कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दोस्रो जोडी गैँडा साउन ३१ गते पठाउने तयारी

रासस/याेन्हाप

चितवन — चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । 

दोस्रो जोडी गैँडा साउन ३१ गते पठाउने तयारी

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताए । चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको जानकारी आएको बताइएको छ ।


यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइएको थियो । दोस्रो जोडी गैँडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम 'सोल्टी' र डेढदेखि दुई वर्षको पोथीको नाम 'मितिनी' राखिएको छ । बाटोका कारण दुई दिनअघि नै साउन २९ गते गैँडा काठमाडौँ पठाइँदै छ । पहिलो जोडी गैँडा दुई दिनअघि नै काठमाडौँ लगेर राखिएको थियो ।


निकुञ्जबाट नियन्त्रणमा लिइएका गैँडा हाल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा खाल्टो खनेर (पिटबुमामा) राखिएको छ । निकुञ्जका अधिकारीले गैँडा मानिससँग घुलमिल भएकाले लैजान समस्या नहुने जनाएका छन् ।


यसअघि झैँ पछिल्लो जोडी गैँडा पठाउँदा निकुञ्जका चिकित्सक, प्राविधिक र सहयोगी पठाउने तयारी गरिएको छ । पहिलो जोडी गैँडा पठाउँदा सँगै गएका चिकित्सक र प्राविधिक फर्किसकेका छन् । सहयोगी अझै फर्किएका छैनन् ।


दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने बताएका थिए। सोहीअनुरुप अहिले गैँडा पठाउन लागिएको हो । चीनमा दुई जोडी गैँडा पठाएपछि यस निकुञ्जबाट हालसम्म उपहारस्वरुप विभिन्न देशमा पठाइएका गैँडाको संख्या ३० पुग्छ ।

प्रकाशित : श्रावण १८, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?