कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री–कर्मचारीका सन्तान सामुदायिकमा

अमृता अनमोल

बुटवल — प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले छोरी मुनालाई कक्षा ५ सम्म निजी विद्यालयमा पढाए । गुल्मीको अर्जुन बोर्डिङमा पढ्ने उनी बाबु मन्त्री भएलगत्तै बुटवल झरेर सामुदायिक विद्यालयमा भर्ना भइन् ।

मन्त्री–कर्मचारीका सन्तान सामुदायिकमा

पठनपाठन गुणस्तरीय र व्यवस्थापन अब्बल भएकाले छोरीलाई कालिका मानवज्ञान माविमा पढाएको मन्त्री बरालले बताए । ‘कुन विद्यालयभन्दा पनि गुणस्तर कस्तो छ भन्ने कुरा ठूलो हो,’ उनले भने, ‘सामुदायिकले गुणस्तरीय शिक्षा दिन्छन् भने तिनमै पढाउनुपर्छ भनेर त्यता पठाएँ ।’


प्रदेशको शैक्षिक अवस्था हेर्ने सामाजिक विकासमन्त्री हँुदा आफ्नै सन्तान निजीमा पढाउनु गलत हुने बरालले बताए । ‘नागरिकका छोराछोरीको शिक्षा सुधार्न नीति बनाउने ठाउँमा छु,’ उनले भने, ‘यस्तोमा आफ्ना छोराछोरी सामुदायिकमा पढाएर तिनै विद्यालय सुधार्नुपर्छ भन्ने ठानेँ ।’


बुटवल उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख दामोदर ज्ञवालीले पनि छोरी दिप्तीलाई सामुदायिकमा पढाइरहेका छन् । कक्षा ५ सम्म न्यु होराइजन स्कुलमा पढाएका उनले ६ मा कालिका मानवज्ञानमा भर्ना गरे । ‘सामुदायिक विद्यालय सुधार अभियान चलाएका बेला छोराछोरी निजीमा पढाउन उचित लागेन,’ उनले भने, ‘यस वर्षदेखि सामुदायिकमा पठाएँ ।’


अभिभावकले पढाइको गुणस्तरका आधारमा विद्यालय छनोट गर्छन् । शैक्षिक गुणस्तर सुधारेपछि सामुदायिक विद्यालय पनि रोजाइमा पर्न थालेका छन् । कालिका मानवज्ञानमा अहिले उच्च ओहोदाका व्यक्तिका सन्तान ओइरिएका छन् । विद्यार्थीकेन्द्रित गुणस्तरीय र व्यावहारिक शिक्षा, चुस्त व्यवस्थापन र मिहिनेती शिक्षकका कारण विद्यालय उत्कृष्ट बन्न सफल भएको छ । प्रोजेक्टर र स्मार्टकार्डबाट पढाइ हुन्छ । बालविकास केन्द्रदेखि ५ कक्षासम्म अंग्रेजी र त्यसमाथिका कक्षामा नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुन्छ । कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढाइन्छ ।


लुम्बिनी अञ्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट रेडियोलोजिस्ट राजेन्द्र खनालले पनि छोरा स्पन्दनलाई कालिकामै भर्ना गरेका छन् । खुला प्रतिस्पर्धा र बाहिरी ज्ञान हासिल हुने विश्वासमा त्यता पठाएको उनले बताए । ‘बुझेर पढ्ने र पढेर बुझ्ने ज्ञान बढेन,’ खनालले भने, ‘त्यसपछि सामुदायिकमा पठाएँ ।’ कालिकाका प्रधानाध्यापकको शैक्षिक सुधारको अठोट राम्रो लागेको उनी बताउँछन् । ‘भाषाभन्दा सीप ठूलो रहेछ । त्यो निजीमा भन्दा सामुदायिकमा छ,’ उनले भने, ‘छोरामा पनि परिवर्तन देखिएको छ ।’


वि.सं. ०१८ मा स्थापित कालिकाले ०६५ देखि विद्यालय सुधार अभियान थालेको थियो । अहिले यो मुलुककै उत्कृष्ट उदाहरण बनेको छ । अवलोकनका लागि आउने बढेका छन् । यसलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन भन्दै चालु शैक्षिक सत्रदेखि रामनगरमा रहेको मानवज्ञान माविसमेत समायोजन गरी कालिका मानवज्ञान बनाइएको छ । विद्यालयमा झन्डै ५ हजार विद्यार्थी छन् ।

समायोजनलगत्तै विद्यालयले ८० करोड रुपैयाँ लगानीमा सुधार योजना अगाडि बढाएको छ । आगामी पाँच वर्षमा आठ हजार विद्यार्थी पुर्‍याउने लक्ष्य छ । यसका लागि विद्यालयको भौतिक र शैक्षिक अवस्था परिवर्तन गर्ने योजना छ । ‘कम्प्युटर इन्जिनियरिङ पढाइ भएको विद्यालयमा अब इलेक्ट्रोनिक इन्जिनियरिङ पढाउन सुरु गरिनेछ,’ प्रधानाध्यापक घनश्याम पाठकले भने, ‘आधुनिक विज्ञान प्रयोगशाला, स्विमिङ पुल तथा छात्राबाससहितको विद्यालय बनाउने लक्ष्य छ ।’ विद्यार्थीको चाप थेगिनसक्नु भएपछि प्रवेश परीक्षा लिने गरिएको जनाउँदै उनले निजी छोडेर आउनेहरू धेरै रहेको बताए ।

प्रकाशित : श्रावण १८, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?