१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिमस्टेक तयारीमा अन्योल

कान्तिपुर संवाददाता

काठमाडौँ — बिमस्टेक शिखर सम्मेलनको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयले हल, भीआईपी पाहुनाका लागि गाडी, रिट्रिट स्थललगायतको टुंगो लगाउन सकेको छैन । सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ ।

बिमस्टेक तयारीमा अन्योल

सम्मेलनमा सहभागी हुने राष्ट्र/सरकार प्रमुखलाई आयोजकका तर्फबाट दिइने रिट्रिटका लागि लैजाने उपयुक्त ठाउँ खोजी भइरहेको परराष्ट्र अधिकारीहरूले बताएका छन् । ‘गोकर्ण लैजाउँm जोरपाटीको बाटो त्यस्तो छ, नगरकोट लैजाउँm कमलविनायकको सडक ध्वस्त छ, चन्द्रागिरि लैजाउँm कलंकीको हालत उस्तै छ,’ परराष्ट्रका एक अधिकृतले भने, ‘घुमिफिरी त्यही धुलिखेलबाहेक अन्त लान सक्ने देखिएको छैन ।’ ठूलो बाटो र उद्घाटन स्थलबाट अलि टाढा भएकाले धुलिखेल ठीक हुने भए पनि सार्कका पाहुनालाई त्यहीं लगिएकाले परराष्ट्र नयाँ ठाउँको खोजीमा छ । ‘यसपालि पनि सार्कमै आएका मान्छे धेरै हुन्छन् । त्यसैले ठाउँ नदोहोर्‍याउँm कि भनेको,’ ती अधिकारीले भने । सार्क सदस्यमध्ये बिमस्टेकमा पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सबाहेक सबै छन् । यीबाहेक थाइल्यान्ड र म्यानमार पनि यसमा छन् ।


संकट ‘रिट्रिट’ स्थलको मात्र हैन, गाडी र उद्घाटन हलको पनि छ । यति ठूलो सम्मेलन उद्घाटन गर्न मिल्ने हल नभएको भन्दै परराष्ट्रले सोल्टी होटलको विकल्प अघि सारेको छ । २०७२ मंसिरमा सार्क शिखर सम्मेलनका बेला भने राष्ट्रिय सभागृहलाई अन्तर्राष्ट्रिय सभासम्मेलन हलका रूपमा प्रयोग गर्ने भनिएको थियो । त्यसका लागि करोडौं खर्च गरेर सभागृह मर्मत र नयाँ भवन निर्माणसमेत गरिएको थियो । सभागृहमा अन्य कार्यक्रम गर्न बन्द पनि गरिएको थियो । दस वर्षदेखि सभागृहमा सञ्चालित अन्तर्राष्ट्रिय फिल्म महोत्सवसमेत अन्यत्रै गरिएको थियो । तर, अहिले परराष्ट्रले त्यसको पनि विकल्प खोजेको छ । ‘छलफल सत्रहरू होटलमै गर्नुपर्ने भएपछि पाहुनालाई राखेकै होटलमा उद्घाटन र समापन गर्नु ठीक होला भन्ने लागेको हो,’ अर्का परराष्ट्र अधिकारीले भने ।


पाहुनाका लागि गाडीको पनि छुट्टै झमेला छ । नेपालमा विशिष्ट व्यक्तिले चढ्ने सुरक्षित गाडी नभएको भन्दै सार्कमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीले आफ्नै गाडी ल्याएका थिए । यसपालि कसले आफैं ल्याउने, कसका लागि नेपालले व्यवस्था गर्ने भन्ने टुंगो लागेको छैन । सार्कमा गाडीको समस्या देखेर कतारले नौवटा ई–सिरिजका मर्सिडिज उपलब्ध गराएकामा दुईवटा मात्र उपयोगमा छन् । यत्तिकै थन्क्याएर राखिएका तिनै गाडी निकालेर प्रयोग गर्ने विकल्प भने सरकारसँग छ ।

बिमस्टेकअघि सबै देशका परराष्ट्रमन्त्रीको बैठक पनि हुन्छ । यी सबै तयारीमा ध्यान दिनुपर्ने बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने युरोप भ्रमणमा निस्केको परराष्ट्र अधिकारीहरू बताउँछन् ।

प्रकाशित : श्रावण १४, २०७५ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?