेदन बुझायौं र हाम्रो पदावधि सकिन लागेको प्रति ध्यानाकर्षण गराएका छौं,’ प्रज्ञा प्रतिष्ठान गाभिने सवालमा कुनै प्रसंग नचलेको उल्लेख गर्दै उनले भने, ‘अहिले तत्कालै प्रतिष्ठान गाभिने सम्भावना देखिँदैन । त्यसको निम्ति ऐन बनाउनुपर्ने हुन्छ ।’

चार वर्ष अवधिमा प्रतिष्ठानले डेढ सयभन्दा बढी स्तरीय ग्रन्थ प्रकाशन, चीन र दक्षिण एसियाली साहित्यिक फोरम निर्माण, पुस्तकालय भवन निर्माण तथा पुस्तकालय विस्तार, नयाँ प्रेस स्थापना, डेढ सयभन्दा बढी गोष्ठी आयोजना गरेको प्रतिवेदनमा उल्लेख छ । कुलपति उप्रेतीले भाषा, साहित्य, संस्कृति, इतिहास, ललितकला, नाट्य, संगीत, नृत्यलगायत विधामा गरिमा बढाउन सक्ने व्यक्तित्वको खोजीका निम्ति सरकारको ध्यान पुग्न आवश्यक रहेको बताए ।

प्रकाशित : श्रावण १३, २०७५ २१:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT