कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सम्बन्धन विरोधमा विश्वविद्यालय ठप्प

कान्तिपुर संवाददाता

काठमाडौँ — कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले ८ वटा निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा विद्यार्थी र प्राध्यापकले १९ दिनदेखि विश्वविद्यालय र आंगिक क्याम्पस ठप्प पारेका छन् ।

सम्बन्धन विरोधमा विश्वविद्यालय ठप्प

प्रत्येक प्रदेशमा आंगिक क्याम्पस खोल्ने प्रक्रिया अघि बढाउनुको सट्टा निजीलाई सम्बन्धन दिइएको भन्दै विरोध उनीहरूले जनाएका हुन् ।

असार २७ गतेदेखि आन्दोलित विद्यार्थी र प्राध्यापकले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर विरोध जनाएका छन् । ‘भर्खर स्थापना भएको विश्वविद्यालयको शैक्षिक कार्यक्रम धराशायी छ, खुलेका आंगिक क्याम्पसले न्यूनतम पूर्वाधार पनि पूरा गर्न सकेका छैनन्,’ नेपाल राष्ट्रिय प्राध्यापक संगठनका कोषाध्यक्ष होमनाथ गिरीले भने, ‘विगतमा भएका सहमतिविपरीत सम्बन्धन दिने निर्णय भयो ।’

विश्वविद्यालयले ४ वर्षअघि नै सम्बन्धन दिने प्रक्रिया थालेपछि २४ निजी कलेजले आवेदन दिएका थिए । त्यतिबेला पनि प्राध्यापक र विद्यार्थीको आन्दोलनले सम्बन्धन रोकिएको थियो । आन्दोलनकारी शिक्षक, विद्यार्थी र विश्वविद्यालयबीच २०७४ भदौमा सम्बन्धन रोक्ने सहमति भएको थियो । अहिले त्यो सहमति तोडिएको अखिल क्रान्तिकारीका नगेन्द्र दाहालले बताए ।

विश्वविद्यालयका पोखरा, धनकुटा, सिन्धुली र कैलालीमा सम्बन्धनप्राप्त क्याम्पस सञ्चालनमा छन् । केन्द्रीय क्याम्पस रामपुरमा कृषि र हेटौंडामा वनविज्ञानको पठनपाठन हुँदै आएको छ । विश्वविद्यालयले सम्बन्धन लिन निजीलाई दुई बिघा जमिन भए पुग्ने तर आंगिकलाई आठ बिघा चाहिने विभेदपूर्ण मापदण्ड बनाएको नेविसंघका मन्दीप पोखरेलले बताए । विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले भने चार वर्षअघि नै लिएको दरखास्तअनुसार निजी र आंगिक क्याम्पसलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको बताए ।

प्रकाशित : श्रावण १४, २०७५ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?