कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बजेट अभावमा काम ठप्प

राजबहादुर शाही

मुगु — बजेट अभावमा तिब्बत जोड्ने गमगढी–नाक्चेनाग्ला सडक निर्माण कार्य प्रभावित भएको छ । सरकारले गत वर्ष चार करोड रुपैयाँ विनियोजन गरेकोमा यसपालि बजेटै उपलब्ध गराएन ।सडक डिभिजन कार्यालयका अनुसार यस वर्ष सडकको काम रोकिने भएको छ ।

बजेट अभावमा काम ठप्प

डिभिजन प्रमुख माधव अधिकारीले संघीय र प्रदेश सरकार दुवैले रकम विनियोजन नगरेको बताए । ‘सरकारले बेवास्ता गरेपछि सडक निर्माणको काम ओझेलमा परेको छ,’ उनले भने, ‘यसअघि पनि सरकारले बर्सेनि न्यून बजेट छुट्टयाउँदै आएको थियो ।’

सरकारले हुम्ला–हिल्सा सडकलाई मात्र प्राथमिकता दिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । १२ वर्ष बित्दा गमगढी–नाक्चेनाग्ला सडकको १६ किलोमिटर मात्र ट्रयाक खोलिएको छ । सदरमुकाम गमगढीदेखि तिब्बत सीमा नाक्चेनाग्लासम्म ८५ किमि छ । २०६३ सालमा दुर्गम क्षेत्र विकास समितिमार्फत सडक निर्माण सुरु गरिएको थियो । सरकारले मुगुसँग तिब्बतको व्यापार सहज बनाउन भन्दै सडक निर्माण थालेको थियो ।

सडक निर्माण नेपाली सेनाले तीन वर्षभित्र पूरा गर्ने जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर रोकायाले बताए । उनले सरकारले तिब्बत जोड्ने सडकलाई ओझेलमा पारेको जनाए । समुद्र सतहदेखि करिब चार हजार ९ सय ८६ मिटर उचाइमा रहेको तिब्बतको व्यापारिक नाका नाक्चेनाग्लाको हयाजिमारमा हरेक वर्ष अस्थायी हाटबजार लाग्छ । सरकारले बजेट विनियोजन नगर्दा अन्योल बढेको सांसद गोपालबहादुर बमले बताए । नेपाली सेनालाई जिम्मा दिन माग गरिरहेकै बेला सरकारले रकम विनियोजन नगर्नु दु:खद् भएको उनको भनाइ छ ।

तिब्बती सीमा हयाजिमारबाट तीन घण्टामा गाडीमा कैलाश मानसरोवर पुग्न सकिन्छ । हुम्लाको तिब्बती नाका हिल्साभन्दा मुगु–तिब्बत सडक छोटो मानिन्छ । मुगु र तिब्बत सीमासम्म सडक सञ्जालले जोडिए समान आयातसँगै रारा हेर्न चिनियाँ पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।

हाटबजार व्यवस्थित गर्ने सहमति
मुगमकार्मारोङ गाउँपालिकाका जनप्रतिनिधि र तिब्बत जनसरकारका प्रतिनिधिबीच हाटबजार थप व्यवस्थित बनाउने सहमति भएको छ ।

असार २६ गते तिब्बत जनसरकारको तीन सदस्यीय टोलीले जनप्रतिनिधिलाई वार्ताका लागि औपचारिक पत्र दिएको थियो । त्यसपछि तिब्बत पुगेका गाउँपालिकाका वडाध्यक्षहरूले साउन २५ देखि भदौ १० सम्म हयाजिमारमा अस्थायी हाटबजार खोल्ने सहमति गरेको मुगमकार्मारोङ–२ का वडाध्यक्ष कार्मा तामाङले जानकारी दिए ।

विगतमा साउन १५ देखि ३० सम्म अस्थायी हाटबजार लाग्ने गरेको थियो । वर्षको एकपटक सीमा क्षेत्रमा १५ दिने हाटबजार सञ्चालन हुँदै आइरहेको छ । चीनसँग बाह्रै महिना व्यापारिक सम्बन्ध नहुँदा स्थानीयलाई समस्या भएको गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए । मुगमकार्मारोङ गाउँपालिकाको माग्री, पुलु, कार्ती, ताखा, खारी, रिउस, पुवा, दाउरा, मुगु र डोल्फुलगायत गाउँका स्थानीयले हाटबजारमा दैनिक उपभोग्य सामग्री खरिद गर्छन् । जेठ पहिलो साता पाटनमा गएर यार्चा संकलन गरेका स्थानीयले हाटबजारमै यार्चा बिक्री गर्ने गरेका छन् ।

पाटनको यार्चा र तिब्बतको खाद्यवस्तुले जीवन निर्वाह गर्दै आएको पुलु गाउँका सोनामछिरिङ तामाङले बताए । ‘भौगोलिक विकटता र अन्न उत्पादन न्यून हुने भएकाले तिब्बती बजारको भर पर्नुपरेको छ,’ उनले भने, ‘तिब्बतमै गएर यार्चालगायत जडीबुटी बिक्री गर्दै आइरहेका छौं ।’

प्रकाशित : श्रावण १७, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?