सुन अभावमा मनकामना पुनर्निर्माण रोकियो

कान्तिपुर संवाददाता

गोरखा — छनामा जलप लगाउन तीन किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ । गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्घार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।

सुन अभावमा मनकामना पुनर्निर्माण रोकियो

‘छानामा मात्र साढे १६ किलो सुन लाग्ने अनुमान थियो,’ उनले भने, ‘१५ किलो खरिद गरेका थियौँ । त्यो पनि सकियो ।’ उनका अनुसार पुरातत्त्व विभागबाट निकासा भएको चार करोड रुपैयाँले सात किलो र काठ तथा मन्दिरको आन्तरिक स्रोतबाट आठ किलो सुन खरिद गरिएको थियो । सुन नपुगेपछि डेढ सातादेखि काम रोकिएको श्रेष्ठले बताए । ‘काम गर्ने मान्छेले पनि रेस्ट भने । सुन पनि पुगेन,’ उनले भने, ‘अब सुन ल्याएर एक साताभित्रै काम सुरु गरिहाल्छौं । मन्दिरको मात्र काम गर्न अब १५/२० दिन लाग्ला ।’ सबै संरचना तयार भइसकेकाले अब १० जनामात्रै कामदार खटिएका छन् ।


मन्दिर पहिल्यै ६ इञ्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि जगैदेखि पुनर्निर्माण थालिएको हो । मूलढोका, कंकालको मूर्ति, तोरण, भित्रपट्टिको सिलिङ र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने तयारी छ । ‘अपुग भएको सुन इस्टिमेटभन्दा बाहिरको हो,’ श्रेष्ठले भने । तल्लो छानामा जलप लगाउने काम लगभग सकिएको उनले बताए । प्रक्रियाअनुसार पुरातत्त्व विभागसँग स्वीकृति लिएर राष्ट्र बैंकबाट सुन खरिद गर्नुपर्छ । ‘असार मसान्तको क्लोजिङले गर्दा पनि सुन ल्याउन सकेनौं,’ श्रेष्ठले भने, ‘अब आइतबार–सोमबारतिर काठमाडौं गएर सुन ल्याउँछौं ।’ बाँकी सुन किन्न डेढ करोड रुपैयाँ लाग्ने अनुमान छ । आन्तरिक स्रोतबाटै लगानी गर्ने समितिले जनाएको छ । छानामा तामाको पाता बिछ्याएर सुनको जलप लगाइएको हो ।


‘गजुर मर्मतमा पाँच लाखको अनुमान गरिएकोमा २३ लाख लाग्यो,’ श्रेष्ठले भने, ‘गजुरमा प्वाल परेको रहेछ, त्यसैले सोचेभन्दा बढी लाग्यो ।’ सबै खर्च विवरण सबै पुरातत्त्व विभागलाई बुझाइने उनको भनाइ छ । आँगनमा ढुंगा छाप्ने र पश्चिम पटि टेवा पर्खाल उठाउनेलगायतका काम पनि बाँकी छ ।


मन्दिर जीर्णोद्घारका लागि भक्तजनबाटै हालसम्म आठ करोड रुपैयाँ संकलन भएको छ भने काम सुरु भएयता करिब १० करोड खर्च भइसकेको छ । २०६८ सालमा पुनर्निर्माणका लागि लागत इस्टिमेट गर्दा करिब आठ करोड खर्च लाग्ने अनुमान गरिएको थियो । सामान र कामदारको ज्यालादर महँगिँदा लागत बढेको समितिले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?