१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पूर्वाञ्चल विश्वविद्यालय: निर्देशन मिचेर सम्बन्धन तयारी

कान्तिपुर संवाददाता

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयले सरकारी निर्देशनविपरीत सम्बन्धन खोल्ने तयारी गरेको छ । सरकारले कुनै पनि विश्वविद्याललाई आंगिक र निजी कलेजलाई सम्बन्धन दिन रोक लगाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय: निर्देशन मिचेर सम्बन्धन तयारी

यही विषयलाई लिएर उपकुलपति प्राडा घनश्यामलाल दाससँग विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक र चिकित्साशास्त्र संकायका डिन डा. सिद्धार्थ कोइरालाको मतभेद भएको विश्वविद्यालय स्रोतले जनाएको छ । दुवै डिनले लिँदै आएको प्रवेश परीक्षाको जिम्मेवारी खोसेर विश्वविद्यालयले परीक्षा नियन्त्रक सूर्यप्रसाद संग्रौलालाई दिएको छ ।


विश्वविद्यालयले ब्याचलर कार्यक्रम सञ्चालन गरिरहेका आंगिक र निजी कलेजलाई चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि, कानुन र कला संकायको स्नातकोत्तर कार्यक्रमको सम्बन्धन दिन गृहकार्य गरिरहेको स्रोतको दाबी छ । ‘कुनलाई दिने र कुनलाई नदिने भन्नेमा उपकुलपति र डिनबीच मतभेद भएको हो,’ स्रोतले भन्यो, ‘सम्बन्धन दिँदा आर्थिक चलखेल हुने भएकाले कुरा नमिलेको हो ।’


शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजलाई स्नातकोत्तर कार्यक्रमको अनुमति दिन विश्वविद्यालयले दुई वर्षदेखि गृहकार्य गरिरहेको स्वीकार्दै उपकुलपति दासले अहिले पनि प्रयासरत रहेको बताए । ‘यसका लागि प्रयास दुई खुड्किला अघि बढिसकेको छ,’ उनले भने ‘अन्तिम खुड्किलो पार गर्न बाँकी छ ।’ विज्ञान तथा प्रविधि संकाय र चिकित्साशास्त्र संकायको प्रवेश परीक्षाको जिम्मेवारी परीक्षा नियन्त्रकलाई दिइएको पनि उनले स्वीकारे । दुई संकायको प्रवेश परीक्षामा निकै खर्च हुने भएकाले कटौतीका लागि त्यसो गरिएको दासको दाबी छ ।


प्रवेश परीक्षाको जिम्मेवारी परीक्षा नियन्त्रकलाई सहमतिमै दिएको विज्ञान तथा प्रविधि संकायका डिन पाठकले बताए । ‘सम्बन्धन दिन सरकारले नै रोक लगाएको छ,’ उनले भने, ‘त्यसैले यसबारे उपकुलपतिसँग कुनै मतभेद छैन ।’


विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायअन्तर्गतको वन तथा विज्ञानमा विद्यार्थी नै नभए पनि एकै व्यक्तिलाई सहडिन र क्याम्पस प्रमुख नियुक्त गरेको छ । उक्त संकायमा अहिले एकजना पनि विद्यार्थी छैनन् ।


विश्वविद्यालय स्रोतका अनुसार अभयकुमार साहलाई सहडिन र क्याम्पस प्रमुख नियुक्त गरिएको छ । वातावरण व्यवस्थापन संकायमा स्नातकोत्तर र वन विज्ञान संकायमा ब्याचलर शैक्षक कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालयको तयारी छ । ‘दुवै संकायमा अहिले एकै जना विद्यार्थी भर्ना नभए पनि विश्वविद्यालयले क्याम्पस प्रमुख र सहडिन नियुक्त गरेको हो,’ स्रोतले भन्यो । उक्त शैक्षिक कार्यक्रम सञ्चालनका लागि सहडिन र क्याम्पस प्रमुख नियुक्त गरिएको डिन पाठकको भनाइ छ । ‘दुवै कार्यक्रममा चाँडै विद्यार्थी भर्ना गर्न क्याम्पसको पूर्वाधार र पुस्तकालय व्यवस्थापनका लागि नियुक्त गरिएको हो,’ उनले भने ।

प्रकाशित : श्रावण १८, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?