कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

विश्वकै पैदले सहर बन्ने लन्डन

सडक साइकल र पैदलमैत्री बनाउन करिब ३ खर्बभन्दा बढी खर्च गरिने
एजेन्सी

लन्डन — बेलायतको राजधानी लन्डनलाई विश्वकै पैदलयात्रीमैत्री सहर बनाइने भएको छ । लन्डनका पैदल तथा साइकल आयुक्त विल नम्र्यानले सार्वजनिक गरेको ‘पैदल कार्ययोजना’ मा सहरको वातावरण सुधारिने, वायु प्रदूषण घटाइने र पैदलयात्रीको सुरक्षालाई उच्च प्राथमिकता दिइने उल्लेख छ ।

विश्वकै पैदले सहर बन्ने लन्डन

लन्डनका मेयर सदिक खानले सन् २०४१ भित्र ८० प्रतिशत मानिसले पैदल हिँड्ने, साइकल चढ्ने वा सार्वजनिक यातायातमा यात्रा गर्ने अपेक्षा गरेका छन् । हाल लन्डनमा करिब ६३ प्रतिशत मानिस पैदल वा साइकल यात्रा गर्छन् । खानले साइकलमैत्री सडक र फुटपाथ बनाउन २ अर्ब २ करोड पाउन्ड (करिब ३ खर्ब १७ अर्ब रुपैयाँ) खर्च गरिने जनाएका छन् ।

कार्ययोजनाअनुसार छोटो पैदलयात्राका लागि लन्डन अब आकर्षणको केन्द्र हुनेछ । यो योजनालाई ‘पब्लिक हेल्थ इंग्ल्यान्ड’ ले सहयोग गरेको छ । नम्र्यानका अनुसार सन् २०२४ सम्म पैदल, साइकल र सार्वजनिक यातायात प्रयोग गर्नेको संख्या १० लाख बढ्ने छ । लन्डनमा अहिले कैयौं मानिस सडक असुरक्षाकै कारण कारण पैदलयात्रा नरुचाउने अनुसन्धानमा देखिएको छ ।

खानले यो स्थिति अन्त्य गर्न वायु प्रदूषण हुन नदिनेतर्फ समेत ध्यान दिइने बताएका छन् । कार्ययोजनामा फुटपाथ बनाउने, व्यवस्थित गर्ने, सार्वजनिक स्थान र खुला ठाउँ बढाउने, पैदल रुट थप्ने, सडक पार गर्न सजिलो बनाउने उल्लेख छ । विद्यालय वरपरका सडकमा गुड्ने गाडीको अधिकतम गति ३२ किलोमिटर कायम गरिने, पैदल हिँड्ने विद्यार्थी संख्या बढाइने लक्ष्य छ । कार्ययोजनामा पैदलयात्रीको सुरक्षाका लागि नयाँ ट्राफिक संकेत प्रविधि जडान गरिने पनि उल्लेख छ ।

स्मार्ट सिटिज वल्र्ड डटकमका अनुसार लन्डनको हाइबरीमा नयाँ योजनाअनुसार सार्वजनिक स्थान फराकिलो पार्ने र पैदलयात्रीका लागि बाटो काट्ने ठाउँ थप्ने काम अहिल्यै पनि भइरहेको छ । सन् २०१९ सम्ममा ओल्ड स्ट्रिटको मुख्य चोकलाई साइकल तथा पैदलयात्रीमैत्री बनाउन निर्माण सुरु हुनेछ । मेयर खानको यो पहिलो पैदल कार्ययोजना लागू गर्न आगामी वर्षदेखि डिजेलबाट चल्ने ट्याक्सीलाई प्रतिबन्ध लगाइनेछ । खानले यसअघि सवारी साधनहरूले प्रदूषणको न्यूनतम मापदण्ड पालना गर्नुपर्ने नियम लागू गरिसकेका छन् ।

प्रकाशित : श्रावण १४, २०७५ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?