२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सिद्धबाबामा सधैं त्रास

कहिले रकनेट, रकसेडको चर्चा चल्छ । सुरुङमार्ग, मिनी टनेल निर्माण र पूरै पहाड काट्नेसम्मका विषयमा छलफल हुन्छ तर कुनै काम अघि बढेका छैनन् ।
माधव अर्याल

पाल्पा — तानसेन–बुटवल सडकअन्तर्गत सिद्धबाबा खण्ड जम्माजम्मी चार किलोमिटर हो । यही छोटो दूरीमा दुर्घटनाको शृंखला भने निकै लामो छ । ११ वर्षमा ५१ दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् ।

सिद्धबाबामा सधैं त्रास

तीमध्ये पनि बढी दुर्घटना दुई किमि क्षेत्रमा भएका छन् । पहाडबाट खस्ने ढुंगा, माटो र पहिरोले कतिखेर सवारीसाधन पुर्ने हो, पत्तो हुँदैन ।

‘घर जाँदा–आउँदा सिद्धबाबा पार नगर्दासम्म भगवान् पुकार्नुपर्छ,’ गुल्मीका विमल घिमिरेले भने, ‘वर्षा होस् कि हिउँद, सधैं त्रासमै हिँड्नुपर्छ ।’ यो सडकमा सवारी गुडेको ४७ वर्ष नाघिसकेको छ । तिनाउ ३ गड्डाका जंगबहादुर सुनारको अनुभवमा सिद्धबाबा क्षेत्रमा सुरुदेखि नै यस्तै जोखिम छ । ‘डरलाग्दो भीरमा बम हानेर खोलिएको सडक हो,’ उनले सम्झिए, ‘गाडी गुड्न थालेदेखि नै ढुंगा खस्ने र पहिरो जाने समस्या छ ।’ २०२२ सालमा निर्माण थालिएको सिद्धार्थ राजमार्ग २०३५ सालमा सरकारलाई बुझाइएको हो । ‘५१ वर्षदेखि यही सडक हेर्दै जीवन बित्यो,’ सुनारले भने, ‘सिद्धबाबा सडक सुधार्न कुनै सरकारले पहल गरेन ।’

यो सडकबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङलगायत १२ जिल्लाका सवारीसाधन गुड्छन् । सिद्धबाबा क्षेत्रमा माथि पहाड छ । तल तिनाउ बग्छ । ‘डुम्रेबाट बुटवलसम्म निकै डर लाग्छ,’ बसचालक चन्द्रबहादुर थापाले भने, ‘दोभानबजार कटेपछि रामराम भन्दै चिडियाखोला पुगिन्छ ।’ बर्सेनि दुर्घटना हुँदा पनि सरकारले यात्रा सुरक्षित बनाउन नसकेको उनको गुनासो छ ।

कहिले रकनेट, रकसेडको चर्चा चल्छ । सुरुङमार्ग, मिनी टनेल निर्माण र पूरै पहाड काट्नेसम्मका विषयमा छलफल हुन्छ । तर कुनै काम अघि बढेका छैनन् । ‘दैनिक बुटवल आउने जाने गर्नुपर्छ, सधैं त्रासको यात्रा हुन्छ,’ तिनाउ ३ का विष्णु पाण्डेयले भने, ‘सबैभन्दा बढी डर लाग्ने चार किमि हो ।’ सिद्धबाबा मन्दिर आउने श्रद्धालुसमेत पहिरोमा परेका छन् । ढुंगाले लागेर ज्यान गुमाएका छन् ।

सडक डिभिजन कार्यालयका इन्जिनियर पवित्रमणि आचार्यका अनुसार यस क्षेत्रमा जति राम्रो काम गर्दा पनि सडक टिकाउन सकिँदैन । ‘भौगोलिक संरचनाले नै समस्या ल्याएको छ,’ उनले भने, ‘माथिबाट ढुंगा खसेर सडक भत्केको हो ।’ सडक सुरक्षित बनाउन बुटवलदेखि दोभान, झुम्सासम्म सुरुङमार्ग, हाफ टनेल, बेन्चकट, रकनेटलगायत प्रविधि अपनाउन सकिने बहस चलेको छ । सडक डिभिजनले पनि वैकल्पिक योजना बनाएको छ तर कुनै पनि निष्कर्षमा पुगेका छैनन् ।

राजमार्गको झुम्साबाट चौकीभन्ज्याङ हुँदै पूर्वपश्चिम राजमार्गको चरङ्गे धागो कारखाना जोड्न ट्रयाक खुलेको छ । सडक डिभिजनले गरेको सर्भेमा अहिले जिल्ला समन्वय समितिले काम अगाडि बढाएको छ । झुम्साबाट १६ किमिमा धागो कारखाना निस्किइन्छ ।

जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्यालले पूर्वपश्चिम राजमार्गबाट सिद्धार्थ राजमार्ग जोड्न वैकल्पिक मार्ग हुने हुने बताए । ‘ट्रयाक खोल्न स्थानीय तहबाट सहयोग भएको छ,’ उनले भने, ‘बाँकी स्तरोन्नति गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।’ आगामी आवका लागि प्रदेश सरकारले १० करोड विनियोजन गरेको छ ।

विज्ञ समूहसँग पनि छलफल भइरहेको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । ‘सबैभन्दा उत्तम विकल्प तल्लो सिद्धबाबादेखि नै उच्च प्रविधिमार्फत बेन्च कट गरेर चौडा गर्ने नै हो,’ मुख्यमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने । यसबाट रूपन्देही र छिमेकी जिल्लामा ढुंगा, गिट्टीको मागसमेत धान्न सकिन्छ । सुरुङमार्गको काम अघि बढै गर्दा मुख्यमन्त्रीले विज्ञसँग छलफल चलाइरहेका छन् । खानी विभागसँग समन्वयमा वातावरणीय प्रभाव मूल्यांकन गरी काम अगाडि बढाउने योजना बनेको केसीले बताए । ‘चुरे क्षेत्र र वन पर्ने भएकाले बाधाअड्चन फुकाउन छलफल चलेको छ,’ उनले भने ।

वैकल्पिक मार्ग खुलेपछि काम गर्न सहज हुने भएकाले आगामी बजेटमा त्यसलाई समेत समेटेर अघि बढ्ने प्रदेश सरकारको योजना छ । अर्को विकल्पमा बेलवास–नुवाकोट–दोभान सडक निर्माणको काम अघि बढेको छ ।

कचल र तिनाउ खोलामा पुल राख्नुपर्ने हुन्छ । एउटा पुलको काम सकिन लागेको छ भने अर्को ठेक्का लागेर काम अघि बढेको छ । चुरे क्षेत्र भएकाले निकै कमजोर भूभाग रहेको प्राविधिकले बताए । पूर्व जाने सवारीसाधनलाई बाँसटारी–झडेवा–खैरेनी पनि अर्को विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । ‘सडक चौडा भइसकेको छ,’ झडेवाका गजेन्द्र पन्थीले भने, ‘अहिले स्तरोन्नति भएकाले वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न मिल्छ ।’

वैकल्पिक सडकबाहेक सिद्धबाबा क्षेत्रमा हाफ टनेलको पनि प्रारम्भिक अध्ययन भएको छ । संघीय सांसद सोमप्रसाद पाण्डेयले भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई सिद्धबाबा क्षेत्रको अवलोकन गराए । उनले सिद्धबाबा खण्डको दीर्घकालीन र अल्पकालीन जोखिम अन्त्य गर्ने छुट्टै योजना बनाएर मन्त्रालयमा पेस गरेका छन् ।

प्रकाशित : श्रावण १४, २०७५ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?