१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पौडेलको प्रश्न- 'लोकसेवाको जाँच दिँदा त्यही सर्टिफिकेट मान्य, अहिले कसरी अमान्य?'

प्रताप रानामगर

तनहुँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाइ विशेष समितिले अनुमोदन नगरे उनको नाम सिफारिस गर्ने संवैधानिक निकायका पदाधिकारीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । 

पौडेलको प्रश्न- 'लोकसेवाको जाँच दिँदा त्यही सर्टिफिकेट मान्य, अहिले कसरी अमान्य?'

कांग्रेस तनहुँले मंगलबार निकालेको र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन् । ‘संवैधानिक परिषद्को निर्णय सुनुवाई समितिले उल्टाउने हो भने, पहिलो कारबाही परिषद्कै पदाधिकारी प्रधानमन्त्री केपी ओली, सभामुखलाई कारबाही गर्नुपर्छ, सबै पदाधिकारीलाई निकाल्नुपर्छ,’ उनले भने ।


नेता पौडेलले कामु प्रधानन्यायाधीश जोशीको दोष नभएको दाबी गर्दै उनको पद धरापमा पारिएको आरोप लगाए । ‘प्रधानन्यायाधीशमाथि धावा बोलिएको छ । अहिले सर्टिफिकेट भएन भन्ने हो भने सुरुमा लोकसेवामा जाँच दिँदा त्यस सर्टिफिकेट कसरी मान्य भयो ?’ पौडेलको तर्क थियो, ‘न्यायाधीश हुँदै सर्वोच्चको प्रधानन्यायाधीशमा पुगेपछि मात्र सर्टिफिकेट कसरी अमान्य ?’


प्रधानन्यायाधीशमा सिफारिस जोशीको संसदीय सुनुवाइ भए पनि सत्तारुढ र विपक्षी सांसदहरुबीचको फरक मतका कारण निर्णय हुन सकेको छैन । कामु प्रधानन्यायाधीशसमेत रहेका जोशीको शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेको भन्दै सत्तापक्षका सांसदहरु जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न नहुने कित्तामा उभिएका छन् ।

कम्युनिस्ट नेतृत्वको सरकारले लोकतन्त्र विरुद्ध अदालतदेखि अख्तियारसम्मको सात्लोपुत्लो लिएर मुलुकमा हालीमुहाली गरेको भन्दै पौडेलले सरकारलाई नियन्त्रण गर्ने जनताबाहेक कोही नभएको बताए ।


जनतालाई अनेक किसिमले ढाँटेर कम्युनिस्टहरुले ल्याएको दुई तिहाई बहुमत दुरुपयोग भएकोसमेत पौडेलले दाबी गरे । ‘दुई कम्युनिस्ट मिलेर बहुमत ल्याए, जनतालाई ढाँटेर सदनमा पुगे,’ उनले भने, ‘त्यो नेपाली जनताविरुद्ध प्रयोग भइरहेको छ । उनीहरुको हातमा पुगेको दुई तिहाई बाँदरको हातमा नरिवल बनिरहेको छ ।’


उनले सरकारले देशमा सुशासन कायम गर्नुको साटो महँगी बढाउने, जथाभावी कर लगाउने, भ्रष्टाचार बढाउने कार्य गरेको आरोप लगाए । सरकारले वाइडबडी जहाज किन्दासमेत अर्बौं–अर्ब भ्रष्टाचार गरेको भन्दै पौडेलले यी भ्रष्टाचारका उदाहरण मात्र भएको बताए ।

उनले ओली सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए । सरकारलाई खबरदारी गर्नका लागि कांग्रेसले देशभर विरोध प्रर्दशन गरेको उनले बताए । 'प्रधानमन्त्री ओलीलाई सच्चिओस् भनेर देशभर सांकेतिक विरोध कार्यक्रम हो ।’ ओली सरकार नसच्चिए निर्णयक आन्दोलन गर्ने नेता पौडेलले चेतावानी दिए ।


कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेको नेतृत्वमा सुरु भएको विरोध र्‍यालीमा केन्द्रीय सदस्य शंकर भण्डारीसमेत सहभागी थिए । कांग्रेस तनहुँको पार्टी कार्यालबाट सुरु भएको विरोध र्‍याली सफासडक, मुख्यचोक हुर्दै डांग्रेखोल्सी, गणेशमानचोक हुँदै अनचौतारीमा पुगी विरोध सभामा परिणत भएको थियो । विरोध र्‍यालीमा गाउँ गाउँबाट कार्यकर्ता सदरमुकाम दमौली झरेका थिए ।

प्रकाशित : श्रावण १५, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?