के होला पौडेल–सिटौला सम्बन्ध ?

कुलचन्द्र न्यौपाने

काठमाडौँ — ‘अगुल्टाले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ’, केही समयअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाप्रति लक्षित गर्दै सार्वजनिक रूपमै भनेका थिए । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनको अधिवेशनसम्म आइपुग्दा पौडेल र सिटौलाबीच अविश्वास कायम रहेको देखिन्छ ।

के होला पौडेल–सिटौला सम्बन्ध ?

पार्टीको १३ औं महाधिवेशनबाटै पौडेल र सिटौलाबीच अविश्वास बढेको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीले नराम्रो हार बेहोरेपछि सभापति शेरबहादुर देउवाको भूमिका र पार्टी सञ्चालन शैलीलाई लिएर उनीहरू एउटै कित्तामा आइपुगेका थिए ।

डेमोक्रेटिक लयर्स एसोसिएसनको आइतबार सम्पन्न चुनावबाट यी दुई नेताबीच अविश्वास पुनरावृत्ति भएको महसुस कांग्रेस नेताहरूले गरेका छन् ।


एसोसिएसनको चुनावमा पौडेल र सिटौला पक्षबाट छुट्टाछुट्टै प्यानल मैदानमा आए । आआफ्नो प्यानल जिताउन दुवै नेता खटिए पनि ।

सिटौलापक्षीय योगेन्द्र अधिकारीको प्यानलले जितेपछि यी दुई नेताबीचमा कस्तो सम्बन्ध होला ? कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी एउटै घटनाबाट सम्बन्धमा बदलाव नआउने दाबी गर्छन् ।


कानुन व्यवसायीको चुनावमा संस्थापनइतर पक्षबाटै पौडेल र सिटौलाबीचको अलग–अलग प्यानल हुनुमा संस्थापन पक्षको कमजोर उपस्थितिलाई केसीले कारण ठानेका छन् ।

‘संस्थापन पक्षसँग प्रतिस्पर्धा भएको भए हामी एउटै प्यानल बनाएर अघि बढ्थ्यौं, त्यस्तो अवस्था नदेखिएको र व्यावसायिक संस्था भएकाले पनि स्वस्थ प्रतिस्पर्धा हुन दिऊँ भन्ने भयो,’ केसीले भने, ‘संस्थापनइतर पक्षमै अविश्वास खडा भयो भन्ने अुनमान गलत हो ।’


पौडेल र सिटौलाबीचको सम्बन्ध सुधार गर्न केसीकै घरमा कैयौंपटक बैठकसमेत बसेको थियो । १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो ।


पहिलो चरणमा ५१ प्रतिशत नआएपछि दोस्रोपटक सबभन्दा बढी मत ल्याउने देउवा र पौडलबीचको प्रतिस्पर्धामा सिटौलाले देउवालाई सघाए, जसबाट पौडेल र सिटौलाबीच ‘पानी बाराबार’ को स्थिति थियो ।

संसदीय निर्वाचनपछि सिटौला र केसी पार्टी सञ्चालनमा सभापति देउवाको कार्यशैली र भूमिकाको आलोचना गर्ने मुद्दामा एकै ठाउँमा आइपुगे । केसी १३ औं महाधिवशेनमा देउवा पक्षबाट महामन्त्रीका उम्मेदवार थिए ।


१४ औं महाधिवेशनसम्म संस्थापनइतर पक्ष एकजुट भएर जान पौडेल र सिटौला दर्जन बढी बैठक बसेका छन् । दुई नेतालाई एक ठाउँमा ल्याउन थुप्रै असमझदारी चिर्दै अघि बढेको केसी सुनाउँछन् ।

‘दुई नेताबीच विगतलाई लिएर बेलाबखत असमझदारी नदेखिएको होइन,’ केसी भन्छन्, ‘हामी १४ औं महाधिवेशनसम्मै संयुक्त रूपमै अघि बढ्छांै । यसले केही असर गर्दैन ।’


यसअघि पौडेल र सिटौला समूहले शिक्षक संघ, कर्मचारी युनियन र ट्रेड युनियन कांग्रेसमा मिलेरै संयुक्त प्यानल अघि सारेको थियो ।

सिटौला पौडेलसँग मिल्दा पार्टीको तल्लो निकाय र पंक्तिमा संस्थापन पक्ष कमजोर बनेको थियो । यसपटक पहिलाको जस्तो एकता देखिएन ।


‘आफ्नो छाताभित्र सिटौला आइसकेपछि आफूले भनेको उम्मेदवारलाई मान्नुपर्छ भन्नेमा पौडेल देखिए, बलियो र प्रभावशाली हुँदा पनि सानो गुट भएकै कारणले उम्मेदवार नै हुन नपाउने हो त भन्ने सिटौलामा पर्‍यो,’ पौडेल पक्षीय एक नेताले भने, ‘यसले दुई नेताबीच केही अविश्वास पक्कै सिर्जना गरेको छ ।’


केन्द्रीय सदस्य प्रदीप पौडेल पछिल्लो यो घटनाले पौडेल र सिटौलाबीचको सम्बन्धमा केही चिसोपना आउन सक्ने संकेत गर्छन् । ‘यसअघि मिलेर जाने र अहिले छुट्टाछुट्टै उम्मेदवार दिँदा केही असर पर्ने देखियो,’ सिटौलानिकट रहेका पौडेलले भने, ‘यही नै अन्तिम भने होइन ।’

दुई नेताबीचको अविश्वास मात्रै नभएर व्यावसायिक संस्था र कानुन व्यवसायीबीचकै आन्तरिक प्रतिस्पर्धाले पनि प्रभाव पार्ने काम गरेको पौडेलले बताए ।

प्रकाशित : श्रावण १४, २०७५ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?