२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सांसदमाथि आक्रमण घटनाको छानबिन सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सांसद निरुदेवी पाललाई हतियार देखाएर धम्क्याएको घटनामाथि प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको छ ।

सांसदमाथि आक्रमण घटनाको छानबिन सुरु

उक्त घटनाको अनुसन्धान क्रममा बिहीबार साँझसम्म ६५ जनालाई नियन्त्रणमा लिइएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तसमेत छन् ।


परिसरले अति कडा सुरक्षा रहेको बानेश्वर क्षेत्रमा भएको घटनाबारे गम्भीर अनुसन्धान गर्न काठमाडौंका सबै वृत्तबाट सादा पोसाकका प्रहरी परिचालन गरेको छ । बुधबार राति मात्रै एसएसपी पोखरेलले सांसद पाललाई भेटी घटनाको विवरण लिएका थिए ।


पालले बिहीबार संसद् बैठकमा विशेष समय लिँदै घटनाबारे बताएकी थिइन् । उनले मंगलबार आफूमाथि अज्ञात व्यक्तिले साँझ ८ बजेर १५ मिनेटमा दूध किन्न जाँदा बन्दुक तेस्र्याएर धम्की दिएको र मोबाइल लुटेको बताएकी थिइन् ।


संसद्मा बोल्दै गृहमन्त्री रामबहादुर थापाले सांसदमाथि आक्रमणको घटना राजनीतिक अस्थिरता पैदा गराउने उद्देश्यले भएको बताए ।


प्रहरीका अनुसार घटना भएको क्षेत्रमा सीसीटीभी कभरेज नभएकाले अनुसन्धान जटिल बनेको छ । प्रहरीले सांसद पालले दिएको हुलियाका आधारमा शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर बयान लिन थालेको छ ।


अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले मोबाइल मात्रै लुट्नका लागि बन्दुक देखाउने घटना काठमाडौंका निम्ति अनौठो रहेको बताए ।


उनका अनुसार घटनाको प्रकृति शंकास्पद छ । ‘प्रधानमन्त्रीको नाम नै लिएर गाली गर्नाले पनि घटना लुटपाटको उद्देश्यले नभएकोतिर संकेत गर्छ,’ ती अधिकारीले भने ।

प्रकाशित : श्रावण १७, २०७५ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?