१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एक विद्यार्थी एक तरकारी

प्रतीक्षा काफ्ले

स्याङ्जा — कालीगण्डकी गाउँपालिका ६, दब्छेस्थित धु्रवज्योति माविको कक्षा ८ मा अध्ययनरत प्रकृति भट्टराई स्कुलमा तरकारी खेती गर्छिन् । उनी मात्रै होइन, कक्षाका सबैजना पालैपालो तरकारी बारीमा खटिन्छन् । उनीहरूले स्कुलको बारीमा थरीथरी तरकारी फलाएका छन् ।

एक विद्यार्थी एक तरकारी

विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन विद्यालयले आफ्नै परिसरमा तरकारी बारी बनाएको छ । त्यहाँ विद्यार्थीले थरीथरी तरकारी फलाएका छन् । ‘कक्षामा पढेका विषय व्यवहारमा उतार्न स्कुलकै बारीमा जान्छौं, कक्षाको बीचमा तरकारी बारीमा काम गर्दा रमाइलो लाग्छ, सिकिन्छ पनि’ प्रकृति भन्छिन् ।


उनीसँगै पढ्ने अस्मिता राना पनि कक्षा खाली भएका बेला बारीमै बिताउँछिन् । पाँच वर्षदेखि विद्यार्थीलाई बारीमै लगेर प्रयोगात्मक शिक्षा दिएको प्रध्यानाध्यापक हीराबहादुर गाहाले बताए । विद्यालयले ‘एक विद्यार्थी एक तरकारी’ उत्पादनको नारा बनाएर प्रयोगात्मक कक्षा सुरु गरेको हो । मावि तहसम्मका कुल ३ सय ११ विद्यार्थीले बारीमा कम्तीमा एकवटा तरकारीको बिरुवा रोपेर स्याहार गर्नुपर्छ । कहिलकाहीँ उनीहरू तरकारी स्याहार्न विद्यालय समयभन्दा छिटो स्कुल आउँछन् । ‘सामूहिक रूपमा लगाएको तरकारी खेतीले उनीहरूलाई हौसला मिलेको छ,’ प्रधानाध्यापक गाहाले भने, ‘पढेकाले कलम मात्र होइन, कुटो, कोदालो पनि चलाउन जरुरी छ । सबैले कृषि पेसालाई सम्मान गर्नुपर्छ ।’


अभिभावक पूर्णबहादुर विकले स्कुलले तरकारी खेती गर्न सिकाएकामा खुसी व्यक्त गरे । ‘स्कुलमा सिकेर छोरीले घरमा तरकारी लगाएकी छन्,’ उनले भने । ०३४ सालमा स्थापना भएको यो विद्यालयमा जनजाति र दलित समुदायका विद्यार्थी धेरै छन् । कक्षा नर्सरीदेखि कक्षा ११ सम्म कुल विद्यार्थीमध्ये ब्राह्मण ९ जना मात्र रहेको विद्यालयले जनाएको छ ।


विद्यालयमा ८६ जना दलित र बाँकी सबै जनजाति रहेको प्रध्यानाध्यापक गाहाले जानकारी दिए । शिक्षा मन्त्रालयले क्षेत्रीयस्तरमा उत्कृष्ट छानिएको यस विद्यालयमा व्यावहारिक र सैद्धान्तिकसंँगै गुणस्तरीय शिक्षा दिएको प्रधानाध्यापक गाहाले दाबी गरे । यो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले विद्यार्थीको संख्या बढदै गएको उनी बताउँछन् ।
जिल्ला शिक्षा विकास तथा इकाई कार्यालयले विद्यालयमा सूचना र सञ्चार प्रविधि (आईसीटी) माध्यमबाट पढाइ हुने भएकाले गुणस्तर राम्रो भएको बताएको छ । ‘एक विद्यार्थी एक फूल’ यो विद्यालयको अर्को विशेषता हो । त्यसैले यो विद्यालयमा फूलबारी पनि चिटिक्क छ । यो विद्यालयको भूतपूर्व विद्यार्थी मञ्चले सामाजिक सञ्जालको माध्यमबाट रकम संकलन गरी एम्बुलेन्स खरिद गरेको छ । त्यो एम्बुलेन्सको आम्दानीबाट अंग्रेजी शिक्षकको व्यवस्था गरेको छ ।

प्रकाशित : श्रावण १८, २०७५ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?