कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आमासँगै कारागार

विप्लव महर्जन

सल्यान — यहाँका चार बालबालिका चार महिनादेखि कारागार बस्न बाध्य छन् । हेरचाह गर्ने कोही नभएपछि उनीहरू सजाय भुक्तान गरिरहेका अभिभावकसँगै बसिरहेका छन् ।

आमासँगै कारागार

सिद्धकुमाख गाउँपालिका–३, बडागाउँकी दुई वर्षीया सोलिका विश्वकर्मा, दार्मा गाउँपालिका–४ का चार वर्षीया काजल बुढाथोकी, घोराही उपमहानगरपालिका दाङका दुई वर्षीय युरोप खनाल र कालिमाटी गाउँपालिका–७ का १० महिने नीराजन विक जिल्लाका कारागारमा छन् ।

दुई वर्षभन्दा माथिकालाई आमासँगै भए पनि जेलभित्र राख्न नपाइने कानुनी व्यवस्था छ । उनीहरू पढाइ, मनोरञ्जन, खेलकुदलगायत सुविधाबाट पनि वञ्चित छन् ।

सिद्धकुमाख गाउँपालिकाकी सोलिकाकी आमा कमला खत्री (विश्वकर्मा) बहुविवाह मुद्दामा सजाय भोग्दै छिन् । उनीहरू जेठ २ देखि कारागारमा छन् । कमला जेलमुक्त हुन अझै ९ महिना बाँकी छ । युरोपकी आमा पुष्पा २०७४ फागुन १० देखि सजाय भुक्तान गरिरहेकी छन् । उनी मुक्त हुन ६ महिना बाँकी रहेको कारागार प्रशासनले जनाएको छ । काजलकी आमा कल्पनाले पनि १० महिना कैद भुक्तान गर्न बाँकी छ ।

बालबालिकालाई घर लैजान पटक–पटक सूचना गरे पनि कोही नआएकाले समस्या भएको जेलर विक्रम केसीले बताए । ‘कारागारमा राखिएका दुई कैदीले कसैलाई पनि बालबालिका लैजान दिन मानेका छैनन्,’ उनले भने, ‘अरू दुई बालबालिकाको पालनपोषण गर्ने कोही नहुँदा समस्या छ ।’

मानव बेचबिखनमा परेकी कालिमाटी गाउँपालिका–७ की विकले १० महिने बालकलाई कुनै निकायले पालनपोषण गरे पठाउन सकिने बताएकी छन् । चार वर्षीया काजललाई कुनै बालगृहमा पठाउनेबारे सल्लाह भइरहेको जेलर केसीले बताए । बुढाथोकीले घरमा कोही नभउकाले चार वर्षकी छोरीलाई बाल केन्द्रमा पठाउन सकिने बताएकी छन् । जेलर केसीका अनुसार बालबालिका कारागारमा बस्दा विभिन्न आधारभूत आवश्यकताबाट वञ्चित हुँदै आइरहेका छन् । उनीहरूको पालनपोषणका लागि कसैले सहयोग गरे बालबालिकाले समयमै शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायतका सुविधा पाउने उनको भनाइ छ ।

प्रकाशित : श्रावण १७, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?