२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

किशोरी हत्या प्रकरण: प्रहरी दबाबमा दाहसंस्कार

कञ्चनपुर — महेन्द्रनगर बजारको व्यस्त चोकमा एक किशोरीको तस्बिर टाँगिएको छ, ‘हार्दिक श्रद्धाञ्जली’ लेखेर । हत्यारालाई कारबाही माग गर्दै श्रद्धाञ्जली प्रकट गर्नेको घुइँचो लागिरहेको छ ।

किशोरी हत्या प्रकरण: प्रहरी दबाबमा दाहसंस्कार

गत बिहीबार साथीको घरमा पढ्न गएकी किशोरी एकाएक बेपत्ता भइन् । अर्को दिन एक किलोमिटर टाढाको उखुबारीमा मृत भेटिइन् ।


बलात्कारपछि हत्या भएको भन्दै महेन्द्रनगरका स्थानीय आन्दोलित छन् । तनाव साम्य हुन सकेको छैन । ‘हाम्रो केही ठूलो र पूरा गर्नै नसकिने माग छैन,’ किशोरीका बुबाले भने, ‘छोरीको हत्यारा को हो, पहिचान गरी कडा कारबाही गरियोस् ।’ शव भेटिएपछि स्थानीयले हत्यारा पत्ता लगाउनुपर्ने भन्दै आन्दोलन थाले । तीन दिनसम्म शव अस्पतालमै रह्यो ।


पीडित परिवार र स्थानीयले अपराधी पत्ता नलागेसम्म दाहसंस्कार नगर्ने अडान लिएका थिए तर प्रहरीको दबाबमा परिवारले सोमबार दाहसंस्कार गरेका छन् ।


उनको हत्या अघिल्लो बिहीबार राति भएको प्रहरी अनुमान छ । शव शुक्रबार फेला परेको थियो । दोषीलाई कारबाही माग गर्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीसँगको झडपमा केही घाइते भएका छन् ।

‘प्रहरीले आन्दोलनका कारण अनुसन्धानमा कठिनाइ आएको भन्दै शव उठाउन दबाब दिन थाल्यो,’ किशोरीका बुबाले भने, ‘कफ्र्यु लाग्न सक्ने चेतावनी दिएपछि शव बुझ्न सहमत भएँ ।’ एक्लै सहमति गरेको भन्दै स्थानीय रिसाएर मलामीसम्म नगएको उनको गुनासो छ ।


छोरी हराएको खबर गर्दा प्रहरीले ‘भोलि खोजौंला’ भनेर आलटाल गरेकाले परिवार थप पीडामा छ । ‘मैले छोरीको साथीको घरमा सोध्दा उल्टै मलाई घरबेटीले धम्क्याइन्, एक्लै घरभित्र जान सकिनँ,’ मृतक किशोरीकी आमाले भनिन्, ‘प्रहरीलाई सँगै गइदिन भनेको थिएँ । भोलि हेरौंला भन्दै टारे ।’


किशोरीकी आमाको घरमै चटपटे पसल छ । उनले त्यसैको कमाइले परिवारको गुजारा चलाउँदै आएकी थिइन् । घटनाको दिन उनी पसलको सामान ल्याउन सीमावर्ती वनबसा बजार गएकी थिइन् । किशोरीका बुबा पनि महेन्द्रनगर बजारमा पानीपुरी बेच्छन् । घटनाको दिन उनी उपचारका लागि भारतको इलाहाबाद गएका थिए ।


खबर सुनेकै दिन घर फर्किए । भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीले किशोरीको स्मृतिमा चिल्ड्रेन पार्क बनाउने प्रतिबद्धता जनाएका छन् । पीडित परिवारलाई भने पहिला न्याय चाहिएको छ । छोरीको हत्यारा पत्ता लागे मात्र उनीप्रतिको सच्चा श्रद्धाञ्जली ठहरिने उनीहरू बताउँछन् ।


कहाँ पुग्यो अनुसन्धान ?
किशोरी हत्याको ८ दिन बितिसकेको छ । प्रहरीले घटना अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले अनुसन्धान अपराधी नजिक–नजिक पुगिसकेको बताए । ‘सीआईबीको टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ । हामी अपराधीनजिक पुगिसकेका छौं,’ उनले भने ।


अनुसन्धान क्रममा ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।


गत आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी अंगुर जीसीको नेतृत्वमा आएको टोलीले अनुसन्धान गरिरहेको छ । उक्त टोली अझै केही दिन यहीं रहने एसपी विष्टले बताए ।


अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार हालसम्म शंकास्पद व्यक्तिलाई झिकाएर केरकार गर्ने काम मात्र भएको छ, वास्तविक अपराधीनजिक प्रहरी अनुसन्धान पुग्नै सकेको छैन । ‘जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोका ३ जनासमेत १० जनाको टोली अनुसन्धानमा खटिएको छ,’ उनले भने, ‘बिहीबार बिहानसम्म पनि अपराधी पत्ता लाग्न
सकेको छैन ।’


किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको दाबी प्रहरीको छ । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । ‘घटना कुनै एक व्यक्ति वा समूहले गरेको हो भन्ने निक्र्योल गर्न मृतकको भिसेरालगायत परीक्षणका लागि काठमाडांै पठाइएको छ । रिपोर्ट प्राप्त भएपछि धेरै कुरा खुल्नेछ,’ उनले भने । प्रदेशसभा र संघीय संसद्मा समेत अपराधीलाई तत्काल कानुनी कठघरामा ल्याई हदैसम्म सजाय गरिनुपर्ने माग उठेको थियो ।

प्रकाशित : श्रावण १८, २०७५ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?