कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घेराबन्दीमा मोहनपुर

तीनतिरबाट मोहना नदीले घेरिएका यहाँका बासिन्दा डुंगामा जोखिम मोल्न बाध्य छन् । बाढी आएपछि कयौंपटक विद्यार्थी भोकै विद्यालयमै अड्केका छन् ।
मोहन बुढाऐर

हसुलिया (कैलाली) — कैलारी गाउँपालिकामा पर्ने सीमा नदी मोहनापारि एकान्त बस्ती छ, मोहनपुर । यहाँका ५ कक्षाभन्दा माथिका विद्यार्थी बर्खाभर डुंगामा आउजाउ गर्छन् । ठूलो बाढी आउँदा डुंगा पनि बन्द हुन्छ । बाढीकै कारण बालबालिका घर फर्कन नपाएर भोकै विद्यालयमै बस्न बाध्य हुन्छन् ।

घेराबन्दीमा मोहनपुर

यो गाउँमा कक्षा ५ सम्मको प्राथमिक विद्यालय मात्रै छ । स्थानीय हरिलाल चौधरीले प्राथमिक तहभन्दा माथिको शिक्षा आर्जन गर्न बालबालिकालाई नदीपारिको भित्रिया र हसुलिया गाउँ पठाइने गरेको बताए । ‘बर्खाका ३/४ महिना नदीमा पानी बढेर वारपार गर्नै समस्या हुन्छ,’ उनले भने, ‘डुंगाबाट जानुपर्ने बाध्यता छ ।’


भारतको दुदुवा नेसनल पार्कको एउटा कुनासँग मात्रै जोडिएको यो नेपाली बस्तीलाई मोहना नदीले तीनतिरबाट घेरेको छ । सरकारी कामकाजबाहेक यहाँका बासिन्दाको दैनिक सम्बन्ध भारततिरै बढी हुन्छ । तर आफ्ना बालबालिकालाई नेपालीमै औपचारिक शिक्षा दिन कष्ट सहेरै पनि विद्यालय पठाउने गरेका छन् ।


‘यो गाउँबाट ६० भन्दा बढी विद्यार्थी माध्यमिक र उच्च शिक्षाका लागि दैनिक घरबाटै आउजाउ गर्छन्,’ शिक्षक राजेश चौधरीले भने । भित्रिया गाउँका राजेश मोहनपुर टापुको प्राथमिक विद्यालयका शिक्षक हुन् ।


‘दिनहुँ डुंगामा नदी वारपार गर्दा जोखिम मोलिराखेका छौं,’ उनले भने, ‘यो विद्यार्थी र शिक्षकको मात्रै होइन, वारिपारिका गाउँसँग सम्बन्ध राख्ने सर्वसाधारणले समेत बर्खाभर व्यहोर्ने समस्या हो ।’ दैनिक दसौंपटक डुंगामा वारपार गर्नुपर्ने स्थानीयको बाध्यता छ । ‘नाउ (डुंगा) नपल्टिएका पनि होइनन्,’ चौधरीले भने, ‘दुर्घटना भइराख्छ । तर ठूलो दुर्घटना अहिलेसम्म भएको छैन ।’


भित्रियाको माध्यमिक स्कुलमा कक्षा १० मा पढ्ने रामअवतार चौधरी डुंगाबाट नदी पार गर्दा डर लाग्न छाडेको बताउँछन् । ‘बर्खामा कहिले घर फर्कने बेला बाढी आएर यतै थुनिनुपरेको छ,’ उनले भने, ‘स्कुलमै भोकै रात बिताएका छौं, कहिले रेडक्रसलगायत संस्थाले ड्राई फुड दिन्छ ।’ मोहनपुर प्राविका शिक्षक पनि बाढीका बेला घर जान पाउँदैनन् । एक स्थानीयबाहेक ४ शिक्षक हसुलिया र भित्रिया गाउँका छन् ।


यहाँको मुख्य समस्या नै नदी रहेको शिक्षिका विनीता चौधरी बताउँछिन् । नदीले गाउँको जमिन पनि कटान गरिरहेको उनले सुनाइन् । ‘गाउँको प्रमुख माग तटबन्ध र पुल हो,’ उनले भनिन् । मोहनपुर बस्तीमा थारू समुदायका ८४ परिवार बस्छन् ।


कैलालीकै बाढीग्रस्त क्षेत्र लालबोझी र भजनीको कुटी, कौवाखेडा, सुनाफाँटा, ढुंगाना बस्ती, दैलेखी टोललगायतका विद्यार्थीले पनि डुंगामा जोखिम मोल्नुपर्छ । लालबोझी कोटीका विद्यार्थी मोहन्याल उच्च मावि भजनी र कौवाखेडा, सुनाफाँटा ढुंगाना बस्ती, दैलेखी टोलबाट दुर्गा मावि कुसमघाट पढ्न पुग्छन् । उनीहरूले काँडा र कान्द्रा नदी पार गर्नुपर्छ । केहीको निजी डुंगा छ भने कतिपय समुदायबाट सञ्चालित घाटबाट आउजाउ गर्छन् ।

‘बर्खाभरि डुंगाकै भरोसामा दैनिकी चल्छ,’ भानबहादुर साउदले भने, ‘भजनी पढ्न आउनेले मात्रै होइन, स्थानीय वा पारिका बजार जाँदा पनि डुंगाकै प्रयोग गर्नुपर्छ ।’ बर्सेनि २/४ जनाले डुंगा दुर्घटनामा ज्यान गुमाउने गरेको उनले जनाए । साउदका अनुसार २०७१ मा लालबोझीको कुटीमा डुंगा डुबेर १२ जनाको मृत्यु भएको थियो । हुलाकी सडकअन्तर्गत कान्द्रा नदीमा निर्माणधीन पुल चाँडो बनाउन स्थानीयले दबाब दिँदै आएका छन् । सम्झौता अवधि सकिँदा ठेकेदारले काम सकेको छैन । हालसम्म ३० प्रतिशत मात्रै काम भएको छ ।

प्रकाशित : श्रावण १६, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?