१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ढिलासुस्ती मान्य नहुने गृहमन्त्रीको चेतावनी

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र मातहतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । 

ढिलासुस्ती मान्य नहुने गृहमन्त्रीको चेतावनी

गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे म‌ंगलबार गृह मन्त्रालयमा आयोजित समीक्षा बैठकमा गृहमन्त्री थापाले कार्ययोजना कार्यान्वयन सन्तोषजनक रहेपनि अझै गति बढाउन आवश्यक रहेको बताए । उनले भने, 'प्राविधिक कारणले केही बुँदामा ढिलासुस्ती भएको भए केही छैन । अन्यथा जानाजान ढिलासुस्ती गरिएको हो भने त्यो मान्य हुनेछैन ।' उनले मन्त्रालयले दिएको जिम्मेवारीअनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिबद्ध भएर काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए ।


उनले भने, 'अहिले हामी सक्रिय भएपछि अपराधीहरु निस्कृय जस्तो देखिएका छन्, मौका मिल्ने बित्तिकै उनीहरु फेरि सक्रिय हुन्छन् । त्यसैले उनीहरुको सञ्जाल तोडिने गरी काम गर्नुहोस् ।' उनले यो अवधिमा यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करीलगायत क्षेत्रमा बेथिति अन्य गर्न सफलता मिलेको भन्दै यसका लागि मातहतका कर्मचारी र प्रहरीहरुलाई धन्यवाद दिए ।


कार्यक्रममा गृह मन्त्रालयमा सचिव प्रेमकुमार राईले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिइने स्पष्ट पारे ।


बैठकमा गृह मन्त्रालयअन्तर्गतका महाशाखा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभागले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाअनुरुप आफूहरुले हालसम्म गरेका कामकारवाहीको विवरण प्रस्तुत गरेका थिए । ती ८२ बुँदे मध्ये ७२ ओटा बुँदा केही कार्यान्वयनमा आइसकेको, केही कार्यान्वयनको प्रक्रियामा रहेको तथा १० बुँदा भने अझै काम सुरु नभएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो ।

प्रकाशित : श्रावण १५, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?