बजेट बढ्यो, सडक बनेन

विप्लव भट्टराई

इलाम — सन्दकपुर ५, जमुनाबाट सोमबार बिहान सदरमुकाम हिँडेको गाडी इलाम नगरपालिका ३, सुम्बेकमा बिग्रियो । झरीमाझ हिलोमा गाडी फसेपछि भएको सडक जामले आउजाउ गर्ने दर्जन गाडी दुवैतर्फ रोकिए ।

बजेट बढ्यो, सडक बनेन

बिग्रिएको गाडी बनाउन हिलोमा सुतेर काम गर्न चालक बाध्य बने । सदरमुकाम नजिकको मेची राजमार्गमा पर्ने बिब्ल्याँटेबाट उत्तरी गाउँ जाने अधिकांश सडकको अवस्था उस्तै भएकाले चालक र यात्रुले नियमितझैं सास्ती भोग्नुपर्छ । जिल्लाका ४ नगरपालिकासहित ६ गाउँपालिकाले सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि अधिकांश ग्रामीण सडक हिलाम्मे भएर रोपाइँ गर्न लायक बनेका छन् । जथाभावी ट्रयाक खोलेर स्तरोन्नतिमा चासो नदिने पुरानै प्रवृत्ति दोहोरिएकाले यस्तो समस्या बढेको स्थानीयको भनाइ छ ।


जिल्लाको पश्चिमी माङसेबुङ गाउँपालिका क्षेत्रका धेरै भू–भागमा यसअघि नै सडक अवरुद्ध भइसकेका छन् । माइजोगमाई गाउँपालिकाको अवस्था पनि उस्तै छ । उपभोक्ता समितिमार्फत सञ्चालन हुने यस्ता योजनामा समिति गठन गर्दा ध्यान पुर्‍याउँदै अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउन सरोकारवालाको माग छ । देउमाई नगरपालिकाले १० मिटर ट्रयाक खोले पनि तत्काल स्तरोन्नति गर्ने सम्भावना नहुँदा सडकको अवस्था दयनीय बनेको छ । बिब्ल्याँटेबाट उत्तरी गाउँ जाने सडकमा नगरपालिकाका केही वडा, सन्दकपुर गाउँपालिका र माइजोगमाई गाउँपालिकाका केही वडामा समेत सवारीसाधन चल्छन् । तर सडकको अवस्था अपेक्षित सुधार नहुँदा समस्या थपिएको हो ।


‘हिउँदमा डेढ घण्टामा २२ किमि उत्तरको जमुना सजिलै पुग्न सकिन्छ,’ चालक अर्पण गुरुङले भने, ‘अहिले ४ घण्टा घोटिँदा मात्र मुस्किलले यो दूरी पूरा हुन्छ ।’ स्थानीय तह गठनपछि गाउँ र वडालाई विगतको तुलनामा पर्याप्त बजेट विनियोजन गरिएको छ । अधिकांश स्थानीय तहले मुख्य प्राथमिकतामा सडकलाई राखेर काम गरे पनि बर्खामा वर्षौंदेखि खेप्नुपर्ने सास्ती घटेको छैन । स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पर्याप्त काम गरेको दाबी गरे पनि सडकको अवस्थाले त्यो दर्शाउँदैन ।


बिब्ल्याँटेदेखि बरबोटे हुँदै सुम्बेकको तालगाउँसम्मको इलाम नगरपालिका क्षेत्रको सडकमा मोटर गुडाउन मुस्किल भएको छ । यो खण्डमा नगरपालिकाले अघिल्लो आवमा ५० लाख रुपैयाँ खर्च गर्‍यो । तर बर्खा लाग्नासाथ सडकको अवस्था झन् बिग्रियो । कमसल ग्राभेल हालेकाले सडकमा हिलो भएको स्थानीयको भनाइ छ । ‘काम नराम्रो भएको भन्दा पनि यो पटक छिटो वर्षा भएको र सडकको क्षमताभन्दा ठूला सवारीसाधन कुदेकाले यस्तो अवस्था आएको हो,’ नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष ठाकुर श्रेष्ठले भने, ‘सडकको अवस्था निकै बिग्रिएकाले अबको बजेटमा हिउँद–बर्खै यातायात साधन सञ्चालन गर्ने गरी सोलिङ निर्माण गरिनेछ ।’ यस क्षेत्रमा राम्रो रोडा पाउन मुस्किल भएकाले कमसल रोडाले सडकमा बढी क्षति हुने प्राविधिकहरू बताउँछन् ।


सोलिङलाई प्राथमिकता दिइएका स्थानमा सडकमा कम क्षति पुगेको छ । सन्दकपुर गाउँपालिकाका धेरै सडकमा सोलिङ गरिएकाले ती क्षेत्रमा समस्या नभएको सन्दकपुर गाउँपालिकाका वडाध्यक्ष जितबहादुर साँवाको भनाइ छ । मेची राजमार्गबाहेक फिक्कलबाट पशुपतिनगर, अन्तु, नेपालटारबाट मंगलबारे जोड्ने सडक र विब्ल्याँटेबाट माईपोखरी जोड्ने ३ किमि सडकबाहेक कालोपत्रे भएको छैन ।


ग्रामीण पुनर्निर्माण तथा पुन:स्थापना आयोजनामार्फत निर्मित मंगलबारे–इभाङ सडक, राजदुवाली दानावारी र सिङफ्रिङ माईखोला सडक पनि नियमित मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएका छन् । पछिल्लो समय उन्नति समावेशी वृद्धि कार्यक्रममार्फत निर्माणाधीन कतिपय सडक पनि हिलाम्मे भएका छन् ।


माईपोखरी सडक सधैं उस्तै
रामसार क्षेत्रमा सूचीकृत माईपोखरी पुग्ने सडकको अवस्था अझै सुध्रन सकेको छैन । धार्मिक, जैविक र पर्यटकीय महत्त्वको यो सडकमा स्तरोन्नतिमा स्थानीय तहले पहल नगर्दा बर्खामा यात्रा गर्न कठिन भएको हो । यो सडकमार्फत उत्तरी क्षेत्रमा सवारीसाधन चल्ने भएकाले ती क्षेत्रका बासिन्दा समस्यामा छन् ।


सन्दकपुर गाउँपालिकामा पर्ने माईपोखरीमा सडकको अवस्थाकै कारण चाहना भएकाहरू पनि पुग्न सकेका छैनन् । बिब्ल्याँटेबाट ३ किमि सडक कालोपत्रे भए पनि बाँकी ९ किमिको अवस्था उस्तै छ । सन्दकपुर गाउँपालिकाको कार्यालय देउरालीलाई र सन्दकपुर, छिन्टापु, टोडकेझरनालगायत पर्यटकीय स्थललाई सदरमुकामसँग जोड्ने एकमात्र सडकको अवस्था सुधार्न स्थानीयको माग छ । गत आवमा नगरपालिकाले सडक स्तरोन्नतिका लागि कुनै पनि खर्च गरेन ।


सन्दकपुर गाउँपालिकाले पछिल्लो समय आफ्नो क्षेत्रका केही स्थानमा सोलिङ गरी सहज बनाउने प्रयास गरेको छ । ‘यो सडक केन्द्रीय बजेटमार्फत कालोपत्रे हुनेछ,’ सन्दकपुर गाउँपालिका प्रमुख उदय राईले भने । तर कालोपत्रे कहिले हुने भन्ने अन्योलमा रहेका स्थानीय तत्कालका लागि भए पनि सम्बन्धित स्थानीय तहले सडकको अवस्था सुधार गर्नुपर्ने बताउँछन् ।

प्रकाशित : श्रावण १७, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?