१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

रासस/याेन्हाप

काठमाडौँ — मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्ट र महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धताको घोषणा गरे ।  

इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

सो अवसरमा मन्त्री विष्टले बालश्रम सभ्यता, मानवीयता र न्यायको दृष्टिले कलंक रहेको बताउँदै २०८५ सालसम्म हरेक क्षेत्रको बालश्रम अन्त्य गर्न व्यवस्थित कार्ययोजना बनाएर कार्यान्वयन गरिने बताए । मुलुकबाट बालश्रम निवारणको सन्दर्भमा यस घोषणालाई प्रभावकारी बनाउन श्रम कार्यालयमार्फत अनुगमन गरिने उनले बताए ।


देशभरका इँटा उद्योगमा बालश्रमको अन्त्य भएको यस घोषणसँगै अब अन्य जोखिमयुक्त क्षेत्रमा रहेका बालश्रम उन्मूलन गरिने उनको भनाइ थियो ।


इँटा उद्योगबाट बालश्रममुक्त घोषणा गरिनु अत्यन्त महत्वपूर्ण र बालश्रममुक्त देश घोषणा गर्न कोशेढुंगा सावित भएको उल्लेख गर्दै मन्त्री विष्टले भने, “यस घोषणाले बाल श्रममुक्त देश घोषणा गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछ, यो घोषणा ज्यादै महत्वपूर्ण र सम्मानयोग्य छ, सम्मानित देश, सभ्य देश, कलंकरहित देश घोषणा गर्न कोशेढुंगा सावित हुनेछ ।”


नेपाललाई बालश्रममुक्त घोषणा गर्ने प्रतिबद्धता मात्र नभई बालश्रममा रहेका बालबालिकालाई पुनःस्थापना गरी उनीहरुलाई विद्यालयसम्म पुर्याउन सरकार गम्भीर रहेको बताए ।


अभिभावकसँगै कार्यस्थलमा आउने बालबालिकाको व्यवस्थापन गरी उनीहरुलाई विद्यालयको पुहँचमा पुर्याउन विशेष ध्यान दिइने बताए ।


मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपालबाट सबै प्रकारका बालश्रम पूर्णरुपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने उद्देश्यसहित बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) लागू गरिएको बताए ।


विसं २०७९ सम्ममा अमर्यादित र शोषणयुक्त तथा २०८२ सम्ममा सबै किसिमको बालश्रम निवारण गरिने बताउँदै उनले बालश्रममुक्त राष्ट्रका रुपमा नेपाललाई स्थापित गराउन सरकारका विषयगत निकाय, प्रदेश र स्थानीय तह, गैरसरकारी क्षेत्र र सामाजिक संघसंस्थाको सहयोगको खाँचो औँल्याए ।


उनले चालू आर्थिक वर्षभित्र २५ नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिने जानकारी दिँदै होटल, कलकारखाना, इँटाभट्टालगायत क्षेत्रबाट बालश्रमिकको खोजी गरी जोखिममा परेका बालबालिकालाई पुनःस्थापना गरिने बताए ।


नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इँटा उद्योगमा बालश्रमिकको प्रयोग हुँदा उद्योगको छवि नै बिग्रने भएकाले इँटा उद्योगमा बालश्रमिकको प्रयोगलाई न्यूनीकरण गर्न जरुरी रहेको बताए ।


उनले बालश्रम निवारण राष्ट्रिय गुरुयोजनाको राष्ट्रिय लक्ष्य समयमै हासिल गर्न मुलुकभरको सबै इँटा व्यवसायीको तर्फबाट कुनै पनि इँटा उद्योगमा कुनै पनि प्रकारको बालश्रमको प्रयोग नगरिने सार्वजनिक घोषणा गरे ।


इँटा उद्योगमा कार्यरत मजदुरसँग आश्रित बालबालिकालाई इँटा उद्योगमै दिवा स्याहार केन्द्र स्थापना गरेर आधारभूत शिक्षा प्रदान गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो ।


कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै प्रकृतिका जोखिमपूर्ण काममा लगाउन नपाइने संवैधानिक व्यवस्था छ ।


हाल मुलुकमा करिब एक हजार १ सय इँटा उद्योग सञ्चालनमा रहका छन् भने काठमाडौँ उपत्यकाभित्र ११० उद्योग रहेका छन् ।


ती इँटा उद्योगमा करीब तीन लाख मजदुर कार्यरत रहेका बताइएको छ । कार्यक्रममा नेपालभरका इँटा व्यवसायीका प्रतिनिधिले आजैका दिनदेखि इँटा उद्योगमा बालश्रम उन्मूलन भएको सार्वजनिक घोषणा गरेका थिए ।

प्रकाशित : श्रावण १४, २०७५ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?