१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कमल तालमा नागमूर्ति

दीपक परियार

लेखनाथ — कमल ताल संरक्षणमा पोखरा १३ का दलित समुदाय जुटेका छन् । उनीहरूले कमलपोखरी ताल संरक्षण समिति नै बनाएर काम थालेका छन् ।

कमल तालमा नागमूर्ति

कमल पोखरीलाई धार्मिक तीर्थस्थल र पर्यटकीय क्षेत्र बनाउन लागिएको स्थानीय केशबहादुर विकले बताए । उनकै सक्रियतामा तालको बीचमा नागको मूर्ति राखिएको छ । तालछेउको ढिस्को ताछेर स्थानीयले रकम संकलन र श्रमदान गरी विश्वकर्मा बाबाको मन्दिर बनाएका छन् । दुर्गा, राधाकृष्ण र गणेशको मन्दिरसमेत बनाइएको छ ।


हरेक घरबाट ५/५ सय रुपैयाँ सहयोग संकलन गरिएको केशबहादुरले बताए । उनी एक्लैले विश्राम पाटी निर्माण गरिदिए । माछा मार्ने, कमल टिप्ने क्रम रोकिए पनि बाँसखोलाले माटो र गेग्रान तालमा ल्याउन छाडेन । पुरिँदै जान थालेपछि दलित समुदायकै अग्रसरतामा ०६४ मा संरक्षण समिति गठन भएको थियो । समितिले तालको सीमांकन गर्‍यो । कमलपोखरीसम्म पुग्ने पैदल बाटो बन्यो । बाटो बनाउन स्थानीय धनपति तिमिल्सिना, कृष्ण गौतम र शेरबहादुर कार्कीले जग्गादान गरे ।

समितिले ताल संरक्षणलाई रकम संकलन गर्न देउसीभैलो खेल्यो । चर्चित कलाकार ल्याएर सांगीतिक कार्यक्रम गर्‍यो । तत्कालीन पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, पोखरा उपत्यका ताल संरक्षण समिति, जिल्ला वन कार्यालयलगायतले सहयोग गरे ।ताल पुरिएर आधा भागमा करौंते झार पलाएको थियो । तालमा ढुंगा, गिट्टी पस्न नदिन समितिले तटबन्ध बनायो । उत्तरतर्फ मेसिनरी पर्खाल लगायो । वरिपरि तारजालीले घेर्‍यो । ताल पुरिने क्रम रोकियो ।


समितिले एक्साभेटरको माध्यमबाट पुरिएको भाग हटाउन थाल्यो । तालको पानी सुकाएरसमेत माटो निकाल्न सक्ने अवस्था नआएपछि समितिले कामदार खटाएको छ । समिति अध्यक्ष चित्रबहादुर विकले आन्तरिक कोषबाट कामदार खर्च व्यहोरेर माटोसहितको झार निकाल्ने काम भइरहेको बताए ।

‘अहिले पुरिएको आधाजति भाग मान्छे लगाएर सफा गर्दैछौं,’ उनले भने, ‘यति मात्रै माटो निकालियो भने पनि ताल फराकिलो देखिनेछ ।’ पुरिएको भाग हटाएपछि कमलको बोट झन् फैलिने उनले बताए । ताल वरिपरि फलामे फुट ट्रयाक र विश्राम स्थल बनाउने समितिको योजना छ । ‘पोखरामा अन्यत्र कमल विरलै देखिन्छ,’ अध्यक्ष विकले भने, ‘असारदेखि भदौसम्म फूल हेर्न मात्रै पनि पर्यटक आउने वातावरण बनाउन सकिन्छ ।’ पोखराका प्रत्येक निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई ताल र कमलको अवलोकन गराउन सके व्यवसाय पनि फस्टाउने पक्का छ ।


नागपञ्चमीका दिन बर्सेनि कमलपोखरीमा भक्तजनको भीड लाग्छ । कमलपोखरीको स्वरूप फेरिएपछि स्थानीयले संरक्षणमा चासो देखाउन थालेका हुन् ।

प्रकाशित : श्रावण १८, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?