कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रतिबन्धित औषधी छ्यापछ्याप्ती, वितरकसहित पसलवाला पक्राउ

विनोद भण्डारी

विराटनगर — औषधी विभागमा दर्ता नभएका र चिकित्सकको पुर्जा बिना विक्री गर्न नपाइने औषधी पूर्वका फार्मेसी पसलमा छ्यापछ्याप्ती पाइने गरेको छ ।

प्रतिबन्धित औषधी छ्यापछ्याप्ती, वितरकसहित पसलवाला पक्राउ

त्यस्ता औषधीमा ‘लागू तथा मनोदिपक’ (यौन उत्तेजना बढाउने) समेत रहेको पाइएको छ । भारतमा उत्पादित त्यस्ता औषधी विराटनगरका विभिन्न फार्मेसी पसललाई उपलब्ध गर्दै गरेको अवस्थामा विक्रेता जीवन अग्रवाललाई आइतबार राती प्रहरीले नियन्त्रणमा लिएपछि यसको रहस्य खुलेको हो ।


अग्रवाल तीन महिनाअघि झापा विर्तामोडको बीएनसी अस्पताल आसपासका फार्मेसी पसललाई यस्तै ओषधी विक्री गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।


उनलाई औषधी व्यवस्था विभागले तारेखमा छाडेको थियो । विभागको शाखा कार्यालय विराटनगरका निमित्त प्रमुख शम्भुप्रसाद पौडेलका अनुसार अग्रवाल अहिलेपनि तारेखमा छन् ।


चिकित्सकको सिफारिस बेगर विक्री गर्न नपाईने र विक्रेताले विक्री गर्दा अभिलेख राखेर मात्र विक्री गर्न पाउने जोलिएम–१०, कोलोनाज, लोरी, ओलीनाज लगायतका लागू तथा मनोदिपक प्रतिबन्धित औषधी न्यूरो अस्पतालको लाइफ सपोर्ट फार्मेसीलाई विक्री गर्दै गरेको अवस्थामा अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस अवसरमा प्रहरीले विभिन्न २८ प्रकारका प्रतिबन्धित औषधी फेलापारेको स्रोतको दावी छ ।


पक्राउ परेका अग्रवालको साथमा रहेको डायरीको आधारमा प्रहरीले विराट मेडिकल कलेज फार्मेसी, म्याक्स इन्टरनेशनल फार्मेसी र मेडी प्लस फार्मेसीमा छापा मार्दा उनले विक्री गरेका थप ४१ ब्राण्डका प्रतिबन्धित औषधी बरामद गरी विराटका सञ्चालक प्रशान्त चौधरी र म्याक्सका सञ्चालक दिपक रायलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतको भनाई छ ।


मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले अग्रवाल पक्राउ परेको र केही फार्मेसीमा छापा मारेको पुष्टि गरेपनि अनुसन्धान जारी रहेकाले घटनाको सवै विवरण तत्काल सार्वजनीक गर्न नमिल्ने वताए ।


विभागले प्रतिबन्ध लगाएका र चिकित्सकको पुर्जा विना विक्री गर्नै नपाईने औषधी पूर्वमा प्रशस्त भित्रिएको छ । विभागका निमित्त प्रमुख पौडेलले भने कार्यालयमा आवश्यक जनशक्ति नहुँदा बजार अनुगमन गर्न नसक्दा यो विकृती बढेको हो ।


औषधी विभागको विराटनगर शाखा कार्यालयमा १० जनाको दरबन्दी छ । त्यसमा ५ जना मात्र कार्यरत छन् । १० औँ तहको अधिकृत कार्यालय प्रमुख हुनुपर्नेमा ७ औँ तहको अधिकृतले कार्यालय चलाउनु पर्ने बाध्यता छ । उनले भने बजार अनुगमन गर्ने प्राविधिक कर्मचारी कार्यालयमा छैनन् ।


पूर्वका विभिन्न १६ जिल्लामा ४ हजार भन्दाबढी फार्मेसी पसल छन् । ती सबै फार्मेसीको अनुगमन गर्न कम्तीमा ५–७ जना प्राविधिकको आवश्यकता पर्छ । पौडेलले भने, ‘अहिले कार्यालयमा दुईजना प्राविधिक छन्, त्यति जनशक्तीले कहाँ कहाँ अनुगमन गर्ने ।’


विभाग स्रोतका अनुसार औषधी विभागमा दर्ता नभएका र प्रतिबन्धीत औषधी विक्री गर्दा फार्मेसी सञ्चालकले उपभोक्तासँग सय गुणा भन्दाबढी मूल्यमा लिइरहेको पनि पाइएको छ । तर सम्बन्धित निकायले जनशक्तिको अभावमा जानकारी पाएर पनि केही गर्न सकेको छैन । प्रहरीले प्रतिबन्धित औषधी बरामद गरेर विभागलाई दिन्छ ।


हामी त्यो औषधी प्रतिबन्धित हो वा होइन पुष्टि गर्न माथिल्लो निकायमा पठाउछौँ । विभाग स्रोतले भन्यो तर माथिल्लो निकायले त्यसको पुष्ट्यायी हतपत गर्दैन ।


विराटनगर शाखाले तीन महिनाअघि विभिन्न १५ ब्राण्डका शंकास्पद औषधीको पुष्टि गर्न माथिल्लो निकायमा पठाएको थियो । स्रोतले भन्यो माथिल्लो निकायले अहिले सम्म त्यसको जवाफ दिएको छैन ।

प्रकाशित : श्रावण १४, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?