कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुटु उपचारको बजेट रोकियो

ठाकुरसिंह थारू

नेपालगन्ज — अर्थ मन्त्रालयले चालु आर्थिक वर्षदेखि भेरी अञ्चल अस्पताललाई उपलब्ध गराउँदै आएको मुटु उपचार बजेट रोकेको छ । औषधि अभावले बिरामीको उपचारमा बाधा पुगेको छ । आर्थिक अवस्था कमजोर भएका बिरामी महँगो औषधि किन्न नसक्दा सास्ती खेप्न बाध्य छन् ।

मुटु उपचारको बजेट रोकियो

चिकित्सक र स्वास्थ्यकर्मी पारिश्रमिकबाट वञ्चित छन् । अञ्चल अस्पतालमा दुई वर्षअघि क्याथ ल्याब जडान भएपछि एन्जियोग्राफी परीक्षण सेवा सुरु गरिएको थियो । उक्त सेवाका लागि अर्थ मन्त्रालयले चार वर्षसम्म वार्षिक एक करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति छ । मन्त्रालयले चालु वर्षका लागि आउनुपर्ने बजेट रोकेको हो ।

कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. कृष्ण अधिकारी र डा. विपिन आचार्यसहित १५ स्वास्थ्यकर्मी कार्यरत छन् । ‘नयाँ आर्थिक वर्षमा बजेट रोकिएपछि मुटुरोगीको उपचारमा चुनौती थपिएको छ । आवश्यक पर्ने औषधि बाहिरबाट किन्नुपर्ने बाध्यता छ,’ डा. आचार्यले भने, ‘सरकारी अस्पतालमा मुटु उपचार गर्न आउने गरिब हुन्छन् । अझ अहिले बजेट रोकिएको सुनेको छु ।’ यसअघि पनि ढिलो गरी आउने गरेको थियो । उनका अनुसार अञ्चल अस्पताल एक वर्षमा ८० हृदयघात भएका बिरामीको ज्यान जोगाउन सफल भएको छ । डेढ सयभन्दा बढीको उपचार भएको छ ।

‘यस्तो संवेदनशील क्षेत्रको बजेट सरकारले तत्काल पठाएन भने उपचारमा समस्या हुन्छ,’ उनले भने । ६ करोड ५० लाख खर्च गरेर क्याथ ल्याब जडान भएपछि एन्जियोग्राफी परीक्षण र पेसमेकर राख्न थालिएको थियो । अस्पतालले ०७३ सालदेखि मुटुसम्बन्धी बहिरंग सेवा सञ्चालन गरेपछि बिरामीले उपचार पाएका छन् । अञ्चल अस्पताल प्रमुख डा. प्रकाश थापाले बजेटबारे केन्द्रमा सम्पर्क गर्दा भुलबस मुटुरोग उपचार शीर्षकको बजेट छुटेको जवाफ पाएको बताए ।

‘किन बजेट आएन भनेर सोधिसकेका छौँ । भुलबस छुटेकाले बजेट पठाउने आश्वासन पाएका छौँ,’ उनले भने, ‘चार वर्षका लागि भएको सहमतिअनुसार पनि बजेट पठाउँनैपर्ने हो ।’ उक्त अस्पतालले काठमाडांैस्थित गंगालाल अस्पतालसँग सहकार्य गरेर क्याथ ल्याब जडान गरी सेवा सुरु गरेको थियो । उपचारका लागि आउने मुटुरोगीमध्ये करिब ७० प्रतिशत उच्च रक्तचापसँग सम्बन्धित छन् । यस्तै जन्मजात मुटुको समस्या भएका, मुटुको चाल गडबडी भएका, मुटुको वरिपरि पानी जमेका र मुटुको बाथ रोगसम्बन्धी समस्या भएकाहरू उपचारका लागि आउने गरेको चिकित्सकले बताए ।

प्रकाशित : श्रावण १४, २०७५ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?