लिम्बूको उद्धार गर्न ब्लडमनी संकलन सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — झन्डै ३१ लाख ५९ हजार रुपैयाँ ब्लडमनी र क्षतिपूर्ति तिर्न नसकेर साउदी अरबबाट निस्कन नसकेका प्रशान्त लिम्बूलाई उद्धार गर्न प्रवासी नेपाली समन्वय समितिले सोमबारदेखि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ ।

लिम्बूको उद्धार गर्न ब्लडमनी संकलन सुरु

सवारी अनुमतिबिनै गाडी चलाउँदा दुर्घटनामा परेका बुद्धशान्ति–४, झापाका लिम्बूले अदालतमा १ लाख १२ हजार ५ सय रियाल (३१ लाख ५० हजार रुपैयाँ) बुझाएपछि मात्रै स्वदेश फर्कन पाउने जानकारी नेपाली दूतावासले दिएको छ । अदालतको फैसलाअनुसार लिम्बूले ८ महिनाको जेल सजाय भुक्तान गरेका छन् ।


२९ अप्रिल २०१७ मा उनले चलाएको गाडीलाई पछाडिबाट आएको गाडीले ठक्कर दिँदा साउदी नागरिकको ज्यान गएको थियो ।


‘अदालतको २०१८ मे १५ को फैसलामा दुर्घटनामा लिम्बूको ७५ प्रतिशत गल्ती देखाई ब्लडमनीबापत साउदी रियाल २ लाख २५ हजार तिर्न आदेश दिइएको छ, दुर्घटनामा एउटा कार पनि क्षति भएकाले क्षतिपूर्तिबापत साउदी रियाल १५ हजार तिर्नुपर्ने फैसला भएको छ,’ नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘ब्लडमनी एवं क्षतिपूर्तिको आधा रकम लिम्बूले र आधा कम्पनीले तिर्नुपर्नेछ ।’


लिम्बूसँग सवारी लाइसेन्स नभएको र गाडीको बिमासमेत नभएकाले साउदी अदालतले चालकको ७५ प्रतिशत दोष देखाएको हो ।


‘म काम गर्ने कम्पनीमा कसैको पनि लाइसेन्स छैन,’ लिम्बूले भने, ‘लाइसेन्सबिना गाडी चलाउँदिनँ भन्दा मालिक पिट्न आए । उनले तलमाथि भए जिम्मेवारी लिन्छु भनेका थिए तर दुर्घटनामा परेपछि पन्छिए । मालिकले मेरो जिम्मेवारी नलिएपछि कम्पनीमा कार्यरत २५ नेपाली ड्राइभरले छाडेर हिँडिसके ।’


परिवारको सहमतिमा प्रवासी नेपाली समन्वय समितिले ब्लडमनी संकलन गर्न अभियान थालेको हो ।


‘हामीले एक वर्षदेखि उहाँको उद्धारका लागि राज्यको ढोका ढक्ढकाइरहेका छौं’, लिम्बूकी श्रीमती कमलाले भनिन्, ‘साउदीबाट निकाल्नका लागि रकम बुझाउनैपर्ने स्थिति भयो । हामी आफैंले यत्रो रकम जुटाउन सक्ने स्थिति छैन ।’

प्रकाशित : श्रावण १४, २०७५ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?