कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गोठालोलाई गोठै प्यारो

हरि गौतम

रुकुम पश्चिम — भैंसी लिएर लेक पुगेका कमानसिंह पौडेलको जीवन रसिलो छ । भैंसीको दही, मोही र घिउले उनको ज्यान बलियो बनाएको छ । गोठलोलाई गोठै प्यारो भएर होला, उनी यसमै खुसी छन् ।

गोठालोलाई गोठै प्यारो

बाँफिकोट गाउँपालिका–२, भलाचौरका ६१ वर्षीय पौडेल केही दिनदेखि स्याम्जा लेकमा छन् । फागुन अन्तिम साता १६ वटा भैंसी लिएर लेक उक्लेका उनी हालै स्याम्जा पुगेका हुन् । लेकमा धेरैवटा खर्क छन्, कतै चैत–वैशाखमा पर्याप्त घाँस पाइन्छ, कतै असार–साउनमा । पालैपालो ती खर्कमा भैंसी डुलाउँछन् । साउने खर्कको घाँस खुवाउन उनी स्याम्जा पुगेका हुन् । ५० वर्षदेखि उनी यसैगरी लेकमा बिताइरहेका छन् ।


खरले छाएको सानो गोठभित्र छेवैमा पाडापाडी बाँधेर सुत्छन् । झरीको आवाज, तपतप पानी चुहिने गोठ, भैंसी र पाडापाडीका साथै जंगली पशुपन्छी र जनावर कराएको आवाजले उनलाई मीठो निद्रा लाग्छ । दूधको कराई, दहीका ठेकीसँगै जुधेको चुलोबाट चौबीसै घण्टा धूवाँ निस्किरहन्छ । अँगेनाभरि राखिएका दाउरा नसकिएसम्म गोठको चुलोमा आगो निभ्दैन । पौडेल ६ महिनादेखि एक्लै छन् । लेक उक्लिएपछि भैंसीका बथान र पाडापाडी उनका साथी बनेका छन् । कहिलेकाहीं जंगली जनावर र पशुपन्छी नजिकै आएर जिस्क्याउँछन् । कहिलेकाहीं बेसीबाट पिठो, चामल लिएर लेक उक्लने आफन्त पनि उनलाई जिस्क्याउन आएजस्तै लाग्छ ।


पौडेल मात्रै होइन, हिजोआज बाफिकोटका अन्य लेकका गोठमा पनि धेरै गोठाला छन् । उनीहरू आ–आफूलाई पायक पर्ने लेकतिरै भैंसी चराउँछन् । विशेषगरी पशुवस्तु र पहाड, खोंच, भीर, पाखा उनीहरूका परिचित क्षेत्र हुन् । ६ महिनाभन्दा बढी गोठमा बिताउने भए पनि उनीहरू बस्ने गोठ कहिल्यै व्यवस्थित हुँदैनन् । अलि–अलि प्रकाश र पानी छल्ने खालको गोठमा आधा वर्ष बिताउँछन् । ‘राम्रोमा बस्ने भए त बेसीतिरै घर छन् नि,’ पौडेलले भने, ‘हामी गोठमा आनन्दले बस्छौं, गोठमा बसेकै कारण कुनै अप्ठ्यारो भोग्नुपरेको छैन ।’ चरन क्षेत्रमा छाडिएका भैंसी आफैं गोठमा फर्कन्छन् । दुहुना भैंसी दूध दुहुने समय टुप्लुक्क दाम्लामा आइपुग्छन् भने अन्य पनि समयमै गोठ फर्किन्छन् । भैंसी चर्ने समयमा पाडापाडीका लागि घाँस जुटाउन र आफ्ना लागि सागसब्जी खोज्नमै गोठालाको दिन बित्छ ।


गोठालाको खान्कीमा दूध, दही र हरियो साग कहिल्यै छुटदैन । दूध र दही खाएर सकिँदैन । जंगलको साग र च्याउले उनीहरूलाई थप पौष्टिक तत्त्व दिन्छ । प्राय: बिरामी पनि हुँदैनन् । ‘बेसीबाट पिठो, चामल पुग्न ढिला भएको बेला दूध, दही, सागसब्जी नै हाम्रो खाना हो,’ गोठाला भीमबहादुर खत्रीले भने, ‘पिठो, चामल सकिँदै जाने र घरबाट आइपुग्न ढिला हुने जस्तो भयो भने अन्न थोरै, गोरस धेरै खान्छौं ।’


बेसीको घाँसपात सकिएर न्यानो समय सुरु भएसँगै बस्तुभाउ आफंै लेक उक्लन आतुर हुन्छन् । गर्मी नहुने, रोजाइको घाँस पाइने भएकाले बस्तुभाउको रोजाइ पनि गोठ नै बन्ने गरेको छ । हिउँदमा कमजोर भएका बस्तुभाउ मात्रै होइन, गोठाला पनि गोठबाट फर्कंदा हृष्टपुष्ट हुन्छन् । गोठालाहरू बस्तुभाउ पालेर मात्रै बस्दैनन्, घरपरिवारका लागि आम्दानीको जोहो पनि गरिरहेका हुन्छन् । विशेषगरी गोठालाले घिउ उत्पादन गरेर बिक्री गर्छन् भने डोको, नाम्लो, मान्द्रो, सुपो, कोठाजस्ता घरायसी सामग्री तयार गरेर बेच्ने गर्छन् ।


फागुन अन्तिम सातादेखि बेसी छाड्ने गरेका बस्तुभाउ तथा गोठाला असोज अन्तिम तथा कात्तिकको दोस्रो सातासम्म बेसी झरिसक्छन् । बाँफिकोट गाउँपालिका–१ र २ का झिझिकाँडा, डम्माना, लसुने, गोब्रेनी, स्याम्जा, राम्रीडाँडा, कालापानी, निगालेनी, समाइजा, विरी, दहवन, भनभने, रैसेनी, पाथिफेरे, भालुखोला, मोतेगैरा, जरेना, तुवाङ, तल्लाचौर, सेतापैरा, ठूलागैरालगायत ठाउँमा गोठ छन् । त्यस्तै असुवी, हापुडाँडा, सल्लेधारा, डोप्टे, रुजीखोला, डोप्टे, मुलथला, कालाखर्क, भेरीखोला, पाटनामा पनि गोठालाको बसोबास छ ।


बाँफिकोट गाउँपालिका–२, जिपुका ७५ वर्षीय रत्ने खत्रीलाई हिजोआज खसखस भइरहन्छ । हरेक वर्षको सात महिना गोठमा बिताउने उनी यो वर्ष गोठ उक्लेनन् । गोठ जाने उनको बहाना गत वैशाखबाट सकियो । सातवटा भैंसी बिक्री गरेर उनी यो वर्ष बेसीकै घरमा बसेका छन् । गोठ गएरै छोराछोरी पढाएका उनी यो वर्ष गोठ उक्लन नपाएकामा दु:खी छन् । ‘गएको ठाउँ, डुलेघुमेका रनवन गइरहन मन लाग्छ तर अब गोठ जाने भैंसी नै छैनन्,’ उनले भने । २० वटाभन्दा बढी भैंसी पाल्ने खत्री हरेक वर्ष सात बाकस घिउ बेच्थे ।


गोठ बस्नेहरू समयअनुसार बदलिएका पनि छन् । सेतापैरा गोठाला जाने भीमबहादुर खत्रीसँग मोबाइल छ । केही खबर गर्न परे उनी मोबाइलबाटै घर सम्पर्क गर्छन् । कमानसिङ पौडेलले भैंसीको बिमा गरेका छन् । गत वर्षदेखि उनले आफ्ना सबै भैंसीको बिमा गराएका हुन् । ‘केही तलमाथि भइहाल्यो भने क्षतिपूर्ति पाइने भएकाले बिमा गराएको हुँ,’ उनले भने ।

प्रकाशित : श्रावण १६, २०७५ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?